arrow

चीनको अद्‌भुत पुस्तकालय

logo
अजय अलौकिक,
प्रकाशित २०७४ माघ ११ बिहिबार
china-libary.JPG

चीन। पुस्तकालय विशेषत पठनीय सामग्री उपलब्ध गराउने एउटा शैक्षिक केन्द्र हो। तर आजको युगमा पुस्तकालयको परिभाषा यतिमै सिमित रहेन। ल्याटिन शब्द लाइवरबाट बनेको लाइवररी या पुस्तकमा आलय अर्थात् घर थपेर बनेको पुस्तकालय यानि कि पुस्तकको घरको रूपमा मात्र नरहेको पनि धेरै वर्ष भइसक्यो।

यहाँ पुस्तक, हस्तलिखित ग्रन्थ, पत्रपत्रिका, कमिक्स लगायतका पठनीय सामाग्री मात्रै होइन, सुन्ने म्यूजिकल रेकर्डस् या भन्दा साङ्गीतिक सङ्ग्रह र हेर्ने फिल्मसमेत पनि पाइन्छन्। समग्रमा भन्दा पुस्तकालय विविध प्रकारका ज्ञान तथा सूचनाको स्रोत भण्डार हो र साथै इतिहास र दस्तावेजलाई संरक्षण गरिराखेको एक सङ्ग्रहालय पनि हो। जहाँ गएर जो कोहीले आफुले चाहेको विषयवस्तु खोजिनीति गर्न सकिन्छ। र यो पुस्तकालय व्यावसायिक दृष्टिकोणबाट खोलिएको हुँदैन। साथै त्यहीँ बसेर या त्यस पुस्तकालयको सदस्य बनेर आफ्नो रूचिको तथा आवश्यक पुस्तक तथा सामाग्रीहरू निश्चित समयका लागि आफुसँगै ल्याउन पनि सकिन्छ।

अनि कुनै पनि पुस्तकालयमा बसेर किताब पढ्नु गज्जब रमाइलो तथा आनन्ददायी हुने गर्दछ। शान्त वातावरणमा पुस्तक पठन र त्यस माथि आफुद्वारा केही हल्ला या खस्र्याक्कखुस्रुक्क भइहाल्ला कि भनी सतर्कता अपनाइनु पुस्तकालय जाने पाठकले सदैव सोच्ने कुरा हुन्। तपाईँको पुस्तकालयको बसाइ सम्झनुस्। कस्तो लाग्छ ?  सबै पाठकको अनुभव यस्तै हुनेछ। शान्त वातावरणमा अध्ययन।

तर यस्तै पुस्तकालय पनि पाठकबाहेक पर्यटकको पनि आकर्षणको विषय बन्छ भन्दा अनौठो लाग्नसक्छ। हुन त पुस्तकालय पनि एक सङ्ग्रहालय नै हो त्यहाँ राखिएका कतिपय पुस्तक तथा कागजहरू प्राचीनकालका हुनसक्छन्, ऐतिहासिक दस्तावेज तथा प्रमाणहरू संरक्षित हुनसक्छन् या त्यस पुस्तक घर नै एक ऐतिहासिक भवन पनि हुनसक्छ र पर्यटकको ओइरो लाग्ने गन्तव्यस्थल बन्नसक्दैन भनेर नकार्न सकिँदैन।

हाल चीनको एउटा नयाँ पुस्तकालय पनि यस्तै भएको छ। तर यो ऐतिहासिक भवन भने होइन न त हाल कुनै ऐतिहासिक दस्तावेज नै संरक्षित छन्। यस पुस्तकालयको डिजाइनले यसलाई चर्चित बनाएको छ। आमपाठकदेखि सर्वसाधारण यतैतिर ओइरिरहेका छन्।

सन् २०१७ को अक्टुबर १ मा चीनको राजधानी पैचिङबाट पूर्वमा पर्ने समुद्री शहर थ्येनचीनको बिनहार्इ क्षेत्रमा खोलिएको यस पुस्तकालयले यस्तै पुस्तकप्रेमीको मात्रै नभइ आमनागरिकको पनि ध्यान खिच्न सफल भएको हो। पढ्न भन्दा पनि यस अद्भुत पुस्तकालयको अवलोकन गर्ने मानिसको भिड बाक्लिएको छ। चीनका नागरिकलाई मात्रै होइन विश्वका पर्यटकलाई पनि आकर्षित गरेको छ र अझै पुस्तकप्रेमीलाई त यो एउटा तीर्थस्थल जस्तै भएको छ।

पाँच तल्लाको यस पुस्तकालयमा विविध शैक्षिक सामाग्रीहरू तथा सुविधा प्रशस्तै छन्। बालबालिकाका लागि कक्ष, पत्र-पत्रिका कक्ष, कम्प्युटर कक्ष, अडियो कक्षका साथै अध्ययन कक्ष र मिटिङ्ग कक्ष पनि छन्। यी सबै एक पूर्ण पुस्तकालयको विशेषता नै हुन्। तर किन अहिले दर्शकको भिड बढेको छ त यहाँरु अनि धेरैले चासो राख्नुको कारण के होरु यो प्रश्न सबैको मनमा उब्जिन सक्छ। यसो हुनुको मुख्य कारण भनेको यस पुस्तकालयको डिजाइन नै हो। विशेषत यसको मुख्य हल हो, जुन निकै नै शानदार छ।

पुस्तकालयको मुख्य हलको बीच भागमा एक गोलाकार सभा कक्ष छ र यसको दुईतिर पुस्तक दराज छन्। यी दराजहरू नै खुड्किला पनि हुन् र पढ्नका लागि बस्ने ठाउँ पनि हुन्। जुन अत्यन्तै सुन्दर देखिन्छ। भूइँदेखि माथिल्लो दलिनसम्म नै तहगत पुस्तकदराजको आकार दिइएको छ। यो दृश्य नै यस पुस्तकालयको प्रमुख आकर्षण हो।

यसै गरी अर्को दुई तर्फ भने एकातिर भित्री भवन प्रवेशद्वार र अर्कोतिर बाहिर पार्कको द्वार रहेको छ। अनि बाहिरबाट यस पुस्तकालयलाई हेर्दा त्यस गोलाकार सभा कक्ष एउटा आँखाजस्तै देखिन्छ र त्यसै कारण यसलाई चीनको आँखा पनि भन्ने गरिएको छ। यस गोलाकार सभा कक्ष र दुईतर्फ भूँइदेखि भित्तासम्म तहगत आकार दिइएको संरचना जहाँ बस्न मिल्ने, भर्याङ्गको रूपमा प्रयोग हुने र पुस्तक राख्ने दराजले जो कोहीको मन हर्न सक्छ। हालै खुला गरिएबाट कतिपय त्यस्ता दराज खालि नै देख्नसकिन्छ र त्यस्ता भागमा पुस्तकको थ्रीडी प्रिन्ट गरिएबाट झट्ट हेर्दा पुस्तक झैं लाग्न पनि सक्छ।

चिनियाँ सामाजिक सञ्जालमा पनि निकै चर्चा कमाएको यस पुस्तकालयलाई पाठक तथा दर्शकले ज्ञानको सागर, पुस्तकको समुद्र, चीनको आँखा, सुपर साईफाई तथा चीनकै सबैभन्दा सुन्दर पुस्तकालयको नाम दिएका छन्।

चीनकै सुन्दर पुस्तकालय मानिएको यस थ्येनचीन बिनहार्इ पुस्तकालयले ३४,२०० वर्गमिटर क्षेत्रफल ओगटेको छ। पाँच तल्लाको यस पुस्तकालयमा बाह्र लाख पुस्तक अटाउने क्षमता छ। यो पनि यस सुन्दर पुस्तकालयको विशेषता हो।

यस सुन्दर अद्भुत पुस्तकालयको डिजाइन नेदरल्याण्डका तीन आर्किटेक्टको नामबाट खोलिएको संस्था एमभिआरडिभीले थ्येनचीन शहरी विकास योजना तथा डिजाइन र्इन्स्टिच्यूटसँग मिलेर गरेको हो। एमभिआरडिभीका संस्थापक आर्किटेक्ट वी मास, ज्याकोब भान रिस र न्याथाली द भ्रिज हुन् र यस संस्था सन् १९९३ मा खोलिएको हो।

यस पुस्तकालय मात्र तीन वर्षको समयभित्र डिजाईनसमेत गरी निर्माण सम्पन्न भएको हो जुन एउटा आफैमा रेकर्ड हो। नयाँ बिनहार्इ सांस्कृतिक केन्द्रभित्र रहेको यस पुस्तकालयसँगै यहाँ अरू चार वटा भवन पनि जोडिएका छन् र ती भवनहरूको पनि आआफ्नै विशेषता छन्।

पुस्तक अध्ययनबाट ज्ञान आर्जन हुनुका साथै समयको सदुपयोग हुन्छ नै त्यस बाहेक शैक्षिक, सामाजिक, मानसिक, आत्मिक र सांस्कृतिक विकास पनि हुन्छ। त्यसै माथि यस्ता पुस्तकालयको भ्रमणले थप मनोरञ्जन पनि दिने छ।

तर हाम्रो देश नेपालमा पुस्तकालयको कथा भिन्न छ। पुस्तक पढ्ने पाठकको संख्यामा पनि कमि छ र पुस्तकालयको उपयोगिता पनि धेरैले जानेका छैनन् र चौतर्फि रूपमा पुस्तकालयको विकास पनि भएको देखिँदैन। तर चीनलगायत विभिन्न पश्चिमा देशमा पुस्तकालय भवनको डिजाइनमा समेत निकै ध्यान दिने गरिएको छ।

(लेखक, जन गणतन्त्र चीनको पैचिङमा अवस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विशेषज्ञ हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ