arrow

ओली सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी

नेपाल–भारत सम्बन्ध जस्तो विशिष्ट छ, अब सहयोग पनि विशिष्ट हुनुपर्छ : महतो

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
puri.jpg

काठमाडौं । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले भने,‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय सम्बन्ध भनेको सहकार्य र उन्नतीको स्थायी मित्रता हो।’ द्धिपक्षीय सम्बन्ध अति नै विशिष्ट भएकोले नेपालमा अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने उनको विश्वास थियो।

राजदुत पुरीले भने,‘भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहन्छ, यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाईसक्नुभएको छ, आगामी दिनमा द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुन्छ, नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो वीचमा उहाँले दोहोर्याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’

नेपालमा हालै जारी भएको बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको लागि यो निर्वाचन महत्वपूर्ण खुड्किलो भएको उनको भनाई थियो । उनले भने,‘यही सन्दर्भमा हाम्रो प्रधानमन्त्री मोदीजीले नेपालका राजनीतिक दलका नेताहरुलाई फोन गरेर नै बधाई तथा शुभकामना दिनुभएको हो, अब आगामी दिनमा पनि भारत नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न ईच्छुक छ।’ आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुवै तर्फबाट सहकायलाई निरन्तरता दिनुपर्ने उनको भनाई थियो ।

राजदुत पुरीले नेपाल–भारत सम्बन्धलाई मित्रवत छिमेकीको रुपमा चित्रण पार्दै भने,‘नेपाल र भारत स्थायी मित्र हुन्, आगामी दिनमा आर्थिक साझेदारीलाई बढावा दिनुपर्छ, यसमा दुवै देशले उतिकै उदार भएर आपसी फाईदा लिनेगरि अघि बढ्नुपर्छ, यो नै अहिलेको आवश्यकत्ता हो।’

भारतले अब मनाउन लागेको ६९ औं गणतन्त्र दिवसका बारेमा प्रकाश पार्दै राजदुत पुरीले भने,‘भारत २ सय वर्षको उपनिवेशपछि स्वतन्त्र भयो, भारत स्वतन्त्र भएपछिको यो ७० वर्षको अवधिमा आर्थिक प्रगतिमात्रै नभएर हामीले सामाजिक–साँस्कृतिक रुपान्तरण गर्यौं, राजनीतिक विकास हाँसिल गर्यौं, एकतावद्ध भारत बनाउन सफल भयौं, यो मानेमा म एक हिन्तुस्तानी, भारतीय हुनु र एउटा राजदुतको हैसियतले गर्व महशुस गर्छु।’

उनले भारत तिव्र आर्थिक वृद्धि हाँसिल गर्ने राष्ट्रको रुपमा अघि बढिरहेको उल्लेख गर्दै भने,«‘अर्को वर्ष हामी दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्ने रफ्तारमा छौं, यो हाम्रो लागि ज्यादै महत्वपूर्ण अवसर हो, नेपाल–भारत सम्बन्ध सदियौंदेखि पूरानो छ, सामाजिक–साँस्कृति, राजनीतिक सम्बन्धको अलावामा अब द्धिपक्षीय सम्बन्ध आर्थिक रुपमा साझेदारीका साथ अघि बढ्नुपर्छ।’ भारतमा भैरहेको तिव्र आर्थिक वृद्धि र विकासले नेपाललाई पनि फाईदा पुग्ने उनको विश्वस थियो । उनले भने,‘नेपालमा भएको विकासले पनि फेरि भारतलाई फाईदा पुग्छ, पछिल्ला वर्षहरुमा नेपालमा पनि आर्थिक विकास भएको छ, यसले आगामी दिनमा नेपाल–भारतवीचको पार्टनरसिपलाई बढावा दिन मद्दत पुग्छ।’

नेपाल र भारत छिमेकी मित्रराष्ट्र भएकोले एक–अर्कावीच विन–विनको आधारमा आर्थिक सहकार्यलाई अगाडि लैजानुपर्नै राजदुत पुरीको तर्क थियो । नेपालमा भारतले ज्यादै महत्व बोकेका मेगा प्रोजेक्टहरु बनाईसकेको उदाहरण पेश गर्दै भने,‘हामीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम राजमार्ग र टा«न्समिसन लाईनजस्ता प्रोजेक्टहरु सम्पन्न गरिसकेका छौं, अहिले पनि नेपालमा दुई तिहाई भन्दा बढि वैदेशिक व्यापार हिस्सा भारतको छ, दुवै देशवीच व्यापारिक सहकार्यमा सहजता ल्याउनुपर्छ, यसको लागि आगामी दिनमा सम्पर्क सञ्जाल बढाउनुपर्छ, उचित वातावरण निर्माण गर्नुपर्छ।’

नेपालको ऐतिहाँसिक महत्व बोकेको वीरगन्जजस्तो व्यापारिक नाकामा सर्वाधिक ठूलो एकीकृत चेक पोष्ट निर्माण भैसकेको जानकारी दिँदै राजदुत पुरीले भने,‘यो सञ्चालनमा आएपछि यसले व्यापारिक साझेदारीमा ठूलो बदलाव ल्याउँछ।’ त्यस्तै उनले विराटनगर भन्सारमा पनि काम भैरहेको जानकारी दिए । उनले नेपाल–भारत द्धिपक्षीय सिमा नाकहरुमा वीरगन्ज र विराटगनरजस्तै अन्र्तराष्ट्रिय स्तरको व्यापारिक केन्द्र आगामी दिनमा बनाईने विश्वास दिलाए ।

राजदुत पुरीले जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको पनि निर्माण कार्य धमाधम भैरहेको बताए । त्यस्तै अरुण तेस्रो र माथिल्लो कर्णालीजस्ता आर्थिक रुपमा निकै महत्व बोकेका बहुउद्देश्यीय जलविद्युत परियोजना निर्माण कार्य सुरु भैरहेको उनले जनाए । ‘नेपाल र भारतवीच भएका जनस्तरको सम्बन्धजस्तै हाईडा«े, सडक र हवाईले पनि हामीवीच सुमधुर सम्बन्ध कायम गर्न फाईदा पुग्नेछ’ उनले थपे,‘हामीले पशुपतिनाथ क्षेत्रमा ४०० सय कोठाको धर्मशाला निर्माण गरिसकेका छौं, केही हप्ताभित्रै यो सञ्चालनमा आउँछ।’ यस्ता खाले कार्यबाट द्धिपक्षीय सम्बन्धमा अझै बृहत्तर फाईदा पुग्ने राजदुतको विश्वास थियो ।


त्यस्तै उनले पेट्रोलियम पाईपलाईन विस्तारको कार्यपनि अघि बढिरहेकोले यसबाट दुवै देशलाई आर्थिक लाभ हुने बताए । उनले भने,‘यसमा कुनै द्धिविधा छैन, कि यस्ता प्रोजेक्टहरुले हामीवीचको आपसी सम्बन्धलाई थप मजबुद बनाउँछ, र आर्थिक लाभ हाँसिल गर्न मद्दत पुग्छ।’

नेपाल–भारत सिमानाबारे पछिल्लो समय पर्सामा देखिएको विवादको बारेमा भारत सरकारको के धारणा छ भन्ने पत्रकारको प्रश्नमा राजदुत पुरीले भने,‘नेपाल र भारतवीच १९९८ मा सिमा सम्झौता भएको थियो, दुवै देशको सिमाना निश्चित सिमा सिद्धान्त (फिक्सड बोर्डर प्रिन्सिपल) अनुसार हुनुपर्छ भनेर सम्झौता भएको थियो, र दुवै देशवीचका सबै सिमा नाकाहरुमा सिमांकन र स्ट्रिप म्याप सबै बोर्डहरुमा त्यही अनुसार लागु हुन्छ भनिएको हो, संयुक्त सर्वेका अनुसार ती पिलरहरु यसअघि नै त्यहाँ छन् जो पहिले निर्धारित थिए ।’ यद्धपी यसका बारेमा दुवै सरकारवीच छलफल हुने उनको भनाई थियो ।

अदुवा निकासीमा समस्या आईरहेको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘ईम्बार्गोलाई हामीले फलो गर्नुपर्छ, नेपाल र भारतवीच खुल्ला सिमाना छ, आवतजावतमा कुनै समस्या छैन, हामी विना भिसा र पासपोर्ट ओहोरदोहोर गर्न सक्छौं, तर व्यापारका निश्चित मापदण्डहरु छन्, अन्र्तराष्ट्रिय व्यापार सम्झौता अनुसार चल्नुपर्छ, यो अदुवाको विषयमा जो कुरा छ, यो जान्न जरुरी छ कि अदुवा नेपालमै उत्पादन भएको हुनुपर्छ।’

आफू राजदुत भएर नेपालको आएको १० दश महिना भएको उल्लेख गर्दै यो वीचमा नेपाल सरकार, नेपालीहरु र मिडियाबाट विशेष सद्भाव र सहयोग पाएकोमा धन्यवाद दिए । उनले भने,‘मैले यो वीचमा सबैबाट गुड विसेस पाएको छु, यसको लागि म सबैलाई धन्यवाद दिन्छु।’


राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल–भारत सम्बन्ध विशिष्ट भएकोले आगामी दिनमा भारतले नेपाललाई विशिष्ट सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हामीवीच द्धिपक्षीय सम्बन्ध जसरी विशिष्ट छ, त्यसैगरि भारतले आगामी दिनमा सहयोग पनि विशिष्ट गर्नुपर्छ।’ कार्यक्रममा सँगै रहेका राजदुत पुरीतर्फ हेर्दै उनले यस्तो बताएपछि राजदुत मुसुक्क हाँसेका थिए ।

नेपाल र भारतवीच अति नै विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै महतोले भने,‘दुई देशवीच सम्बन्ध बन्नुभन्दा अघि नै जनता जनतावीच सम्बन्ध थियो, त्यसैले हामीवीच प्राकृतिक सम्बन्ध छ, नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारबाट बनाईएको होईन, त्यसैले हामीवीच जति राम्रो सम्बन्ध भयो, त्यति नै नेपालको प्रगति हुन्छ, विकासमा टेवा मिल्छ।’

द्धिपक्षीय सम्बन्धमा धेरै समानताहरु रहेको बताउँदै उनले भने,‘शासन प्रणालीमा हामीवीच समानता छन्, तर विकासमा समानता छैन, भारत विकासमा उच्च गतिमा अघि बढेको छ, त्यसैले नेपालमा देखिएका सबै खाले समस्याहरुलाई हल गर्नुपर्छ, अधिकारको सवाल जो छ, संविधानका सवालहरु सल्टाउनुपर्छ।’ द्धिपक्षीय सम्बन्ध अति नै प्रगाढ भएको उल्लेख गर्दै महतोले भने,‘नेपाल–भारतवीच जति राम्रो सम्बन्ध हुन्छ, उति नै राम्रो विकास हुन्छ।’

भारतसँगजस्तो नेपालको अरु राष्ट्रहरुसँग सम्बन्ध नभएको बताउँदै उनले भने,‘भारत र नेपालवीच विशिष्ट सम्बन्ध छ, विकासमा मामिलामा पनि विशष्ट हुनुपर्यो।’ नेपालमा विकासको कुरा गर्दा खोक्ला राष्ट्रवाद बाधक बन्ने गरेको उनको गुनासो थियो । उनले थपे,‘यसले त सम्बन्ध बिगार्छ नि, असली राष्ट्रवाद बरु राम्रो छ, त्यतातर्फ हामीले माहोल र वातावरण बनाउनुपर्छ।’

नेपालमा प्राकृतिक प्रचुरताहरु धेरै भएकोले यसका सही सदुपयोग गर्नतिर लाग्नुपने उनको भनाई थियो । उनले भने,‘दुवै देश भारत र चीनबाट एक प्रतिशत मात्रै पर्यटक नेपाल आउने हो भने पर्यटनमा धेरै विकास हुन्छ, तर यहाँ माहोल बनाउनुपर्छ, सबैलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ।’ उनले नेपालमा विकासका धेरै संभावनाहरु रहेको उल्लेख गर्दै भने,‘विकासको धेरै सम्भावनाहरु छन्, जलस्रोतको धनी देश भनिन्छ, तर खोई त जनताको हितमा प्रयोग भएको ?’

विकासको मामिलामा साना तिना कुरामा अल्झन नहुने उनको भनाई थियो । उनले भने,‘भारतसँगको सम्बन्ध अब आर्थिक रुपमा अघि बढाउनुपर्छ, आर्थिक विकासका आधारमा सम्बन्धलाई अघि बढाउनुपर्छ, अधिकतम सहयोग आदानप्रदान हुनुपर्छ।’

अबको युग आर्थिक युग भएकोले देश र जनतालाई आर्थिक समृद्धितर्फ डोर्याउनको लागि नेपालले पहलकदमी लिनुपर्ने महतोको भनाई थियो । उनले भने,‘लगानीको वातावरण बनाउनुपर्छ, सोच्ने वेला आयो, आर्थिक प्रगति भारतले जसरी गरेको छ, अब नेपाललाई पनि सोही अनुसारको विशिष्ट सहयोग होस्, गणतन्त्र दिवसको अवसरमा म शुभकामना दिन चाहन्छु।’

नेपाली कांग्रेसका नेता एवम् पूर्वपराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल–भारत सम्बन्ध युनिक र विशिष्ट रहेको बताएका छन् । उनले भने,‘खुल्ला बोर्डर छन्, विना आईडी, विना भिसा र पासपोर्ट हामी आवातजावत गर्न सक्छौं, हाम्रो भूगोल खुल्ला छ।’ जनस्तरमा समेत प्रगाढ सम्बन्ध रहेको नेपाल र भारतवीच जटिलताहरु आउनु स्वभाविक भएको उनको तर्क थियो ।

डा. महतले नेपाल र भारतले एक अर्कावीचका संवेदनशीलतालाई बुझनुपर्नेमा जोड दिए । उनले भने,‘हामीले एक अर्काको संवेदनशीलतालाई बुझ्न सक्नुपर्छ, र त्यही अनुसार चल्नुपर्छ।’ आपसी विश्वासका आधारमा अघि बढ्न सक्नुपर्ने बताउँदै यसले नै सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने महतले बताए । द्धिपक्षीय सम्बन्धमा शंका तथा उपशंका पाल्न नहुने उनको धारणा थियो ।

नेपालमा सत्तामा पुग्ने भर्‍याङको रुपमा राष्ट्रियताको नारा लाग्ने गरेकोप्रति उनले दुःख व्यक्त गरे । द्धिपक्षीय सम्बन्धमा केही समस्या भए त्यसको लागि कुटनीतिक टेबलमा बसेर आधार र तथ्यसहित प्रस्तुत हुनुपर्ने उनको सुझाव थियो । नेपाल र भारतवीच अन्योन्याश्रित सम्बन्ध भएकोले एक अर्काको आवश्यकत्तालाई बुझेर अघि बढ्नुपर्ने महतको विचार थियो ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपाल–भारत सम्बन्ध प्रकृतिपत्त भएकोले आगामी दिनमा पनि आपसी हितलाई ध्यानमा राखेर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘आउने सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्नेछ।

ज्ञवालीले अबको द्धिपक्षीय सम्बन्धका आयामहरु आर्थिक साझेदारी हुने पनि जनाए । भारत नेपालको ठूलो बजार भएकोले यो संभावनालाई ध्यानमा राखेर आफूहरुले सम्बन्धलाई थप मजबुद बनाउने उनको थियो । उनले आफूहरु छिमेकी मित्रराष्ट्र भारत र चीन दुवै देशसँग असल सम्बन्ध राखेर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘हामी हाम्रो भूमी कसैका विरुद्धमा प्रयोग हुन दिँदैनौं, कतैतिर नढल्किने नै हो।’

नेपाल–भारत सम्बन्धबारे गठित प्रवुद्ध व्यक्ति समूहले काम गरिरहेकोले समग्र पूनरावलोकन गरेर दुवै देशका सरकारलाई सुझाव दिने पनि तयारी भैरहेको उनले जनाए । ज्ञवालीले भने,‘द्धिपक्षीय सम्बन्धबारे समग्र पूनरावलोकन गरेर सुझाव दिन प्रतिवेदन तयारी भैरहेको छ, सायद जुलाईमा प्रतिवेदन तयार हुन्छ।’

नेपाल र भारतवीच नजिकको सम्बन्ध भएकोले बेलाबखत् समस्याहरु आउनु स्वभाविक भएकोले नेपाल र भारतका खुल्ला बोर्डरहरु हितमा अधिकतम उपयोग हुनुपर्ने धारणा राखे । उनले भने,‘जलस्रोतको विकास हुनुपर्छ, पञ्चेश्वर परियोजना छिटो फाईनल होस्, यो रोल मोडेलको रुपमा विकास होस्।’ त्यस्तै अरुण तेस्रो र अपर कर्णाली पनि चाँडै बन्नुपर्ने उनको भनाई थियो ।

उनले भारत विश्वकै उदयीमान अर्थतन्त्र भएकोले उसले उदारता अपनाउनुपर्नेमा जोड दिए । उनले भने,‘स–साना कुरामा अवरोध नहोस्, जस्तो अदुवा नरोकियोस्, भारतीय बजार खुल्ला छ, यसले नेपालको अर्थतन्त्रमा टेवा पुग्छ।’ उनले द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु आदानप्रदानले सम्बन्ध थप घनिष्ठ बनाउने विश्वास दिलाए ।

कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदुत एवम् परराष्ट्रविद प्रा. लोकराज बरालले नेपाल र भारतवीचको सम्बन्ध अब पूरानो माईण्डसेट अनुसार चल्न नहुने धारणा राखे । उनले भने,‘अहिले सिमाना मिचियो भनेर नारावाजी गर्ने काम भएको छ, यस्तो गर्नुहुँदैन्, यदि समस्या छ भनेपनि कुटनैतिक रुपमा हल गर्नुपर्छ।’ विकास, स्थायित्व र शान्तिको लागि दुई देशवीच सहकार्य हुनुपर्ने उनको भनाई थियो ।

बरालले द्धिपक्षीय सम्बन्ध अब विकासको आधारमा कायम हुनुपर्नेमा जोड दिए । त्यसको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उनको भनाई थियो । उनले भने,‘नेपालले अब त्यतातिर ध्यान दिनुपर्छ।’

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ