arrow

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी : ४१ जनाको मृत्यु , कैयौँ घाइते

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
korea-hospital.jpg

सोल । दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ ।  

दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो ।

यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचारमा जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ ।

दक्षिण कोरियामा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिकमा सहभागिताका लागि हजारौँ खेलाडी तथा खेल अधिकारीहरु जम्मा हुन लागेका छन् ।

यस्तो समयमा दक्षिण कोरियाको राजधानी सोलमा ठूलो सङ्ख्याका विदेशीहरु जम्मा हुन लागेको अवस्थामा उता दक्षिणी क्षेत्रको एक अस्पतालमा भने व्यापक आगलागी भएको छ ।

त्यस आगलागीमा परी ४१ जनाको ज्यान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यस आगलागीमा परी सोही अस्पतालमा रहेका ८० व्यक्ति घाइते भएका छन् ।

सामाजिक सञ्जालमा राखिएका श्रव्यदृश्यहरुमा उक्त अस्पतालमा रहेका विरामीहरुलाई अस्पतालको छत् तथा कौसीमा जम्मा गरेर हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएका देखिन्छ ।

छ तल्ले सो भवनमा सरकारी अस्पताल रहेको छ । मृत्यु हुनेमा विरामी र उनका कुरुवाहरु पनि परेका समाचारमा जनाइएको छ ।

उक्त अस्पतालमा दिउँसाको खानाखाने बेलामा अकस्मात आगो लागेको हो । सो आगलागीको बारेमा अहिले सम्म पनि केही भन्न नसकिएको अस्पतालका चिकित्सक र नर्सले जनाएका छन् ।

खानाको समयमा अकस्मात आगो दन्किएको देखिएपछि एकाएक मानिसहरुमा भागाभाग मच्चियो, अहिलेसम्ममा निकै ठूलो क्षति भएको छ– उनीहरुले भनेका छन् ।

आगो भूइँ तल्लाबाटै सुरु भएको देखिएको छ । जसका कारण धेरैजसो मृत्यु हुनेहरु अस्पतालको दोस्रो र तेस्रो तल्लाका रहेका छन् ।

मृत्यु हुनेमा अस्पताल भित्रकै मानिस परेका छन् । तीमध्ये के कति विरामी र कतिजना अस्पतालका कर्मचारी एवम् विरामीका कुरुवाहरु छन् भन्ने बारेमा केही बताइएको छैन ।

अहिले आगो नियन्त्रणमा लिने मात्र प्रयास भएको छ र के कतिजना मानिस के कसरी परे भन्ने बारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उक्त आगलागी भएको समयमा सो अस्पतालमा विरामी र कर्मचारी गरेर कम्तीमा पनि २०० जना व्यक्ति रहेका थिए ।

दोस्रो तल्लामा रहेका एकजना विरामीले भने– हामी दोस्रो तल्लामा थियौँ, यत्तिकैमा यहाँका नर्सले अकस्मात चिच्चाउँदै आगो लागेकोले भाग्न भनेपछि हामी पनि त्यहाँबाट भाग्यौँ ।

नर्सले अस्पतालको आकस्मिक कक्षबाट भाग्न भनेको भए तापनि कतिपयले त्यसको मेसो नपाएर पनि धेरैको ज्यान गएको पनि उनले बताए ।

दक्षिण कोरियाकै एक जेचोन नामक सहरमा करिब महिना दिन अघिमात्र भएको आगलागीमा परी कम्तीमा पनि २९ जनाको ज्यान गएको थियो ।

फिजिकल फिटनेस सेन्टरमा भएको सो आगलागीबाट २९ जनाको ज्यान गएको थियो । विद्युतीय गडबढीका कारण सो आगलागी भएको त्यस समयमा बताइएको थियो । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ