arrow

ईश्वर पोखरेल भन्छन्–एकता र सरकार गठन एउटै विषय होइन, आलोपालो पनि हुँदैन

संविधान संशोधन गर्न तयार छौँ

logo
प्रकाशित २०७४ माघ १३ शनिबार
Ishwor-Pokharel.jpg.jpeg

काठमाडौँ । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढेपनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताएका छन् । उनले पार्टी एकता यही शर्तमा हुने संकेत पनि गरेका छन् ।

अखिल नेपाल महिला संघले स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नराखेर नेताको कार्यविभाजन हुने बताएका हुन् ।

यसअघि, महासचिव पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुने बताएपछि एमाले र माओवादीभित्र तरंग सिर्जना भएको थियो । महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनमा तालमेल र प्रदेशसभा गठनका विषयमा कार्यदलले काम गरिरहेको र अब बस्ने एकता संयोजन समितिले वैचारिक र संगठन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गर्ने सुनाए ।

उनले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताए । मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको बताउँदै उनले सहमति भए मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट पारे । एमालेले प्रदेश नम्बर २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने महासचिव पोखरेलले बताए ।

राष्ट्रिय जनता पार्टी र मधेशी जनाधिकार फोरम नेपालले प्रदेशको सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधनको माग राख्दै आएको छ । “हामीलाई जुन प्रकारले मधेश विरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो, हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौँ ।” महासचिव पोखरेलले भने, “औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन सँधै खुल्ला रहन्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ