arrow

‘मुख्यमन्त्रीमा मेरो प्रतिस्पर्धी काेही छैन' : राजेन्द्र पाण्डे ( अन्तर्वार्ता)

'देश बनाउने कुरामा जाति, धर्म र लिङ्गको कुरा गर्नु राम्राे हुन्न'

logo
हाम्रा कुरा
प्रकाशित २०७४ माघ १३ शनिबार
rajendra_pandye1.JPG

एमाले नेता राजेन्द्र पाण्डेले  तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफू एक्लो दाबेदार भएको जिकिर गरेका छन् । प्रदेश तीनकी संयोजक समेत रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यतर्फ लक्षित गर्दै नेता पाण्डेले देश बनाउने कुरामा जाति, धर्म र लिङ्गको कुरा अगाडि सार्नु उपयुक्त नहुने तर्क गरे । शीर्ष नेताहरुको सहमतिमा आफू प्रदेशको चुनाव लड्न जिल्ला गएको उनले बताए । हामीले नेता पाण्डेसँग कुरा गरेका छाैँ ।

० प्रदेश ३ मा तपाईं नै हो मुख्यमन्त्री ?
– यो प्रदेशको एकजना अनुभवी राजनीतिज्ञ हुँ । चारपटक केन्द्रीय संसदको सदस्य भइसकेको, २०४८ देखि लगातार संसदमा भूमिका निर्वाह गरिरहेको, संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको, सचेतक, प्रमुख सचेतक र मन्त्रीसमेत भइसकेको नाताले ३ नम्बर प्रदेशमा मुख्यमन्त्री चलाउने क्षमता राख्छु ।
मैले प्राप्त गरेको अनुभव र क्षमता पहिलो पटक बन्न लागेको प्रदेश सरकारले पाओस् । यो क्षमता सदुपयोग गर्न नेपाली जनता, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न सकियोस् भन्ने लागेको छ । त्यसकारण मेरो योग्यता, क्षमताको कदर राज्यले गर्नुपर्छ भन्ने लागेर नै मैले मुख्यमन्त्रीको दाबी गरेको हुँ ।

० तर मुख्यमन्त्रीमा तपाईंको भन्दा अष्टलक्ष्मीको चर्चा बढी छन नि ?
– मुख्यमन्त्रीजस्तो महत्वपूर्ण पद सञ्चालन गर्ने मामिलामा जात, धर्म र लिङ्गको कुरा उठाएर मैले पाउनुपर्छ भन्ने दाबी गर्नु गलत हो । हामीले संविधानमा ३३ प्रतिशत महिला सबै ठाउँमा व्यवस्था गरेका छौं । संविधानले व्यवस्था गरेको कुरा हामीले उल्लंघन गर्नुहुँदैन । त्यसबाहेक जात, धर्म लिङ्ग आदिका कुरा उठाएर फलानाले पाउनुपर्छ भन्ने कुरा अनुपयुक्त हो ।

० अष्टलक्ष्मीसँग यस विषयमा तपाईंको संवाद भइरहेको छ ?
– कुनै संवाद भएको छैन, केही समयभित्र दलको बैठक बस्छ, त्यही बैठकले नेता छान्ने हो । त्यही छानिएको नेता नै मुख्यमन्त्री हुन्छ । दलले निर्णय गर्ने परम्परा हामीले २०७० देखि प्रारम्भ गरेका छौं । त्यसबेला संसदीय दलमा अध्यक्ष केपी र झलनाथ खनाल उम्मेदवार बन्नुभयो । अध्यक्ष खनाललाई केपी ओलीले पराजित गर्नुभयो । त्यो हाम्रो अगाडि नजिर छ । भर्खरै प्रदेश ५ मा सांसदहरुले दलको बैठक बोलाइ शंकर पोखरेललाई निर्विरोध दलका नेता बनाइसक्नुभएको छ । हाम्रो पनि चाडै बैठक बस्छ र दलको नेता छान्छ ।

० सहमतिमा नेता छानिन्छ ?
– दलको निर्वाचन हुन्छ, त्यही निर्वाचनले दलको नेता छान्छ । त्यही नेता मुख्यमन्त्री बन्छ ।

० संवाद सहमतिमा नेता छानिदैन ?
– संवादको जरुरी नै छैन, किनभने स्वयम अष्टलक्ष्मीले मलाई ३ पटक यो प्रदेशको मुख्यमन्त्री बन्न योग्य व्यक्ति भन्नुभएको छ । स्थायी समितिमा बसेर उहाँले नै प्रदेशमा चुनाव लड्न जानुहोस् भन्नुभएको हो । त्यसकारण यहाँ छलफल गरिराख्नुपर्ने आवश्यकता छजस्तो मलाई लाग्दैन ।

० दलको नेता छान्न निर्वाचनको विकल्प छैन ?
– एकजना मात्रै उम्मेदवार भए पनि त्यो विधि निर्वाचन नै हो । कसैले प्रस्ताव राख्छ, कसैले समर्थन गर्छ । अर्को उम्मेदवार भएन भने निर्विरोध बन्छ । हाम्रो प्रदेशमा पनि चुनाव हुन्छ जस्तो लाग्दैन । मेरोविरुद्ध अरु कोही उठ्छ जस्तो लाग्दैन ।

० यस विषयमा पार्टीका शीर्ष नेतासँग तपाईंको कुराकानी भएको छ ?
– शीर्ष नेता सबैसँग मेरो कुरा भएको छ । सबै नेताहरुलाई सोधेरै म प्रदेश सभाको निर्वाचन लड्न गएको हो । उहाँहरुले नै निर्णय गरेर प्रदेशमा चुनाव लड्न पठाएको हो मलाई ।

० मुख्यमन्त्री बन्न समूह नै परिवर्तन गर्नुभयो भनिन्छ नि ?
– म नेकपा एमालेको सिपाही हुँ, पार्टीभित्र जिम्मेवारी लिने हिसाबले म उपयुक्त छु, योग्य छु । पार्टीभित्र समूह छ भन्ने कुरा मलाई त्यत्ति धेरै थाहा छैन । यतिबेला हाम्रो पार्टी अध्यक्ष केपी ओली हुनुहुन्छ । अब देशको प्रधानमन्त्री पनि केपी ओली नै बन्दै हुनुहुन्छ । उहाँको प्रत्यक्ष निगरानी र निर्देशनमा काम गर्ने व्यक्तिहरुको खाँचो हुन्छ । त्यो काम गर्न म तयार भएर बसेको छु । पार्टीभित्रको गुट र समूहबारे म जानकारी राख्दिनँ ।

० सरकार वाम गठबन्धनको बन्छ ?
– माओवादी अध्यक्ष प्रचण्डलाई बधाइ दिने सिलसिलामा कार्यकालको सफलताको शुभकामना र पार्टीलाई मिलाएर एउटै बनाउन सफल हुनुहोस् भन्दै प्रदेश ३ को मुख्यमन्त्रीको उम्मेदवार हुँ, त्यतातिर ध्यान जाओस् भनेको थिएँ । उहाँले तपाईं उपयुक्त क्यान्डिडेट हो, यसबारे पछि छलफल गरौंला भन्नुभएको थियो । त्यसपछि उहाँहरुसँग बसेर कुराकानी भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ