arrow

गठबन्धनका दोस्रो तहका नेताहरुमा 'पहिलो घेरा'को लागि मारामार

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
bam_gathabandhan.jpg

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच एकताको प्रक्रिया अघि बढीरहेको सो पार्टीका नेताहरुले बताईरहँदा सो पार्टीका दोस्रो तहका नेताहरु नै यसप्रति असन्तुष्ट बन्न थालेको चर्चा समेत चल्न थालेको छ । बेलाबेलामा उब्जिने गरेका यावत किसिमका शंका उपशंकाहरु चिर्ने प्रयासमा नेताहरु लागेको भएपनि व्यवस्थापनमा आफूहरुको सम्मानजनक स्थान नपाउने देखेपछि दोस्रो तहका नेताहरु नै बाम एकताप्रति असन्तुष्ट बनेका हुन् । 

बाम गठबन्धनमा अहिले सबैभन्दा समस्या भनेको दुबै दलका नेताहरुलाई सम्मानजनक व्यवस्थापनको लागि हो । अहिले मूल समस्या भनेको नै एकतापछि कुन् दलका कुन् नेताहरु नेतृत्वको पहिलो घेरामा बस्ने भन्नेमा चलिरहेको छ । सबैभन्दा माथि दुबै पार्टीका अध्यक्षहरु छन् । त्यससँगै एमाले वरिष्ठ नेताहरुको स्थान हुनसक्छ । तर, त्यसपछि भने कुन् नेतालाई राख्ने भन्ने विषयमा यतिबेला एमाले र माओवादी नेतृत्व भित्र पनि चर्को असन्तुष्टि चुलिएको छ । 

माओवादीका नेता कृष्णबहादुर महरा लगायतका नेताहरु यस अघि नै असन्तुष्ट छन् । उनीसँगै वर्षमान पुन पनि एकताको खुलेर विरोधमा लाग्न नसकेपछि यसबाट खुशी छैनन् । नारायणकाजी र जनार्दन शर्मा खेमाका नेताहरु यसका लागि खुलेर लागेको भएपनि महरा र पुन पक्षीय नेताहरु यसमा स्पष्ट विपक्षमा छन् । उनीहरु अर्कै खेमाका नेताहरुको सक्रियतामा भएको हुनाले पनि बरु यो एकीकरण नभएकै ठीक भन्नेमा रहेको माओवादी केन्द्रका एकता प्रक्रिया प्रति असन्तुष्ट नेताले जानकारी दिए । 

अर्को तर्फ एमालेमा पनि नेतृत्वको नजिक को बन्ने भन्नेमा दोस्रो तहका नेताहरु चिन्तित छन् । यतिबेला केपी ओलीको सबैभन्दा निकट रहेर काम गरेका नेताहरु ईश्वर पोखरेल, सुभास चन्द्र नेम्वाङ, विष्णु पौडेल, योगेश भट्टराई जस्ता नेताहरुलाई एकीकृत पार्टीमा के के जिम्मेवारीमा राख्ने भन्ने विषयमा अहिले एमालेभित्र नै भद्रगोल स्थिती सुरु भएको छ । अहिलेका सबै ओलीका सहयोगीहरुलाई पहिलो घेरामा राख्न सम्भव पनि छैन । यस्तो स्थितीमा ईश्वर पोखरेल लगायतका नेताहरु समेत बढी चिन्तित हुने गरेका छन् । आफू पहिलो घेरामा नपर्ने हो भने बरु पार्टी एकीकरण नै नभए राम्रो भन्ने पक्षमा उनीहरु उभिने गरेका छन् ।  

यस्तो स्थितीमा अहिले एमालेका नेताहरु पहिलो घेरामा पर्नको लागि एकले अर्कालाई सिध्याउने खेलोमा लागेको समेत एमालेभित्र आरोप प्रत्यारोप हुने गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेल जस्ता सक्षम नेताहरुले बाम गठबन्धनमा सम्मानजनक पद खोजेका छन् । तर, माओवादीलाई पनि ४० प्रतिशतको हिस्सा दिनै पर्ने भएकोले माओवादीका नेताहरुलाई पनि कहाँ व्यवस्थापन गर्ने भन्ने सवालमा बहस चल्न थालेको हो। 

कुनै नेतालाई काखी च्याप्दा सोही खेमाको अर्का नेता विद्रोही बन्ने हो कि भन्ने डर एमाले देखिएको छ । यसरी आफूलाई भनेजस्तो पद र जिम्मेवारी नपाउने सम्भावना देखेका नेताहरु भने बरु बाम गठबन्धन नै नहोस् भनेर आफ्नो भूमिकालाई गौण बनाउन थालेका छन् । उनीहरुले अब फर्किने ठाउँ नरहेको भन्ने अभिव्यक्ति दिएको भएपनि बाम एकीकरण नभएसम्म हुन्छ नै भनेर यकीन गर्न सकिने अवस्था देखिँदैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ