arrow

उपभोक्ता ठग्न सिंहदरबारमा गुहार

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
singh_durbar.jpg

काठमाडौं। सामान्यतया विधिको शासन हुने थियो भने ठगहरुको लागि सिंहदरबार सबैभन्दा टाढाको विषय बन्नु पर्थ्यो। तर, अहिले सिंहदरबार भित्रका मन्त्रालयहरु ठगहरुको लागि एउटा सुरक्षित र प्यारो ठाउँ बन्ने गरेको छ। सिंहदरबार भित्रका केही कर्मचारी र मन्त्रीहरुको आश्रयका कारण व्यापारीहरु साना सरकारी निकायबाट आफ्नो ठगि धन्दामा समस्या सिर्जना हुने देखेपछि जोगाउनको लागि सिंहदरबार धाउने गरेका छन्। 

अहिले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गाडी विक्रेताहरुमाथि अनुगमन गरिरहेको छ। अहिलेसम्म १३ वटा कम्पनीका गाडी विक्रेताहरुलाई विभिन्न चरणको कारबाही गरिसकेको आपूर्ति विभागले जनाएको छ। यसरी विभागको अनुगनबाट बच्नको लागि मन्त्रालयमा गुहारको लागि जान थालेका छन्। आफूहरु विरुद्ध ठगि मुद्दामा अनुगमन सुरु गरेपछि गाडी विक्रेताहरु त्यसलाई रोक्न आग्रह गर्दै सिंहदरबार धाउन थालेका हुन्। अर्थमन्त्रालयका उच्च अधिकारीहरुसँग भेटगरी ती व्यापारीहरुले सरकारलाई धेरै कर तिर्ने आफूहरुलाई हतोत्साहित गर्नेगरी काम भएको भन्दै यसलाई रोक्न आग्रह गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ। ठूला करदातालाई ढुक्कसँग व्यापार गर्न नदिएको गुनासो सहित उनीहरु मन्त्रालय पुगेका थिए। 

उनीहरुले अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई समेत सम्पर्क गरी गाडी कम्पनीहरु माथिको यो अनुगमनले आफूहरु हतोत्साहित भएको गुनासो गरेका थिए। यसमा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले पनि व्यवसायिको माग सम्बोधन गरी अनुगमन रोक्नको लागि सरोकारवाला निकायलाई निर्देशन समेत दिईसकेको स्रोतको दाबी छ। 

राजश्व सचिव शिशिर ढुंगानाले यस विषयमा अनौपचारिक विषयमा मन्त्रालयमा चर्चा चलेको भएपनि औपचारिक रुपमा कसैले कसैलाई निर्देशन नदिईएको स्पष्ट पारे। उनले अहिलेको अनुगमनले ठूला करदाताहरुलाई हतोत्साहित गर्ने काम भएको भन्ने विषय उठेको भएपनि औपचारिक रुपमा मन्त्रालयलाई पत्र भने नलेखिएको जानकारी दिए।

अर्थ स्रोतका अनुसार अहिले आपूर्ति सचिवलाई समेत बोलाएर यस विषयमा छलफल गर्ने तयारी समेत भईरहेको छ। यद्यपि आपूर्ति सचिव अनिलकुमार ठाकुरले ठगि गर्ने कम्पनीहरुलाई ठूला करदाता भएकै आधारमा छुट नदिईने बताए। उनले अहिलेसम्म आफूलाई कसैले पनि दबाब नदिएको भन्दै कानूनसम्मत काममा आफू कसैको दबाबको पछि नलाग्ने स्पष्ट पारे। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ