arrow

प्रचण्डले शंकाको तीर सोझ्याए ओलीतिर, खुल्यो 'एक्ला–एक्लै' वार्ताको रहस्य

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
dahal_balkot.JPG

काठमाडौं । एक जना राजनीतिक विश्लेषक भन्छन्, ‘ओली पक्षले माओवादीलाई गलाएरै एकता गर्ने प्रयत्न गरिरहे र माओवादी भित्रैबाट झुकेर एकता गर्न हुदैन भन्ने पक्ष बलियो हुँँदै गए प्रचण्डले पाँच वर्षे प्रधानमन्त्रीको अफर स्वीकार नगर्लान भन्न पनि सकिन्न ।’

यो परिस्थितिको पनि खतरा बुझिसकेका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय ‘एक्ला एक्लै’ वार्तामै जोड दिएका छन् ।

आइतबार बसेके कार्यदल बैठकले निर्णय गर्नु अघि पनि ओली र प्रचण्ड कम्तिमा पनि चार घण्टा कोठे बैठकमा व्यस्त रहे । दाहालले पछिल्लो समय एउटा छनक दिएका छन्, कि ‘एक्ला एक्लै’वार्ता हाइसक्रेसी हो । दुई पार्टीभित्रको आन्तरिक कलह बाहिरसम्म नआओस् ।

यो विषयमा दाहालले खुलेर बोलेका छैनन्, तर संकेत गरेका छन् । एमाले-माओवादीले, एकता प्रकृयालाई भाँड्न खोजेको भन्दै काँग्रेस लगायत विपक्षीलाई आरोप लगाउन छोडेका छैनन् । ति विश्लेषक भन्छन्, ‘मूल कुरा त वनको बाघ भन्दा मनको बाघले बढी तर्सारहेको छ ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष दाहालले भनेका छन्, ‘देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको छ । तर, एकता भाँड्नेहरु प्रति सजग छौँ ।’

तर, माओवादी उच्च नेतृत्वको शंकाको तीर एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । माओवादी उच्च नेतृत्व एमाले अध्यक्ष ओलीका पछिल्ला क्रियाकलापबाट सशंकित भएको संकेत मिलेको दाहाल निकटका एक नेताले बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनअघि भएका सहमति कार्यान्वयन गर्न एमालेले आनाकानी गरिरहेको र पहिले गरिएको ६०–४० अहिले ७०–३० तिर पुगेको भन्दै माओवादी सशंकित छ । व्यवहारैले पनि यी दुई पार्टी ‘एकता भन्दा सिट बाँडफाँडतिरै लागेकाले एउटै पार्टीको अभ्यास शंकाको घेरातिर गएको बताइँदै छ  ।

प्रधानमन्त्री ओली र एकतापछिको पार्टी अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने समझ्दारी भएरै चुनावमा गएको माओवादी जिकिर छ । अहिले, एमालेले दुवै पद चाहिने अडान नछोडेको भन्दै माओवादी पंक्तिमा कानेखुसी सुरु भएको छ ।

‘ओली कहिले प्रचण्डलाई अध्यक्ष दिन तयार हुन्छन्, भोलिपल्ट व्याक हुन्छन्, ओली र दाहालको वार्ताबारेका एक जानकारले भने, ‘जनताको वहुदलीय जनवाद र माओवादको विषय पहिले महाधिवेशनमा लैजाने कुरा थियो । ओली अहिले जवजलाई मूख्य आधार बनाउने कुरा गर्दै छन् ।’

दाहाल पूर्वसहमति कार्यान्वयन गरेरै तत्काल एकता गर्नुपर्ने पक्षमा उभिएका छन् । उनको मनमा चिन्ता छ । हिजो आज दाहाल ओलीसँगको वार्तामा पनि त्यति धेरै उत्साही भएर प्रस्तुत हुँदैनन् । पछिल्लो सय छलफलमा सहभागि दाहाल मलिन मुद्रामा देखिएका तस्वीरहरु पनि आएका छन् ।

दाहाल पार्टी एकतामा पनि आफ्नो व्यवस्थापन र दोस्रो तहका नेताको व्यवस्थापनलाई लिएर बढि चिन्तित छन् । अर्कोतिर माओवाद पनि विर्सने र झुकेर पार्टी एकता गर्ने भए सोच्न सकिँदैन भन्ने आन्तरिक दबावबाट पनि उनले मुक्ति पाउन सकेका छैनन् ।

तर, एमाले नेताहरुको जोड पहिले सरकार, अनि एकता हेर्दै जाउँला भन्नेतिरै छ ।  सतहमा स्पष्ट विरोध नदेखिए पनि एमालेभित्र एकता प्रकृयालाई हेर्ने दृष्टिकोणमा मतभेद चुलिँदै गएको छ ।

माधकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका नेताहरु दाहाललाई एकीकृत पार्टीको अध्यक्ष बनाएर अघि बढन तयारै छन् । तर, ओली पक्ष त्यसो भयो भने एकता पछि पार्टीमा प्रचण्ड समूह हावी हुने र आफु पछि पर्ने चिन्तामा छ । यही कारण ओली पक्ष दाहाललाई एकीकृत पार्टीको अध्यक्ष मान्न तत्पर हुन सकेको छैन । अध्यक्ष ओली एकताबारे आफू प्रस्ट कुरा गर्दैनन् र, उनका निकटस्थहरुको पनि एकतामा खासै रुचि परिरहेको छैन । सकेसम्म ओली र मूल समूह दाहाललाई कुनै पनि हालतमा अध्यक्ष नदिने, सह–अध्यक्ष वा अरु कुनै भूमिका दिएर एकता प्रकृयालाई अघि बढाउने पक्षमा देखिएको छ ।

माओवादी केन्द्र भने अध्यक्ष नपाएसम्म एकता नगर्ने लाइनतिर गएको छ । पहिले दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको शक्तिले अहिले दाहाललाई अध्यक्ष किन दिने ? भनि एमाले उचालिरहेको माओवादी आरोप छ ।

एमालेमा दुई धार देखिएसँगै ओलीलाई दोहोरो समस्या परेको छ । एकातिर पार्टीको आन्तरिक व्यवस्थापन र अर्कोतिर जनताकै बीचमा गरिएको पार्टी एकता घोषणा । तर, यो बाट सजिलै उम्किन समेत ओलीलाई अब भारी परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ