arrow

प्रदेश नम्बर पाँचः बैठक बस्न ४ दिन, तयारी अलमल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ १७ बुधबार
butwal_sabha_hall.jpg

बुटवल। प्रदेश नम्बर पाँचको संसद् बैठक बस्न ४ दिन मात्रै बाँकी छ । यही माघ २१ गते बैठक बोलाइएको छ।  तर बैठकका लागि व्यवस्थापनको जिम्मा पाएको स्थानीय टोली सुस्ताएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको नेतृत्वमा बनेको व्यवस्थापन टोलीले बैठकका लागि कुनै पनि संरचना तयार पारेको छैन। प्रमुख जिल्ला अधिकारी केन्द्रको टोली आएपछि काम थाल्ने बताउँछन्। उनी भन्छन् ‘समय छ, हामी व्यवस्थापन गर्दैछौं ।’ 

संसद बैठकका लागि तोकिएको बुटवल उद्योग वाणिज्य संघको सभाहलमा कुनै पनि तयारी गरिएको छैन। बैठक कक्षको तयारी नै शुरु नगरिएपछि पहिलो बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य बलदेव शर्मा पोखरेल अन्योलमा परेका छन्। बैठकस्थलको तयारीका लागि पोखरेल आइतबार र सोमबार दिनभर प्रस्तावित संसद भवन बुटवल उद्योग वाणिज्य संघमा एक्लै बसिरहे। ‘सभामुख, संसदको सचिव, सांसदहरू बस्ने कुर्ची राख्नेदेखि बार लगाउनेसम्मका काम गर्नुपर्नेछ । तर अहिलेसम्म कामै शुरु भएको छैन’ शर्माले भने–‘अब चार दिनमा कसरी काम सकिन्छ ?’

पूर्वाधार व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र भवन डिभिजन कार्यालयका प्रमुख सुरेश ठाकुरले आइतबारदेखि काम शुरु हुने बताएपनि सोमबारसम्म पनि बैठकस्थल निर्माणको कुनै काम भएन। संसद बैठक बस्ने हलमा एक गैरसरकारी संस्थाले मंगलबार उत्प्रेरणा तालिमको आयोजना गरेको छ। जसका कारण मंगलबार पनि संसद बैठकका लागि तयारी हुने संकेत छैन।

सरकारले प्रादेशिक संरचनाको भवन व्यवस्थापनका लागि साढे ७ करोड रूपैयाँ विनियोजन गरेर निर्माणको जिम्मा भवन डिभिजन रूपन्देहीलाई दिएको छ। ‘सबै पूर्वाधार बनाउन कठिन छ। तत्काल अस्थायी खालको बैठकस्थलको व्यवस्थापन हुन्छ’– भवन डिभिजन रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरले बताए। बैठकस्थल निर्माणका लागि संसद सचिवालयले सातै प्रदेशमा एकै खालको नक्सा पठाएको छ। मञ्चमा सभामुखको अग्लो कुर्ची, छेउमा केही होचो सचिव कुर्ची राखेर बैठक स्थल तयार गर्नुपर्नेछ । अगाडि तीन ठूला दलसहित अन्य तीन साना दलका सांसद बस्ने कुर्ची राखिने संरचना छ। संसद बस्ने कुर्चीभन्दा पछि बार लगाउने र कुटनीतिक नियोग र पत्रकारहरूका लागि बस्ने स्थान निर्माण गर्नुपर्नेछ।

बैठकस्थलमा ‘साउण्ड सिस्टम’ व्यवस्थापनको काम भएको छैन । सञ्चार मन्त्रालयले चार दिनअघि दुई कर्मचारी पठाएको छ। हल व्यवस्थापनको काम नभइसकेकाले उनीहरू अन्योलमै छन् । संसदका कर्मचारीहरू आइतबार नै आउने बताइए पनि सोमबारसम्म पनि आइसकेका छैनन्। ‘प्रदेश सभा कसरी सञ्चालन गर्ने भन्ने विषयका विज्ञहरू संसद सचिवालयले खटाएको छ’– परामर्शका लागि काठमाडौं पुगेका प्रदेश प्रमुख उमाकान्त झाले टेलिफोनमा भने–‘उहाँहरू बुटवल पुगेर काम थाल्नुहुन्छ।’ संसद सचिवालयले सह–सचिव सुरेन्द्र अर्यालले नेतृत्वमा प्रदेश संसदका लागि कर्मचारी खटाएको छ। 

प्रदेश मुख्यालयमा हालसम्म प्रदेश प्रमुखको कार्यालयमा दुई जना मात्रै कर्मचारी आएका छन् । कर्मचारी नआएकै कारण प्रदेश बैठकलगायतका कामकाजहरू अन्योलमा परेका छन्।  ‘१७–१८ जना कर्मचारी आउनुपर्ने हो’– प्रदेश सचिवालयका सचिव सनत दवाडी भन्छन् ‘अहिलेसम्म २ जना मात्रै छौं ।’ सभामुखसहितको संसद सचिवालयका लागि बुटवल उद्योग वाणिज्य संघको भवनका दुई वटा तला र हल प्रयोग गरिने छ। हाल सभामुखको जिम्मेवारीमा रहेका पोखरेलको सचिवालयमा टेबल र कुर्ची भने व्यवस्थापन गरिएको छ । प्रदेश नम्बर ५ मा ८७ जना सांसद छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ