arrow

देउवाले दिए योगेशलाई संविधान पढ्न सुझाव

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
ntv.JPG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सचिव योगेश भट्टराईलाई नेपालको संविधान राम्ररी पढ्न सुझाव दिएका छन् ।  

नेपाल टेलिभिजनको ३३औँ वार्षिकोत्सवको अवसरमा बुधवार एमालेका सचिव योगेश भट्टराईले सरकारले सत्ता हस्तान्तरणमा ढिलाइ गरिरहेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भट्टराईलाई नेपालको संविधान राम्ररी पढ्न आग्रह गरेका हुन् ।

देउवाले  चुनाव गराउने उद्देश्यले आफ्नो नेतृत्वको सरकार गठन भएको र राष्ट्रियसभाको चुनाव अझै नसकिएकाले सत्ता हस्तान्तरण हुन नसकेको बताए ।  उनले भने, “राष्ट्रियसभाको निर्वाचनमा कतिजना महिला जितेर आउँछन्, त्यही अनुपातमा दलहरुले संघीय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्‍याउनैपर्ने कानूनी बाध्यता छ, राष्ट्रियसभाको निर्वाचन नगराई अर्को सरकार गठन गर्नु असंवैधानिक हुन्छ ।” राष्ट्रियसभाको निर्वाचन गराउनु आफ्नो बाध्यता भएको पनि प्रधानमन्त्री देउवाले बताए  ।

उनले एनटिभीले आफूलाई समयानुकूल परिमार्जन र परिस्कृत गर्दै देशको जेठो र पाको टेलिभिजनको रुपमा उभ्यान सफल हुनु सबैको लागि गर्वको विषय भएको बताए । उनले भने, “विश्वमा टेलिभिजन स्थापना भएको ५० वर्षपछिमात्रै नेपालमा पहिलो टेलिभिजनको रुपमा स्थापना भएको नेपाल टेलिभिजनले शैशव, युवा हुँदै ३३ वर्षको परिपक्व सञ्चारमाध्यमको रुपमा आफूलाई उभ्याउन सफल भएको छ, यही अवधिमा एनटिभी, एनटिभी प्लस, एनटिभी न्यूज र एनटिभी कोहलपुर गरी चार वटा प्रशारण शुरु गर्नु गर्वको कुरा हो ।”

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संघीयताको ढाँचाअनुरुप नेपाल टेलिभिजनलाई पनि ढाल्दै जानु आजको आवश्यकता रहको भन्दै त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए ।

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाल टेलिभिजनले जनतालाई सचेत र सुसूचित गर्दै लोकतन्त्र र सामाजिक न्यायका पक्षमा संगठित गर्न खेलेको भूमिका अग्रणी रहेको बताए ।

नेपाल टेलिभिजनका अध्यक्ष महेशराज दाहालले टेलिभिजनलाई आगामी साउनबाट ‘एचडी’ प्रविधिमा जाने गरी काम अघि बढाएको जानकारी दिए ।

नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले स्याटेलाईटबाट १४८ मुलुकमा नेपाल टेलिभिजन हेर्न सकिने र देशको ७२ प्रतिशत जनतासम्म यसको पहुँच पुगेको जानकारी दिए ।

कार्यक्रममा २० र ३० वर्षे दीर्घ सेवा पदक प्राप्त गर्ने, स्थानीय समाचारदाता, कार्यक्रम सञ्चालक, उत्कृष्ट काम गर्ने कर्मचारीलगायतलाई पुरस्कृत र सम्मानित गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ