गलत समयमा स्वराजको भ्रमण : तर जमाना उल्टिगयो, दिल्ली नेपाल धाउन थाल्यो (सनसनीपूर्ण अन्तर्वार्ता)

प्रकाशित मिति : २०७४ माघ १७ बुधबार , १५९,९०० पटक हेरिएको

भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले विहिबारबाट नेपालको २ दिने भ्रमण गर्दै छिन् ।  ‘प्रधानमन्त्री चयन भइसकेपछि स्वराजको नेपाल भ्रमण भए सबभन्दा राम्रो हुन्थ्यो । राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छैन, यद्यपि अहिले सरकार बन्ने प्रकृयामा रहेको स्वराजको नेपाल भ्रमण त्यत्ति राम्रो होइन, तथापि केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिइसकेको हुनाले राजनीतिक समझदारी बढाउन भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई सकरात्मक रुपमा लिन सकिन्छ’ –परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भनेका छन् । हामीले परराष्ट्रविद श्रेष्ठसँग कुराकानी गरेका छौँ ।

० भारतीय प्रधानमन्त्री मोदीले नेपालका तीनै नेतासँग फोनमा भलाकुसारी गर्नुभयो । यसले के संकेत गर्छ ?
– पहिले दिल्लीमा कूटनीतिक परिचालन गरेर प्रधानमन्त्री भारत भ्रमण जान्थे, यसपटक नेपाली जनताले वाम गठबन्धनलाई जिताए । चुनाव सम्पन्न गरेकोमा शेरबहादुर देउवालाई धन्यवाद दिनैपर्छ । नेपालसँगको सम्बन्धमा माइक्रोम्यानेजमेन्ट भारतले गर्न खोज्थ्यो । तर अहिले नेपालले दिल्ली धाउनको सट्टा दिल्ली नेपाल धाउन थाल्यो । यसलाई नाकाबन्दीपछि भारतले छवी सुधार गर्न थाल्यो । कर्मचारीको जिम्मा नछोड्ने र राजनीतिक तहमै जाने उसको सोंच हो । आफुलाई सच्याएर नयाँ सरकारसँग काम गर्ने रणनीति हो ।

० राजनीतिक तहबाटै सम्बन्ध बढाउने भनेको के ? फेरि यहाँको वातावरण विगार्न खोजेको ?
–नजिकको छिमेकी भएकाले नजिकबाटै गतिविधि बुझ्ने चाहाना राखेको हो । तर, दुतावास र र’अ कर्मचारीबाट पार लागेन । त्यो सम्बन्ध गतिलो भएन । अब राजनीतिक तहमै राम्रो समझ्दारी राख्नु पर्छ र अन्तर्राष्ट्रिय क्षेत्री सम्बन्धमा नयाँ गति दिनलाई सबै समझादारी आवश्यक छ भनेर सुरु गरेको अभ्यास हो । पहिलेको गल्ति सच्याउन खोजेको र कर्मचारीको निर्भरतालाई घटाउन खोजेको हो । नेपालमा उत्तर र पश्चिमी देशहरु सक्रिय भएको बेला पहिलो पत्यक्ष जानकारी भारतले आफैले राख्न खोजेको देखिन्छ ।

० भनेको,अब एजेण्टहरुलाई भारतले पत्याउन छोड्यो ?
–तल्लो तहको रिपोर्टमा भर परेर सम्बन्ध विस्तार गर्ने हो कि, माथिबाट राम्रो समझदारी गरेर त्यही अनुसारको निर्देशन दिएर कर्मचारीतन्त्रलाई पनि राजनीतिक नेतृत्वबाट हाँक्ने भारतको अबको अभ्यास हो । त्यो अभ्यास गर्न खोजेको देखिन्छ । पूरानो गल्ती सच्याउनतर्फ यसले सघाउँछ ।

० उसो भए सुष्मा स्वराजको भ्रमण के हो त ?
–सुष्मा स्वराजको जुन भ्रमण हुन लागेको छ । यो राजनीतिक भ्रमण हो । तर, यो भ्रमण प्रधानमन्त्रीको चयन भइसकेपछि भएको भए राम्रो हुने थियो । यो सरकार बन्ने प्रक्रियामा रहेको बेला राम्रो भएन । समय गलत भयो । राष्ट्रिय सभा माथिल्लो सदनको निर्वाचन नै सकिएको छैन । त्यो त्यति उपयुक्त होइन । तथापी दुई वटा कुरा छ । एउटा मोदीले ओलीलाई भावी प्रधानमन्त्री भनेर बधाई दिइसकेको हुनाले नयाँ सरकार बन्ने बेलामा राजनीतिक समझदारी बढाऔँ भन्ने सोंच हो । जसलाई सकारात्मक मान्नु पर्छ ।

० स्वराजको भ्रमणले नेपालको सरकार गठनमा असर वा अर्थ राख्छ ?
–सरकार वाम गठबन्धनले बनाउँदै छ । जनताको मत वाम एकता हुन्छ । स्थिरता कायम हुन्छ भन्नेतिरै छ । जनताको म्यान्डेट नाघेर जाने अवस्था नेपालभित्र छैन । त्यसैले जो बन्छ त्यसैसँग राम्रो सम्बन्ध बनाउने भन्ने हो । जस्तो चीनले जहिले पनि जसको सरकार आयो उसँग राम्रै सम्बन्ध राख्छ । भारतले पनि जो सरकार नेपाली जनताले बनाउँछ, त्योसँग राम्रो सम्बन्ध राख्ने अभ्यास सुरु गरेको भन्न मिल्छ । त्यसका लागि उसले हामी आफै आएर कुरा गर्छौँ भनेर पहल गरेको देखियो ।

० मोदी र ओलीको फोन वार्ता आइसब्रेक हो ?
–नजिकको छिमेकी हो । ओली, देउवा, प्रचण्ड तीन जनाले नचिनेको व्यक्ति होइन । मोदीले उहाँहरुको स्ट्रेन्थ हेरिसकेको पनि हो । दुवैतिरका अडान र कमजोरी दुवैतिर थाहा छ । थुवै थरीले एक अर्काको चासोलाई कसरी सम्बोधन गर्ने भनेर सोच्नु त आवश्यक नै छ नि ! किन भने, छिमेकी त छोड्न सकिँदैन । जो छिमेकी छ त्यहीसँग काम चलाउने हो । हुनसक्नेजति राम्रो सम्बन्धका लागि प्रयास गर्ने हो । त्यो दुवैतर्फबाट गर्नुपर्छ, त्यसअर्थ सुष्माजी नेपाल आउनु भनेको पहल भारत आफैले गरेको भन्ने बुझ्नु पर्दछ ।

० उसो भए, अब आउँदो दिनमा नेपाल र भारतको सम्बन्धबारे नेतृत्व तहमै कुराकानी हुने संस्कार सुरु भयो भन्न मिल्छ ?
–अवश्य । किन भने, मोदीको विशेष दूत भएर भारतको बाह्यमामिला मन्त्रीनै आउँदै हुनुहुन्छ । त्यसअर्थ व्यूरोक्रेसीमा निर्भर रहनुभन्दा प्रत्यक्ष नेतृत्व–नेतृत्वबीचमा समझ्दारी बढाउने हो । तब, स्तर पनि मिल्छ । सुरुमै भ्रम वा मिसअण्डरस्ट्याण्डिङ नहोस् भनेर नयाँ सरकारसँग नयाँ सिराले काम अघि बढाऔँ भन्ने सोंच राखेको देखिन्छ ।

० भित्रि कुरा के हो, यसमा शंका गर्ने ठाउँ छैन ?
– शंका भनेर अहिलेको जमानामा गोप्य सन्धि सम्झौता गर्ने जमाना गइसक्यो । त्यति मात्रै नभई दुई देशको सम्बन्धमाअहिलेसम्मका सबै सन्धि सम्झौताहरु रिभ्यू भएर एकाशौँ सताब्दी सुहाउँदो नयाँ सम्बन्ध बनाउने कुरा ईपीजीले गरिरहेको छ । चुनाव अघि भएका ईपीजी छलफलले पनि भारत नेपालप्रति बढी सकारात्मक देखियो । त्यो कुरा भेषबहादुर जीहरुले पनि बताइरहनु भएको छ । सुष्माजी तत्काल आउँदै हुनुहुन्छ । आफुभन्दा मुनिका व्यक्ति आउन लागेको होइन । हामी भन्दा ठूलो मुलुक हो । छिमेकी हो । आफै आएर भेटघाट गर्ने जुन संकेत छ । भारतको सुरक्षाको हितविरुद्ध आफुहरु जाँदैनौ भनिएको छ । दुवै मुलुक हाम्रा छिमेकी हुन् । सन्तुलित सम्बन्ध हुन आवश्यक छ । समनिकटता कायम गर्र्छौँ भनेर चुनावी घोषणपत्रमा पनि दलहरुले भनेका छन् भने अब सरकारमा आउने दलले चुनाव पछि पनि त्यो भनेका छन् । अब व्यवहारिक रुपमा जाने कुरामा पनि परस्परको विश्वास टुट्न नदिई प्रष्ट चित्रका साथ अघि बढ्ने भनिसकिएको छ । यो अब सम्वादको थालनी पनि हो ।

० भारतले गहिरो चासो दिइरहनुको अर्थ भावी सरकार चीनतिर बढी सम्बन्ध गाँस्न सक्छ भन्ने त्रास हो ?
–प्रष्टै छ । बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईमा जाने कुरामा कस्ले रोक्न सक्यो ? बंगलादेश गयो, श्रीलंका गयो, माल्दिभ्स गयो, अफगानिस्तान भयो । सबै छिमेकी गए नि । भुटान समेत गयो । भुटान जस्तो आफ्नो माटो त भारतले राख्न सकेन, यो एउटा कुरा भो । दोस्रो चीनसँग पनि अभ्यास भयो । ज्वाइन्ट, अमेरिकासँग पनि भयो । भारतसँग धेरै पटक भयो । चिनसँग नबनोस् भनेको त्यो पनि उसले छेक्न सकेन । भुटानजस्तो आफ्नो खल्तीभित्रको देश त बीआरआईमा गयो । तर, पाकिस्तान जस्तो सम्बन्ध नेपाल राख्न चाहँदैन, भारतले पनि राख्न चाहँदैन । त्यसैले अहिले हामी बीचको बाटो भुटान जस्तो खल्तीभित्रको देश होइन र, पाकिस्तानजस्तो द्वन्द्वमा जाने देश पनि होइन । कस्तो भने, बंगलादेश, श्रीलंका, अफगानिस्तान जसरी दुई ठूला शक्तिलाई गुमाउन चाहँदैन नेपाल । त्यसरी बीचको बाटोबाट जाने हो ।

० स्वराजको भ्रमणमा नेपाल कति चनाखो हुनु पर्छ ?
–नेपालले ५० को सन्धि गर्दा पञ्चशील जन्मिएको थिएन । १९५५ को सम्मेलन सकिएपछि मात्रै त्यो अघि आएको हो । अब हाम्रो सम्बन्धको आधार पञ्चशीलन नै हुनु पर्छ । स्वतन्त्रता र सार्वभौमतालाई सम्मान गर्दै अघि बढ्नु पर्छ । ठूला वा साना भन्ने हुँदैन । समानताको सिद्धान्त एउटा कुरा, दोसं्रो कुरा हाम्रो भू–राजनीतिले गर्दा भारतकोविरुद्ध हाम्रो भूमिको प्रयोग गर्न दिन्नम् । खुला सीमानाको दुरुपयो गर्न खोजियो भने त्यो हामी रोक्छौँ । त्यो हामीले पूरा एस्योर गर्नु पर्छ । हस्तक्षेप हामी गर्न दिँदैनौँ । अर्कोतिर चीनको पनि सुरक्षा चाँसो छ । कुनै पनि गतिविधि नेपालबाट नहोस् भनेर । त्यसैले समनिकटता र सुन्तुलन कायम गर्नै पर्छ । हाम्रो सुरक्षा क्षमता यसरी बढाउनु पर्छ, कि आफ्नो राष्ट्रिय सुरक्षा हेर्ने पहिलो र अर्को छिमेकीका विरुद्ध हुने गतिविधि रोक्नुपर्छ । त्यो क्षमता बढाउनुपर्छ । एक अर्काविरुद्धका गतिविधि नगर्ने कुरा मन, बचन र कर्मले पालना गर्नै पर्छ ।  

नयाँ