arrow

स्वराज आउँदैः नेपालमा तरंग, सरकार अचम्म, एमाले दंग

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
susma-sworaj-new.jpg.jpeg

काठमाडौं। नेपालीमा एउटा भनाइ नै छ ‘दिल्लीमा पानी परे काठमाडौंको मौंसम बिग्रन्छ।’ हिजोआजको काठमाडौंको मौसम पनि त्यस्तै भइरहेको छ। भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहिबार दिउँसो काठमाडौं उत्रदैछिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर नयाँ सरकार गठन हुनु अगाडि नै स्वराजको सवारी चल्दा नेपाली राजनीतिमा तरंग छाएको छ। 

दुई दिने नेपाल भ्रमणका क्रममा स्वराज आउँदा सबैभन्दा अचम्म त नेपाली काँग्रेस नेतृत्वको सरकार बखबर रह्यो। गत सोमबार भारतीय विदेश मन्त्रालयले स्वराजले नेपालको दुई दिने भ्रमण गर्ने विज्ञप्ति जारी गर्दा सरकारलाई अत्तोपत्तो छैन। नेपालको परराष्ट्र मन्त्रालयले बुधबार दिउँसोमात्र स्वराज आउने औपचारिक जानकारी गरायो। परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीसँग स्वराजको भेट हुने कुरा पुष्टि गरे पनि अन्य केही खुलाएको छैन।

स्वराजको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली हुनेछ। टोलीमा समावेश हुने कूटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको बुझ्न गाह्रो छैन। 


स्वागतमा को ? 
बिहिबार दिउँसो साढे ३ बजे विदेशमन्त्री स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई विमानस्थलमा परराष्ट« सचिव शंकरदास बैरागी र भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नेछन्। यसअघि कुनै न कुनै मन्त्री स्वागतमा जाने गरेकामा यसपटक कर्मचारीले स्वागत गर्दैछन्। यसबाट स्पष्टै हुन्छ कि वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार स्वराजका विषयमा कति नजिक छ। यसबाट कर्मचारी प्रशासन सक्रिय भएको भन्नेमात्र देखाउँदैन कि कामचलाउ सरकार भन्दा पनि आगामी सरकारलाई महत्व दिएको स्पष्टै हुन्छ। 

परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वराज नेपाल आउनु भन्दा केही समय अगाडि मात्र कार्यक्रमबारे औपचारिक जानकारी जनाउन लागेको स्रोत जनाउँछ। यसले अहिलेको सरकारलाई भारतले दिइएको प्राथमिकता र कर्मचारीहरुको मनस्थिति पनि छर्लंगै हुन्छ। 

के गर्छिन् स्वराजले ? 
परराष्ट्र मन्त्रालयले औपचारिक रुपले राष्ट्रपछि विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवालाई भेट्ने जनाए पनि स्वराज नेपाल आउनुको उद्धेश्य स्पष्ट भइसकेको छ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीले तत्कालीन सरकारले तनाव भोगे पनि त्यसको भरथेग र केही आन्तरिक मिलानसंगै बाम गठबन्धनको काँध थाप्न स्वराजको भ्रमण भइरहेको उच्च स्रोत बताउँछ। स्वराजले तत्कालीन समयमा भारतीय संसदमै भनेकी थिइन् ‘हामीले भनेको मानेनन् नाकाबन्दी भयो।’ अहिले फेरि स्वराजले अबका प्रधानमन्त्रीलाई के काम लगाउने हुन् र त्यो माने भने नाकाबन्दी लाग्ने छैन र मानेनन् भने समग्र नेपालीले दुःख पाउने छन्। यहाँबाट स्पष्ट हुन्छ भारतको दादागिरी। अझै पनि भारत दाइगिरीमा चलेको छ।

भारतले जे चाह्यो त्यही गर्न सक्छ भन्ने उदाहरण पनि हो स्वराजको भ्रमण। त्यसो त स्वराजले बिहिबार साँझ नै ओलीको रात्रीभोजमा सहभागीता जनाउँदैछिन्। प्रधानमन्त्री देउवासंगको भेटको कार्यक्रम भने शुक्रबार मात्र हुनेछ। मन्त्रालय स्तरीय केही औपचारिकता देउवाले निभाउने छन्। अहिलेको सरकारसंग खासै सरोकार नभएकाले पनि त्यो केवल औपचारिक नै हुनेछ।

त्यसैले स्वराजको भ्रमणको प्रमुख उद्देश्य वाम गठबन्धनसँग सम्बन्ध सुधार र सहकार्य नै हो। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै मधेसी दलका नेताहरुसंग पनि भेट्ने छिन्। बाम गठबन्धनको सरकार बन्ने पक्का भएपछि भारतको प्राथमिकता बाम नेताहरुलाई फकाउने नै रहेको छ। संविधान जारी गर्ने बेलामा नेपाल आएर संविधान जारी नगर्न दबाब दिए पनि तत्कालीन नेपाली काँग्रेसका प्रधानमन्त्री सुशील कोइरालाले अस्थिरता हटाउने विकल्प नै संविधान हो भनेर संविधान जारी गरेका थिए। 

त्यस उप्रान्त भारतले काँग्रेसलाई बढी प्राथमिकता दिँदैन। देउवा सरकारलाई दिएको समर्थन केवल औपचारिक मात्र थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवा सरकारलाई स्वराजको भ्रमणबारे जानकारी गराएनन्। उनले सीधै केपी ओलीलाई टेलिफोन गरेर माघ ७ गते नै जानकारी गराएका थिए। 

ओलीप्रति तेर्सियो प्रश्न !

ओली बहुमतको सरकार बनाउन तयार छन्। जनताले म्यान्डेट दिइसकेका छन्। तर सरकारमा जानु अगाडि नै भारतसंग प्रत्यक्ष ‘डिल’ गर्न खोज्नु यो कत्तिको उचित हो ? देउवाले भारतमा गएर नेपालको राजनीतिका बारेमा कुरा गरेको भन्दै आलोचना गर्ने सिंगो बाम गठबन्धनले अहिले लिन थालेको आशीर्वादले के जनाउँछ ?  के जनताले ०७२ सालमा भूकम्पले थलिएका बेलामा भारतले लगाएको नाकाबन्दी भुल्ने ? के ओलीले भारतको आशीर्वाद पाएपछि पुग्छ ? के उनले नेपाली जनतालाई यसको जवाफ दिन नपर्ला ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ