arrow

प्रदेश १ को कार्यालय भवन मर्मतका लागि मात्रै सात करोड खर्च ?

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार

पथरी । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ । 

प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए । 

प्रदेश नं १ को अस्थायी राजधानीको संरचना मर्मतका लागि राज्यले सात करोड बजेट विनियोजन गरेको हो । 

कार्यालय प्रमुख सिंहले दिएको जानकारीअनुसार विनियोजित बजेट मध्येबाट रु पाँच करोड कार्यालय मर्मत–सम्भार शीर्षकमा आएको हो । 

मन्त्रालयको फर्निचरका लागि रु एक करोड ५० लाख, तथा कम्पाउण्ड, पार्किङलगायत बाहिरी संरचना मर्मतका लागि रु एक करोड बजेट आएको छ । मोरङका प्रजिअ रामप्रसाद आचार्यका अनुसार आएको बजेटबाट कार्यालय मर्मतको काम शुरु गरिएको हो । 

आचार्यका अनुसार मन्त्रालय रहने भवनमा रहेका सरकारी अड्डाको व्यवस्थापनको काम पनि शुरु गरिएको छ । 

मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिव रहने क्षेत्रीय कृषि कार्यालयलाई भुइँतल्लामा सारिने बताइएको छ । पहिलो र दोस्रो तल्ला प्रदेश सचिव र मुख्यमन्त्रीका लागि छुट्याइएको हो । पूर्वान्चल क्षेत्रीय पशुसेवा कार्यालय जिल्लामा सार्ने तयारी गरिएको आचार्यको भनाइ छ । 

उनका अनुसार प्रदेश प्रमुखको कार्यालय सार्नेगरी क्षेत्रीय वन निर्देशनालयको भवन खाली गरिएको हो । 

प्रदेशको अस्थायी मुकाम घोषणापछि क्षेत्रीय पशुसेवा कार्यालयमा प्रदेश प्रमुखको कार्यालय राखिएको थियो । तर सो भवन सानो भएपछि प्रदेश प्रमुखको कार्यालयलाई क्षेत्रीय वन निर्देशनालयमा सार्न लागिएको छ । 

प्रदेश प्रमुखका लागि क्षेत्रीय वन कार्यालयको दोस्रो र तेस्रो तला खाली गरिएको छ । पूर्व क्षेत्रीय वनको कार्यालय भुइँतल्लामा राखिने बताइएको छ । 

त्यस्तै, मुख्यमन्त्री रहने क्षेत्रीय कृषि निर्देशनालयको कामकाज पनि भुइँतल्लाबाट शुरु गरिएको छ । प्रजिअ आचार्यका अनुसार प्रदेश सभा बैठक बस्ने जिल्ला समन्वय समितिको कार्यालय तेस्रो तल्लामा सारिनेछ । 

प्रदेश सभाको पहिलो बैठक यही माघ २२ गते बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ