arrow

देउवाको काँग्रेस जोड्ने बोली ‘काँग्रेस हारेको छैन र कहिल्यै हार्दैन, सिद्धान्त र आदर्श हार्दैन’

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
Sher-Bahadur-Deuba-1.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस पार्टी कहिल्यै नहार्ने बताएका छन् । नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेलालाई बिहिबार सम्बोधन गर्दै उनले “काँग्रेस हारेको छैन र कहिल्यै हार्दैन, सिद्धान्त र आदर्श हार्दैन, पार्टीका उम्मेदवार चाहिँ हारेका छन्, यस सम्बन्धमा छिट्टै नै केन्द्रीय समितिमा छलफल गर्नेछु,” भने ।

सभापति देउवाले सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको उल्लेख गर्दै त्यही सिद्धान्त र विचारलाई व्यापक जनतामाझ लगेर पार्टीलाई अझ बलियो बनाई भविष्यमा कहिल्यै नहार्ने गरी लैजानुपर्छ भने । 

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन क्षेत्र नै भएकाले यसको प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । 

उनले पार्टीमा जातीय आधारमा भातृ संस्था बनाउनेभन्दा पनि व्यावसायिक संस्थालाई पार्टीको शुभेच्छुक संस्था बनाएको खण्डमा पार्टी स्वस्थ्य र बलियो हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको र त्यसका लागि बजेट विनियोजन भई काम शुरु भइसकेको जानकारी दिए । 

उनले भने, “पर्यटकको सुविधालाई मध्यनजर गरी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरिसकेको र चाँडै नै यो कार्यान्वयमा आउनेछ ।” 

मन्त्री बस्नेतले यसबाट आरोहणका क्रममा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

पूर्वमन्त्री दीपक खड्काले समग्र काँग्रेसलाई पुनर्ताजगी दिलाउन पर्यटन व्यवसायीको पहल सकारात्मक भएको उल्लेख गरे । 

संघका अध्यक्ष दीपक महतले काँग्रेसका भ्रातृ संस्थाको पुनर्जागरण गराउन र पर्यटन व्यवसायमा आबद्ध शुभेच्छुक संस्थामा ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा काँग्रेसकातर्फबाट विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री, पार्टीका केन्द्रीय सदस्य, सांसद तथा भ्रातृ संस्थाका प्रतिनिधिको सहभागिता थियो । 

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न पर्यटन व्यवसायीलाई सम्मान गर्नुका साथै पत्रकार अशोक सिलवाललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ