arrow

पाल्पामा लोप हुँदै पौष्टिक अन्न कोदो

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ माघ १९ शुक्रबार
kodo.JPG

पाल्पा । पछिल्लो समय  पाल्पाका किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको छ । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले  बीउसम्म पाउन मुस्किल भएको माथागडी गाउँपालिका झडेवाका लोक बहादुर घर्तीले बताउँछन् । कोदो बालीप्रति किसानको आकर्षण घटेकाले यस्तो स्थिती सिर्जना भएको उनको भनाइ छ । कोदो खेती गर्दा धेरै मलजल र गोडमेल गर्नु पर्दैन । गाँउघरमा कोदोको महत्व नबुझदा यो अन्नलाई गरिबले खाने भन्दै घृणाको रुपमा हेरिने घर्तीले बताए ।  

   आधादशक अघि सम्म बग्नासकाली गाउँपालिका खानीगाउँका डोलराज बश्यालको बारीमा प्रशस्तै कोदो फल्थ्यो  तर अहिले  गाउँमा यसको बीउ सम्म पनि पाउन मुस्किल पर्न थाले पछि यसको  कम खेती गर्न थालेका छन् । उनी मात्र होइन उनी जस्ता थुप्रै किसानहरुको मुख्य वाली नै कोदो थियो । तर आज तिनै कृषकले कोदो खेतीलाई जसो तसो निरन्तरता मात्र दिएका छन् ।

परम्परागत खेती र पुरानै वाली कोदोखेती जिल्लाका विस भन्दा बढी गाउँका किसानहरुको मुख्य खाद्यान्न वाली थियो । तर तिनै पुराना किसानको घरमा आजभोली कोदो खेती कम हुदै गएको छ ।  औषधिका रुपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रुपमा लगाईने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको स्थानीय किसानहरु बताउँछन् । किसानले विस्तारै खेती गर्न छाडेपछि गाउँमा कोदो अभाव हुँदै गएको हो ।

कोदो अन्य बाली भन्दा स्वस्थकर वा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ । सहरीकरणसँगै मानिसमा अल्छिपना बढ्दै गएको छ ।  कम मेहनत उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बाली भित्र पर्ने भए पनि पोषिलो कोदोको  पछिल्लो समयमा खाद्यान्नमा  भन्दा अन्यत्र प्रयोग वढी हुन लागेकाले पनि पुरनो वाली तथा खेती लोप हुने अवस्थामा पुगेको  तिनाउ  गाउँपालिकाका मिन बहादुर गाहाले बताउँछन् ।

परम्परागत शैलीमा स्थानिय जातको विउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्राय जसो  जिल्लाका सबै गाउँ वस्तीमा हुन्थ्यो तर आजभोली सबै हराए । खाद्यान्नका लागि आटो , ढिडो , रोटीका रुपमा प्रयोग गरिथ्यो तर आजभोली त्यही कोदोलाई मदिरा बनाउन प्रयोग गरेका कारण विउ नै हराउने अवस्थामा पुगेको  गाहा बताउँछन् ।

गाउँघरमा हेपिएको कोदो अहिले सहरबजारतिर खोजीखोजी खाना थालिएको छ । किसानले यसको महत्व थाहा नपाउँदा र काम गर्न अल्छीले खेती गर्न छाडेकाले हिजो आज आफ्रनै खेतवारीमा फलाउन  सकिने कोदो किनेर खानुपर्ने अवस्था रहेको छ ।

 सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँ लगायत अन्न भित्रिन थालेपछि  पोसिलो कोदो , फापर, जौँ जस्ता स्थानीय अन्नप्रतिको आकर्षण घट्दै गएको हो । स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको संक्रमण बढ्न थालेको छ । धान , गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठ बताउँछन् ।

जिल्लाको निस्दी गाउँपालिकाको मित्याल क्षेत्रलाई कोदो खेतीको पकेट क्षेत्रको रुपमा लिएकाले  कार्यलयले  प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्र्तगत बीउबिजन, मेसिनरी औजारहरु उपलब्ध गराउदैँ आएकोले पनि  केही मात्रामा कोदो खेती गर्ने गरेको अधिकृत श्रेष्ठले बताए । उनले भने अन्य स्थानका किसानहरु भने यस खेती तर्फ कम आर्कर्षित भएको बताए । कार्यालयका अनुसार  २ हजार ५ सय ३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । जिल्लाका बल्डेङगढी,सत्यवती, जुठा,कचल,मित्याल, खानीगाउँ लगायत क्षेत्रका किसानहरुले  कोदो खेती गर्दै आएको कार्यालयले जनाएको छ  ।
 
विगत चार बर्ष अघि  जिल्ला कृषि विकास कार्यालयले कोदो खेती विस्तार गर्ने कार्यक्रम त बनायो तर त्यसलाई कागजमा मात्रै सिमित बनायो । जसले गर्दा हराउदै गएको खेती जर्गेना हुनुको सट्टा हराउदै गयो । पछिल्लो समय स्थानिय तहमा कृषिको वजेट , कार्यक्रम गएकोले त्यसको सम्भाव्यता अध्ययन गरी कार्यक्रम बनाउने काम स्थानिय तहको भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधीकहरु बताउछन् । कम सिचाइ , मल , मेहनत को प्रयोगले उत्पादन बढी लिन सकिने भएपनि यो खेतीको संरक्षण र जर्गेना गर्ने तर्फ  अब सम्वन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ