arrow

स्वराज भेट ‘कुटनीतिक मर्यादा विपरीत’, ओली आलोचनाको पात्र

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
oli-sworaj_meet.JPG

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमण पूरा गरेर फर्किएकी छन् । तर, उनको भ्रमणको विषयलाई लिएर उठिरहेका टिका टिप्पणीहरु सेलाएका छैनन् ।स्वराजको भ्रमणका क्रममा भएका घेटघाट कुटनीतिक मर्यादा अनुसार नभएको भन्दै टिप्पणी भएको छ ।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।

पूर्वराजदूत उपाध्यायले, ‘ओलीले निमन्त्रणा गरेको बताइएपनि आउनुपूर्व न भारतले भन्यो न ओलीले सरकारलाई जानकारी गराए । बहालवाला मन्त्री आउँदा सरकार वा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनु पर्छ कि पर्दैन । भेटघाटको कार्यक्रम मिलाउँदा पनि कुटनीतिक मर्यादा अनुसार हुनु पर्दथ्यो । मर्यादा विपरीत भएका भेटघाटले अन्ततः नेपाललाई हानी पुग्छ ।’

पूर्वराजदूत उपाध्यायले विदेशमन्त्री स्वराजसँगको भेटघाट पनि कुटनीतिक फ्रेमभित्र नरहेको बताएका छन् । दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज कसको निमन्त्रणामा नेपाल आएको हो भन्ने नै स्पष्ट नभएको उपाध्यायले बताए । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले हाम्राकुरासँगको कुराकानीमा सरकारले नै बोलाएको बताएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको संयुक्त बैठकमा स्वराजलाई आफूले बोलाएको भनेका थिए ।

अहिले परराष्ट्रमन्त्रीको जिम्ममा प्रधानमन्त्री शेरबहादुर देउवा आफैले लिएका छन् । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसँग कुनै सल्लाह नभएकोप्रति इंगित गर्दै उपाध्यायले भने, “भारतीय प्रधानमन्त्री मोदीलाई आउनूपूर्व र फर्केपछि ब्रिफिङ हुन्छ तर नेपालमा त्यो देख्न पाइएन ।’’

स्वराजको भ्रमण सरकार अथवा ओलीको कसको निमन्त्रणामा भएको भन्ने पारदर्शी रुपमा नदेखिएको उनको भनाई छ । कुटनीतिक फ्रेममा नपरेका विगतका घटनाबाट नेपालले पाठ सिक्न नसकेको पनि उनले टिप्पणी गरेका छन् । उनले पहिलो भेटनै अहिले सत्ताको विपक्षमा रहेको दलका नेताले गरेको भन्दै यो उल्टो हुन गएको बताए । उपाध्यायका अनुसार पहिले राष्ट्र प्रमुख वा संवैधानिक निकायका प्रमुखहरुसँग हुनुपर्ने थियो ।

परराष्ट्र मन्त्रालयका सह–प्रवक्ता रामबाकु ढकाल भन्छन्, ‘भ्रमण के हो र उल्टो भयो या सुल्टो भन्नेबारे हामी केही भन्दैनौँ । तर, हामीलाई भ्रमणमा आउने तीन–चार दिन अघि जानकारी आएको थियो । हामीले भेट गर्ने निकायमा समयमै जानकारी दिएका थियौँ ।’

उनका अनुसार यहाँका राष्ट्राध्यक्ष र सरकार प्रमुखको समय मिलाउँदा शुक्रबारको मात्रै मिल्न गयो यसलाई अन्यथा लिनु हुँदैन । यहाँ पनि उच्च पदस्थ पदाधिकारीको व्यस्तता हुन्छ, उनले भने, ‘उहाँहरुको समय अनुकुल पनि त मिलाउनु पर्ने हुन्छ ।’

ओली आलोचनाको पात्र
विहिबार भारतीय विदेशमन्त्री आएकै दिन आफ्नो निवासमा बसेको पार्टी एकता संयोजन समिति बैठकमा एमाले अध्यक्ष एवं भावी प्रधानमन्त्री भनिएका केपी ओलीले मैले नै स्वराजलाई बोलाएको हुँ भनि दिए ।

सहयात्री माओवादीले आउनु भन्दा अघि नै आलोचना गरेको थियो। अहिले ओलीले सरकारलाई जानकारी नदिई भेटको कार्यक्रम तय गरेको र आफैले पहिले भेटेको तथा बहालवाला प्रधानमन्त्री जस्तै गरी भेट दिएको भन्दै आलोचना भएको छ ।

उच्च ओहोदामा बसिसकेका व्यक्तिहरु देश बाहिर निस्कँदा समेत परराष्ट्रलाई जानकारी गराउनु पर्ने नियम छ। तर, भारतीय विदेशमन्त्री बोलाएकोबारे र भेटघाटको कार्यक्रम मिलाएकोबारे जानकारी नदिनु मर्यादा विपरीत भएको बताइँदै छ। अर्कोतिर भारतीय दूतावासले गर्ने कार्यक्रम एमाले आफैले गर्नुका पछाडि केही न केही लुकेको भन्दै शंका गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ