arrow

समर्पणको युगमा प्रवेश गर्दै प्रचण्ड

logo
प्रकाशित २०७४ माघ २० शनिबार
oli-prachanda.jpg

काठमाडौं। वामगठवन्धन गरेर चुनावमा गएका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र  एक हुने तयारी चलिरहँदा यसका अन्तर्यमा यि पार्टी भित्र आन्तरिक रुपमा जीत र हारको प्रसङग उठन थालेको छ। खासगरि पार्टी एकिकरण हुँदा एमाले भित्र कस्को जीत हुने र को वढी प्रभावशाली हुने भन्नेमा चर्चा हुन थालेको छ। माओवादी केन्द्रमा पनि पार्टी एकिकरण हुँदा कस्को जीत वा हार के हुन्छ भन्ने मसिनो चर्चा शुरु हुन थालेको छ। 

चुनाव अघी विभिन्न परिस्थितिमा एमाले र माओवादी सहकार्य गर्दै मैदानमा गए। पार्टी एकिकरण सम्मको एजेण्डा जनतामा लिएर गएका उनीहरुलाई त्यहि भरोसामा जनताले मत पनि दिएका थिए। दुई कम्युनिष्ट पार्टीहरु एक भएर जाँदा केन्द्रमा केन्द्रीय सरकार र ६ वटा प्रदेशमा प्रदेश सरकार वनाउने हैसियत पनि उनीहरुले राखे। राजनीतिक रुपमा पाएको यो सफलतासँगै पार्टीको आन्तरिक जीवनमा को वढी हावी भइरहेको छ भन्ने कुराले अहिले पार्टी एकिकरणको कुरालाई प्रभावित पारिरहेको छ। स्वयं दुबै पार्टीका अध्यक्षहरु पार्टी एकिकरणको पक्षमा सार्वजनिक रुपमा कुरा राखे पनि पार्टी भित्रको हैसियत आफ्नो के हुने भन्ने कुरामा चिन्तित रहेको देखिन्छ। खासगरि एमालेका अध्यक्ष केपी ओलीलाई भन्दा पनि माओवादीका अध्यक्ष प्रचण्डलाई यस कुराले धेरै चिन्तित तुल्याएको देखिएको छ। 

खासमा दुई पार्टी बीचको एकता भनिएपनि घटनाक्रम अब दुई पार्टीको एकता नभएर माओवादी केन्द्र एमालेमा विलय हुने अवस्थामा पुगेको छ। चुनावमा जाँदा माओवादीलाई ४० प्रतिशत दिएर वाँकी रहेको ६० मा अन्य साना दललाई समेत मनाएर टिकट वितरण गर्न राजी भएको एमाले चुनाव सकिएर पार्टी एकिकरण समितिको वैठक सम्म आइपुग्दा एमाले ७० र माओवादी ३० प्रतिशत भन्ने अवस्था सम्म आइपुग्यो। एमालेका जिम्मेवार नेताहरु अहिले पार्टी एकिकरणको भागबण्डामा माओवादी केन्द्रले ३० प्रतिशतको हाराहारीमा मात्र भूमिका पाउने बताउन थालेका छन्। दिन वित्दै जाँदा एमालेले आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको देखिन्छ भने माओवादीको परिस्थिति कमजोर बन्दै गइरहेको प्रष्ट देखिन्छ। 

चुनावको परिणाम सार्वजनिक भए लगत्तैदेखि संघीय फोरमसँग एमालेको वढ्दो निकटता र उसँग मिलेर प्रदेश नम्वर २ मा समेत सरकार बनाउन सकिनेसम्मको गृहकार्यमा माओवादीको संज्ञानमा नहुने कुरै थिएन। माओवादी र काँग्रेस विना पनि अन्य साना दललाई समेटेर सरकार बनाउन सकिने सम्मको गृहकार्य एमाले भित्र भएपछि प्रचण्ड दिनदिनै पार्टी एकताको राप अलापे पनि भित्रभित्रै त्यसप्रति सन्तुष्ट हुन नसकेको प्रतित हुन थालेको छ। पार्टी एकताको विपक्षमा नरहेको सन्देश नजाओस भनेर उनले सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेका छन्। जनमतको विपक्षमा नरहेको सन्देश नजाओस भनेर सन्देश दिन खोजेपनि पार्टी एकताले सबैभन्दा वढी घाटा आफूलाई र माओवादी केन्द्रलाई पर्ने भएपछि उनी हच्किएका छन्। 

पार्टी एकता हुँदै गर्दा सबैभन्दा बढी घाटा पर्ने भएपनि एकताको विरोधमा जान नसक्ने वाध्यतामा प्रचण्ड देखिएका छन्। उनले बरु प्रतिक्रियावादीहरु एकता भाड्न खोजेको आरोप लगाइरहेका छन्। भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल भ्रमणमा आएकै दिन काभ्रेपलाञ्चोकको एक कार्यक्रममा उनले प्रतिक्रियावादीहरुले जति वल गरेपनि एमाले र माओवादीको पार्टी एकता भएरै छाड्ने बताए। तर उनले भने जस्तै अवस्था भने अझै बन्न सकेको छैन। स्वराजको नेपाल भ्रमणको अन्तर्य जे भएपनि सतहमा यो भ्रमणले ओलीको उचाइ बढाएको छ। उनको ' वार्गेनिङ पावर ' बढाएको छ। उनको अगाडी अरु सबै  'लिलिपुट' देखिएका छन् । नाकावन्दी यता देखिएको उनको 'राष्ट्रवादी ' छवीसँगै भारतीय सरकार र संस्थापन पक्ष नेपाल सरकारलाई नै व्यवास्ता गर्दै कुटनीतिक सीमाहरुलाई नै नाघ्दै ओलीको निम्तामा आउनुले पक्कै उनको छवी र उचाइ दुबै वढाएको देखिन्छ। सँगै उनको साथमा रहेका प्रचण्डको उचाइ र दुवै तुलनात्मक रुपमा सानो देखिएको छ। साथमा आगामी प्रधानमन्त्रीको रुपमा वधाई पाइसकेका ओलीले दिल्लीको साथ पनि पाउने भएपछि प्रचण्ड आन्तरिकका साथै वाह्य रुपमा पनि कमजोर देखिएका छन्। उनको 'वार्गेनिङ पावर' यहि आएर कमजोर पनि भएको छ। साथमा उपेन्द्र यादवको जनाधिकार फोरम समेत एमालेसँग सहकार्यको लागि अगाडी आउनसक्ने अवस्था हुँदा त माओवादी थप रक्षात्मक अवस्थामा पुगेको छ। देखिने नदेखिने सबै घटनाक्रमका बीच सरकार गठन अघी नै पार्टी एकता हुने तयारी चलिरहँदा प्रचण्डका लागि पार्टी एकता ुखाउँ भने दिनभरीको शिकार नखाउँ भने कान्छा बाबुको अनुहारु जस्तो भएको छ। 

पार्टी एकतापछि पनि पार्टी अध्यक्ष केपी ओली नै हुने निश्चित जस्तै देखिएको छ। एमालेका नेताहरु अध्यक्ष छोडेर प्रधानमन्त्री लिने अवस्थामा छैनन। चुनाव लगत्तैका चर्चामा एक व्यक्ति एक पद भनिएपनि घटनाक्रमले ओलीले दुवै पद आफ्नै पोल्टामा राख्ने अवस्था सिर्जना भएको छ। एमालेको ठूलो पङति पार्टीको सत्ता माओवादीलाई सुम्पन चाहदैन। छोड्नुपर्दा सरकारको नेतृत्व छोड्न एमाले तयार पनि थियो। तर एमालेले आफ्नो पक्षमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यस्तो माहौल बनाएको छ की उसको अध्यक्ष ओली नै आगामी प्रधानमन्त्री भन्ने कुरामा सबै सहमत भएका देखिन्छन्। त्यो परिस्थितिसम्म पुर्‍याउन ओलीकै योजनामा महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुको भुमिका महत्वपूर्ण रहेको एमालेका संगठन बुझेकाहरु बताउँछन्। पार्टी एकता हँदा पनि दुवै पद एमालेले र एमालेका अध्यक्ष ओलीले पाउने वातावरण ओलीकै योजनामा पोखरेलको अगुवाइमा हुने पोखरेल निकटहरु बताउँछन्। यो अवस्था भनेको ओलीको जीत  मात्र नभइ एकताको नाममा माओवादी र प्रचण्डको ठूलो हार हुने वाहिर रहेका अन्य कम्युनिट घटक निकटका नेताहरु बताउन थालेका छन्। 

पार्टी एकताको नाममा प्रचण्डले सशस्त्र द्धन्दबाट आएको विरासतलाई एमालेको पाउमा लगेर वसाउँदै गर्दा यसको दीर्घकालिन असर माओवादीका आम कार्यकर्तामा पर्ने बुझाइ माओवादी भित्रै पनि छ। प्रचण्डले पनि यो नबुझेका भने होइनन। त्यसैले उनक सचिवालयकै एक सदस्यले केपी ओलीको प्रवृतीलाई वाह्र बर्ष ढुङग्रोमा  राखेको कुकुरको पुच्छरसँग तुलना गरेका थिए। त्यो चरित्रलाई उदाङगो पार्न कार्यकर्तालाई निर्देशन नै दिएका थिए। यो कुरा त्यहि समयमा आएको थियो जुन समयमा भारतसँग निकटता बढाउँदै ओली सुस्मा स्वराजलाई डीनर दिदै थिए। आँखा अगाडी यि सबै कुरा हुँदै गर्दा पनि फेरि पनि प्रचण्डलाई पछाडी फर्कने विलेप भने छैन। उनले प्रधानमन्त्री पाएपनि नपाएपनि एकिकरण पछिको अध्यक्ष पाएपनि नपाएपनि 'जनयुद्ध' को त्यो विरासतलाई विसाउने र क्रान्तिबाट यहाँसम्म आएको पार्टीलाई एमालेमा विलय गराउने अवस्थाबाट भाग्न सक्ने छैनन, जुन कुराको माओवादी भित्रका सच्चा माओवादीहरुले विरोध गर्दै वाहिरिन थालिसकेका छन्। उनले अन्य कुनै तेस्रो नामको पार्टी नै बनेपनि एमालेको अहिलेको नेतृत्वमा आफूलाई र पार्टीलाई विलय गराउनुको विकल्प छैन।

यो समर्पणको यात्रामा रहेका प्रचण्डलाई त्यहाँ रोक्न सक्ने हैसियतका कोहि नदेखिदा अबको उनको यात्रालाई एमालेका अहिलेका महासचिव ईश्वर पोखरेल लगायतको टीमले निर्देशित गर्नेछ । ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुइटै भएको अवस्थामा पनि पार्टी सञ्चालनको कार्यभार पनि प्रचण्डले नपाउने निश्चित छ। पार्टी  भित्रको सांगठनिक पकड र अकंगणितमा पनि कमजोर हुँदा प्रचण्ड भागमा परेको खानु र चित्त बुझाएर बस्नुको विकल्प उनीसँग रहने छैन। ओली प्रधानमन्त्री भएर गएको अवस्थामा पनि पोखरेल लगायतका एमाले टीम नै पार्टीको कार्यकारी हैसियतमा पार्टी सञ्चालनमा रहनेछन्। यो अवस्था चुनाव जीतेर आए पनि प्रचण्डका लागि समर्पणको युग र ओली,पोखरेल र एमालेका लागि विजयको यात्रासँगै युग शुरु हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ