arrow

प्रदेश ५ को पहिलो संसद् बैठक आइतवार, सबै तयारी पुरा

मन्त्रालयको लागी भवन छनोट पुरा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २० शनिबार
pradesh-5_sava_hall1.JPG

बुटवल ।  प्रदेश नम्बर पांचको संसद बैठक आईतबार (भोली) बस्दै छ । दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बैठक बस्नेछ । पहिलो संसद् बैठकलाई ऐतिहासिक बनाउन संसद सचिवालयले पछिल्लो पाँच दिनमा सम्पुर्ण काम पुरा गरेको छ ।

संसद् भवनभित्र राजनीतिक दलका आधारमा कुर्सी व्यवस्थापन गरिएको छ। संसद सचिवालयको रुपमा प्रयोग गरिएको बुटवल उद्योग वाणिज्य संघको भवन परिसर समेत रङरोगन र टायल लगाएर आकर्षक बनाईएको छ ।

भवन रङरोगन गरिएको छ । भवन बाहिर मिडिया सेन्टर निर्माण गरीएको छ । हलभित्र संसद्को कुर्सी पछाडि फलामे रेलिङ राखेर पत्रकार, पर्यवेक्षक र कर्मचारी राख्ने व्यवस्था मिलाइएको छ ।

प्रदेशको पहिलो बैठकको सर्वदलिय बैठक बसेर तय समेत गरिएको छ । कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेकाले राष्ट्रिय पार्टीका स्थानीय नेतृत्वको सर्वदलीय बैठकले पहिलो बैठकका कार्यसूची तय गरिएको छ ।

बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ। यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र माघ २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको छ। यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने संसद सचिवालयका सह सचिव सुरेन्द्र अर्यालले बताए ।

त्यसैगरी संसद्मा आन्तरिक मर्यादा पालकको भूमिकामा नेपाल प्रहरीबाट १५ मर्यादापालक खटिएका छन् । प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको नेतृत्वमा प्रहरीहरु मर्यादा पालकका खटिएका हुन । मर्यादापालकका लागि पुरुषलाई सेतो दौरासुरुवाल, कालोकोट र टोपी तथा महिलाका लागि साडी, चोलो र कालो कोटको पोशाक तय गरिएको बताइएको छ । संसद् अधिवेशनको सुरक्षाका लागि बाहिर करिब १५० प्रहरी खट्ने भएका छन । सभाकक्षभित्र मर्यादापालक र बाहिरपट्टिको सुरक्षा जाँचमा प्रहरी नै रहनेछन ।

मन्त्रालयको लागी भए भवन छनोट
प्रदेशको अस्थायी केन्द्र तोकिएपछि रूपन्देहीमा प्रदेशका विभिन्न कार्यालय स्थापना हुने भवनको करिब टुंगो लागेका छन् । प्रदेश नं ५ मा सात मन्त्रालयका लागि भवन व्यवस्थापन करिब टुंगिएर प्रदेश नं ५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ । जिल्लामा रहेका सरकारी भवनमध्येकै अत्याधुनिक छ तले श्रम कार्यालयको भवनमा चार मन्त्रालय स्थापना गरिएका छन् । उक्त भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ ।

उक्त भवनकोे चौथो र पाँचौं तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने प्रमुख सचिव शंकर पाठकले जानकारी दिए। मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिव, दुई सहसचिवसहित २१ कर्मचारी हुनेछन् । त्यस्तै मुख्यमन्त्रीको निवास राजश्व अनुसन्धानको भवन बुटवलमा व्यवस्थापन गरिएको प्रमुख सचिव पाठकले जानकारी दिए ।

मुख्यमन्त्री सहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय रहनेछन् । यस्तै सामाजिक विकास मन्त्रालय सीप विकास तालीम केन्द्रको भवन रामनगरमा तथा भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ ।

कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोत कार्यालय हाट बजारमा रहनेछ । मन्त्रालय व्यवस्थापनका लागि केही सचिवसमेत बुटवल आइसकेका छन् । रूपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ।

हालसम्म निवासको व्यवस्थापन नहुँदा प्रदेश प्रमुख उमाकान्त झा र सचिव सनतकुमार दुवाडी सडक डिभिजन अतिथिगृहमा बसिरहेका छन् ।  

सभामुख र छ मन्त्री सहित केही कर्मचारीका लागि भैरहवास्थित भैलभुजको कार्यालयमा आवासको व्यवस्थापन गरिनेछ । यस्तै उद्योग वाणिज्य संघको सचिवालय भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको छ। उक्त भवनको पहिलो तलामा सभामुख, उपसभामुख, प्रमुख सचिव र कर्मचारी कक्ष रहनेछन । सभामुख र प्रमुख सचिवको कक्ष व्यवस्थापनको काम सकिएको छ ।

प्रदेश नं. ५ मा प्रत्यक्ष र समानुपातिक गरी ८७ सांसद रहेका छन । एमालेका ४१, काँग्रेसका १९, माओबादीका २०, संघिय समाजबादी फोरमका ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका १-१ सांसद रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ