arrow

प्रदेश २ को सभामुखको निर्वाचन फागुन २ गते

logo
प्रकाशित २०७४ माघ २० शनिबार

जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ । आइतबारदेखि यहाँ हुने प्रदेशसभा प्रथम अधिवेशनका लागि आज बसेको सर्वदलीय बैठकले मस्यौदाको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरी सो मिति निर्धारण गरेको जनाइएको छ । संघीय संसद् सचिवालयका उपसचिव वंशीराज पौडेलले मस्यौदामा सामान्य संशोधन गरिएको बताउँदै सभामुखको निर्वाचनको तालिका २९ गते निर्धारण गरिने जानकारी दिए । 

कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ । बैठकले नियमावली मस्यौदा समिति गठन सम्बन्धमा विस्तृत छलफल गरी अर्को बैठकमा अन्तिम रुप दिने निर्णय गरेको छ । 

त्यस्तै बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ । प्रदेशसभाको पहिलो बैठक भोलि आइतबार दिनको ११ बजे शैक्षिक तालीम केन्द्र जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभा भवनमा बस्ने भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ