arrow

ओलीको दोस्रो कार्यकाल, मोदीको तेस्रो नेपाल भ्रमण

नेपाल–भारत सम्बन्ध सुध्रियो, फागुनमा मोदी नेपाल आउँछन् : सचिव ज्ञवाली

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
oli-modi.jpg

काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए ।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीले बताए ।

उनले वाम गठबन्धनले भारतसँग सुमधुर सम्बन्ध राखेर जान चाहेको सुनाए । उनले भने,‘जसरी मोदीले ओलीलाई दुईपटक फोन गर्नुभयो, उहाँ स्वराज नेपाल भ्रमण आएर अविश्वास हटाउनुभयो।’ ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि ज्ञवालीले बताए । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुधार भएको उनको विश्वास छ । ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा भएको अविश्वास हटेको दाबी गरेका हुन् ।

स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै ज्ञवालीले अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको जिकिर गरे । “वामपन्थीको बहुमत आएकोमा बधाई दिँदै नयाँ सरकार गठनपछि सहकार्य गरौँ भन्नका लागि स्वराज आउनुभएको हो । नयाँ सरकारसँग सहकार्य गर्नका लागि वातावरण बनोस् भन्ने भारतको चाहना हो” ज्ञवालीले भने ।

विगतमा नेपालमा नयाँ सरकार बन्ने बेलामा नेपालकै नेताहरु भारत दौडिने गरेकोमा अहिले भारतका मन्त्री नेपाल आउनु सकारात्मक भएको उनले बताए । “पहिला पहिला नेपालमा सरकार बन्ने बेला नेपालका नेताहरु दौडेर भारत जाने परम्परा थियो । यो गलत परम्परा तोडिएको छ ।” ज्ञवालीले भने ।
स्वराजको भ्रमणलाई सहज रुपमा लिनुपर्नेमा नकारात्मक टिप्पणी गरिएकोप्रति ज्ञवालीले आक्रोष पोखे । “कतिपयले हिनताबोध र कुण्ठा व्यक्त गरेका छन् । यो आवश्यक छैन ।” उनले भने ।

संविधान जारीपछिको नीतिमा भारतले पुनरावलोकन गर्न चाहेको संकेत पाइएको ज्ञवालीको भनाई छ । यद्धपी पछिल्लो समय नेपाल–भारतबीचको अविश्वास हटेर गएको भएपनि आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने ज्ञवालीको भनाई छ । “अब समस्या आउँदैन भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । कहिले अदुवा, कहिले चिया, कहिले कुचो निर्यातमा अवरोध भैरहेको छ । यसले नेपालको व्यापार घाटा बढाएको छ ।” उनले भने ।

बेला–बेलामा सिमा विवाद हुने गरेको उल्लेख गर्दै ज्ञवालीले नयाँ नक्साअनुसार सिमानामा पिल्लर बनाउनुपर्ने बताए । फरक प्रसङ्गमा नेता ज्ञवालीले फागुन महिनाभित्रमा नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया टुङ्गोमा पुग्ने दाबी गरे । पछिल्लो समय पार्टी एकता हुँदैन भनेर गरिएको प्रचारप्रति आक्रोषित देखिएका ज्ञवालीले एकता नचाहनेले गलत हल्ला चलाएको आरोप लगाए ।

एक पत्रकारले पार्टी एकता हुन्छ त भनेर सोधेपछि आक्रोषित ज्ञवालीले पत्रकारलाई नै “तपाई पार्टी एकताविरोधी हो” भनेर प्रतिप्रश्न गरेका थिए । उनले पार्टी एकताका विषयमा नकरात्मक नहुन सबैलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ