arrow

प्रदेश ७ को पहिलो बैठक : समृद्धिका लागि एकजुट भएर लाग्ने सांसदहरुको प्रतिवद्धता

logo
सिद्धराज भट्ट र शेरबहादुर सिंह,
प्रकाशित २०७४ माघ २१ आइतबार
pradesh-7.JPG

धनगढी ।  प्रदेश नं ७ को धनगढीमा आज बसेको पहिलो प्रदेशसभा बैठकमा बोल्ने सांसदले यो प्रदेशका समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । वक्ताहरुले प्रदेश नं ७ (सुदूरपश्चिम) मा अनेक सम्भावना रहेको बताउँदै त्यसका लागि सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा भएको उक्त बैठकका पहिलो वक्ता बाजुराबाट निर्वाचित सांसद प्रकाश शाहले प्रदेश नं ७ जलविद्युत्, वनसम्पदा, जडीबुटी लगायतका प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी रहेको बताउँदै त्यसको सदुपयोगमा जोड दिए ।
 
“राजनीतिभन्दा माथि उठेर प्रदेशको विकासमा लाग्यौं भने हामी सबैभन्दा धनी प्रदेशका नागरिक बन्न सक्छौं,” शाहले भने– “समृद्धिको ढोका खोल्न पुराना संस्कार र व्यवहारमा परिर्वतन गर्न जरुरी छ ।”

जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने नसके जनतामा निराशा छाउने र संघीय लोकतान्त्रिक व्यवस्थामा संकटमा आइपर्नसक्ने उनको भनाइ थियो ।

डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्काले पनि समृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने मै जोड दिए । “प्रदेशको समृद्धि कसरी हासिल गर्ने भन्नेतर्फ सबै अन्तरआत्माबाट लाग्नु आवश्यक छ,” खड्काले भने – “राज्यको पहुँचबाट ढाटा रहेको हाम्रो प्रदेशमा प्रशस्त सम्भावना छन् ।”

पश्चिम सेती परियोजना अगाडि बढाउन प्रदेशसभाबाट प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै उनले भने – “यहाँको सुकुम्बासी समस्या समाधान, धनगढी विमानस्थलको स्तरोन्नति लगायतका विकासका मुद्दालाई मूर्त रुप दिन लाग्नुपर्छ ।”

डोटीबाटै निर्वाचित अर्का सांसद त्रिलोचन भट्टले प्राकृतिक स्रोतको सही व्यवस्थापन गर्न सकिए प्रदेश नं ७ समृद्ध हुने बताए । यस प्रदेशमा कर्णाली, पश्चिम सेती, पञ्चेश्वर लगायतका ठूला जलविद्युत्का परियोजना रहेको पनि उनले उल्लेख गरे ।

उनले भने – “वैज्ञानिक कृषि प्रणालीमार्फत किसानका लागि गर्व गर्ने नीति ल्याउन जरुरी छ ।” शिक्षाको उचित व्यवस्थापनका लागि उचित नीति र साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय जनता पार्टीका सांसद मालामती राना थारुले राना थारु समुदायको संविधानमा असन्तुष्टि रहेकाले संशोधनका लागि पहल हुनुपर्ने बताए ।

“कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी रेशमलाल चौधरीलाई वारिसनामा मार्फत विजयको प्रमाणपत्र बुझाउने व्यवस्था गरियोस्,” उनले भने – “टीकापुर घटनामा सरकारद्वारा गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्छु ।” उनले टीकापुर घटनाका बेला थारु समुदायमाथि ज्यादती भएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गरे।

बैठकको शुरुमा सभामुखको भुमिकामा रहनुभएका ज्येष्ठ सदस्य शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । दिउँसो १ बजे डाकिएको बैठक आधा घण्टा ढिलो शुरु भएको थियो ।

सभामुखको निर्वाचन माघ २७ मा

बैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ लाई पारित गर्‍यो ।  कार्यविधि अनुरुप प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २९ दिउँसो १ बजे तोकिएको जानकारी पनि शाहले गराए ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँच सदस्य मनोनयन गरिएको छ । मनोनीत हुने सदस्यहरुमा माया भट्ट, देवराज पाठक, वीरमान चौधरी, कृष्णबहादुर चौधरी र पुर्णा जोशी छन् ।  प्रदेशसभाको अर्को बैठक आगामी माघ २९ गते सोमबार दिउँसो १ बजे बस्ने छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ