धानमा आत्मनिर्भर बन्नुपर्छ, नभए संकटमा फेरि भारतले मोटो लुकाएर मसिनो चामल बेच्छ (अन्तर्वार्ता)

‘धानको उत्पादन १० प्रतिशत वृद्धि भयो भने १ प्रतिशत जिडिपी बढ्छ’

प्रकाशित मिति : २०७४ माघ २१ आइतबार , ३,४४७ पटक हेरिएको

नेपालले पछिल्लो ६ महिनामा १४ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुनुलाई कारण बनाइएको छ । यद्यपि, नेपालबाटै धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको कुरा पनि लुकेको छैन । भन्सार विभागको तथ्यांकअनुसार यो आर्थिक वर्षको ६ महिनामा १३ अरब  ९५ करोड ६३ लाख ४४ हजार ९ सय ९० रुपैयाँ बराबरको चामल आयात भएको हो । पोहोर यही समयमा अवधिमा ११ अर्ब ४३ करोड रुपैयाँको चामल आयात भएको थियो । छिमेकी मुलुक भारतबाट सवैभन्दा धेरै चामल आयात हुने गर्छ । चीन, थाइल्यान्ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ । हामीले ६ महिनामा १४ अरबको चामल विदेशबाट ल्याएर खाने अवस्थामा हामी कुरी पुग्यौँ ? भनि कृषि बाली विज्ञ, भोलामान सिंह बस्नेतलाई सोधेका छौँ ।

० ६ महिनामा १४ अरबको चामल विदेशबाट ल्याएर खान थालेछौं, यो अवस्थामा कसरी पुगियो ?
– कम्तीमा हामीले किनेर त खान पाएका छौं, सन् २००७–०८ मा विश्वमा खाद्य संकट भएको थियो । हामीले किनेर खाने भनेको भारतबाट ल्याउने हो । खाद्य संकट भएका बेला सर्वसाधारण खाने मोटो र नन बास्मती हो । बास्मती भनेको मसिनो । खाद्य संकट भएको बेला भारतले मसिनो निर्यात गर्न दियो, सर्वसाधारणले खाने मोटो चामल निर्यात गर्न दिएन । सर्वसधारण नेपालीलाई किनेर खान निकै कठिन भएको थियो ।
हामी भारतसँग पनि चामल किन्न नसक्ने, आफै पनि आत्मनिर्भर नहुने हो भने, तपाई हामीसँग खल्तीमा पैसा भएर चामल किन्न नसक्ने अवस्था आउँछ है भोलि । अहिले जुन अवस्था आयो । त्यसकारण देशलाई आत्मनिर्भर बनाउनुपर्छ, भन्छु म ।

० चालममा आत्म निर्भर बनाउने ?
– खाद्य सुरक्षा भनेर ६ वटा बालीलाई लिइन्छ नेपालमा । धान सुरक्षा भनेको खाद्य सुरक्षा हो । जुम्ला, हुम्ला जहाँ गए पनि चामलको माग अत्यधिक छ ।

० ६ महिनामा १४ अरबको चामल विदेशबाट ल्याउन थाल्यौँ, तपाईले भनेको आत्मनिर्भरताको बाटो साह्रै नै कठिन हुँदैन ?
– आत्मनिर्भरको बाटो सजिलो छ, धान उत्पादन बढ्यो भने देशको कुल ग्रार्हस्थ उत्पादन नै माथि जान्छ । धानको उत्पादन १० प्रतिशत वृद्धि भयो भने १ प्रतिशत जिडिपी बढ्छ । धान उत्पादनले आर्थिक वृद्धि दर उथलपुथल पार्न सक्छ भने देशले धानलाई किन प्राथमिकतामा राख्दैन भनेर म विगत १५ वर्षदेखि आवाज उठाउँदै छु । अहिले झापालाई सुपर जोन भनेर प्रधानमन्त्री कृषि आधुनिकरण भनेर लिइएको छ । धान उत्पादनका लागि विज्ञलाई प्रयोग गर्नुपर्छ । विज्ञ त्यस्ता हुन् जो पढेर, परेर गरेर कीर्तिमान बनाएको हुन्छ । उत्पादनमा गरेर देखाएको व्यक्ति विज्ञ हुन्छ । त्यस्तो विज्ञबाट राज्यले राय सल्लाह लिनु पर्दथ्यो । त्यत्रो सुपर जोनको कुरा छ । सरकारले विज्ञको सल्लाह लिएको अहिलेसम्म थाहा छैन । मैले त फेरि उत्पादन गरेर आएको मान्छे । पाँच वर्ष धनुषामा एउटा फाममा अहिलेको भाउमा करिब ३ करोडको धान उत्पादन गरेर आएको । किन राय सल्लाह लिँदैन सरकारले ?

० चामलको आयात बढिरहेको छ । यसलाई विस्थापन गर्न सम्भव छ ?
–छ । तर, एउटा समस्या के आइरहेको छ भने, जनसंख्या घट्नेवाला छैन । खेती गर्ने जमिन बढ्नेवाला छैन । जनसंख्या बढ्दै जाने खेती गर्ने जमिन घट्दै जाने । त्यसो हुनाले अब हामीले ज्ञान विज्ञान प्रविधिको आधारमा खेती गर्न पर्छ । हाम्रो १४–१५ लाख हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये चैते धान तराई भित्रि मधेसमा हुन्छ । १४–१५ लाख हेक्टर मध्ये अहिले ७ प्रतिशतमा मात्रै भइरहेको छ । धानको फुल पुलेपछि जति धेरै घाम लगायो त्यति धेरै फल्छ । त्यसलाई हामी सोलारेडेशन भन्छौँ । वर्षे धानको तुलनामा चैते धानको उत्पादकत्व प्रति हेक्टर, प्रतिदिन भन्छौँ हामी । २० देखि २५ प्रतिशत बढ्छ । सूर्यको किरण सोलारेडेशनलाई पैसा नि पर्दैन । त्यसो हुनाले चैते धान बढाउँदै लाने । एउटा अवस्था के हो, भने चैते धानको लागि सिंचाई चाहिन्छ । त्यो गर्न सकियो भने हुन्छ । ७० प्रतिशत धान त तराईमा उत्पादन हुन्छ । चैते धानलाई विशेष जोड दिने । अरु प्रविधि, ज्ञानका कुराहरु, त्यस्ता कुराहरु उपयोग गरे अहिले पनि हामी खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छौँ  ।

० तर, पछिल्लो समय प्लटिङ्को कुरा जुन छ, खेती योग्य जमिन घडेरीमा परिणत गर्ने, ठूलो क्षेत्रफलमा अन्य भौतिक संरचना बनाउने, यो क्रम बढिरहेको छ, यो अबस्थामा सजिलै तपाईले भनेको जस्तो धान उत्पादन बढाउन सकिएला त ?
–यो गम्भीर कुरा उठान गर्नु भो । हाम्रो देशको औषतमा धान उत्पादकत्व ३ टन प्रतिहेक्टर छ । यो काठमाडौं भ्याली हेर्नुस् । तीन वटा जिल्ला भएको उपत्यका । जहाँ ५ देखि ६ टन प्रतिहेक्टर धान उत्पादकत्व छ । राष्ट्रिय उत्पादकत्व भन्दा दुई गुणा बढी । पहिले यहाँ लेक थियो । माटो धेरै राम्रो । यति राम्रो धान फल्ने ठाउँमा अहिले घर फलिरहेको छ । सारा ठाउँमा यो रोग सरिरहेको छ । तराईमा यो रोग गइसक्यो । मैले एउटा इतिहासको किताब पढ्दै थिए । पृथ्वीनारायण शाह सम्बन्धी । पृथ्वीनारायण शाहले २ सय ९६ वर्षअघि दिव्य उपदेशमा के भन्नु भएको रहेछ भने, ‘खेती गर्ने जमिनमा घर नबनाउने, कसैले बनाएको छ भने हटारएर त्यसलाई अरु ठाउँमा बनाउन भन्ने’ । अहिले हाम्रो भू–उपयोग नीति भनेर छ । तर, त्यो लागू भएको छैन । ऐन त कहिले आउँछ । जति ढिलो भयो त्यति नै यो समस्या बल्झिँदै जान्छ । एउटा जमिनको कुरा । अर्को काम गर्ने मान्छे छैन । अहिले केही कुरा आएको छ । सहकारीकरण गरेर जमिन प्लटिङ गरेको पनि पाइयो । अर्को कुरा धान र धानमा आधारित खेती भन्छौँ हामी । वर्खामा जहाँ पानी जम्छ त्यहाँ धानको विकल्पै छैन । कि त माछा गर्नु पर्ने हुन्छ । कति माछा गर्ने हो । वर्खामा धान खेती मूख्य हो । हिउँदमा धेरै बाली हुन्छ । त्यसैले हामीले धानमा आधाररित खेती गर्नै पर्छ ।

० १४ अरबको आयातलाई विस्थापन गर्न, सजिला कार्यक्रम ल्याएर पुग्छ त ?
–जमिन त हामीसँग छ नि । १४–१५ लाख हेक्टरमा धान खेती भनेको छ । त्यो त चानचुने कुरा भएन । धनुषामा एउटा फाम छ । ८–९ सय रोपनीको धान फाम छ । आज भन्दा म ३० वर्ष अगाडि फाम म्यानेजर भएर काम गरे । प्रत्येक वर्ष एक सय २० टन धानको बीउ निकाल्थ्यौँ हामी । अहिले आएर सोध्दा कति फलाउँछौ भन्दा ४०–४५ टन भन्छन् हेर्नुस् । एक सय १० टन फलाउने ठाउँमा ४० टन भनेको त तीन गुणा कम फलाइरहेका छन्, तीन गुणा बढी फलाउनु पर्ने । म्यानेजर राम्रो भए, त हाम्रो त प्रमुख मुखि कार्यक्रम छ  । त्यो व्यक्ति राम्रो भए एउटै बजेटले उत्पादनमा उथलपुथल पार्न सक्छ । त्यसैले राम्रो जनशक्ति वा विज्ञ छान्नु पर्छ । सरकारले विज्ञसहित, कृषि सामाग्री, मल, बीउ, सिंचाइ सबैको तारतम्य मिलाएर गर्ने हो भने गर्न सकिन्छ । १४–१५ लाख हेक्टर भनेको थोरै होइन ।

० भनेपछि अब उत्पादकत्व बढाउने योजना ल्याउनु पर्‍यो अब ?
–हो । मैले उदाहरण दिए त । काठमाडौं उपत्यकामा एक रोपनीमा ६ मूरी फल्छ । मोटोको स्वास्थ्यलाई ध्यान दिने हो भने सम्भव छ । प्रविधिहरुको प्रयोग आदीको सहायताले गर्न सकिन्छ । नसकिने होइन ।

 

सम्बन्धित समाचार

नयाँ