arrow

विद्याको इच्छाले एमालेमा खैलाबैला, अर्को कार्यकाल राष्ट्रपति खान पार्टी नै दाउमा

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको बाम गठबन्धनको पार्टी एकताको चर्चा तीव्र भइरहँदा भागबण्डाको खेल पनि उत्तिकै बढेको छ । को राष्ट्रपति र प्रधानमन्त्रीदेखि पार्टी अध्यक्षसम्मको लफडा बढ्दै गएको छ । 

गठबन्धनको लफडा लम्बिँदै जाँदा अब सरकार गठनपछि मात्र पार्टी एकता गर्ने निर्णयमा एमाले र माओवादी पुगिसकेका छन् । यो अवस्थामा अर्को लफडा निम्तिएको छ राष्ट्रपति विद्यादेवी भण्डारीको इच्छाले। 

भण्डारीलाई दोस्रो पटक राष्ट्रपति बन्ने इच्छाले गर्दा सिंगो पार्टी वृत्त हल्लिएको छ। कोही विरोधमा लागिसके भने कोही ठीकै बीच बीचमा रहेर कुरा राखिरहेका छन् । 

राष्ट्रपति भण्डारीले दोस्रो कार्यकाल राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति नन्दबहादुर पुन (माओवादी केन्द्रबाट) लाई पनि दोहोर्‍याउन सुझाएकी छिन्।  

एमाले र माओवादीबीच पहिले नै तालमेल नै भएकामा अहिले पनि केही नबिग्रिएको र कम समय मात्र कुर्सीमा बस्न पाएको भन्दै विद्याले लविङ गर्दै आफ्नो पक्षमा माहौल बनाउन जोडबल गरेकी हुन् । 

यसअघि नै एमाले अध्यक्ष केपी ओलीले पनि विद्यालाई दोहोर्‍याउन जोड गरिसकेका हुन् । उनले विद्यालाई पुनः राष्ट्रपतिमै राख्ने मनस्थिति बनाएका थिए । 

अहिले खुलेरै विद्याले आफ्ना लागि लबिङ्ग गरेकी छिन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि फकाइसकेकी छिन् । 

प्रचण्डका परिवारलाई दिएको दिवाभोज होस वा प्रचण्ड सहित एमाले अध्यक्ष केपी ओलीलाई दिएको संयुक्त भोज होस दुवै भेट आफूलाई राष्६्रपतिका लागि प्रचण्ड र ओलीका तर्फबाट पुन राष्ट्रपतिमा साझा प्रस्ताव आओस भन्ने मनसुवा राष्ट्रपतिको देखिन्छ। 

एमालेको कोटाबाटै राष्ट्रपति दिनुपर्ने भएपनि प्रचण्ड पनि सकारात्मक देखिएका छन् । 

के भयो एमालेमा ? 
विद्याको इच्छा बढेसँगै एमालेमा बढी हल्लीखल्ली मच्चिएको छ । विद्याले आफूलाई राष्ट्रपतिमा पुनः दोहोर्याउने इच्छा प्रकट गरेपछि सबैभन्दा ठूलो झड्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लागेको छ।

खनालले आफू राष्ट्रपतिका लागि अवसर आए पछि नहट्ने बताउँदै आएका थिए । उनलाई पार्टीले सम्मान गर्ने आशा जागेको थियो । 

एकाएक विद्याको यो कुरा सार्वजनिक भएपछि खनाल झस्केका छन् । 

विद्या एमालेकी पूर्व उपाध्यक्ष हुन् । एउटै व्यक्तिले सम्मानित पद दोहोर्याउन खोजेपछि पार्टीभित्र असन्तुष्टि बढ्नु स्वभाविकै हो । 

यसमा माधवकुमार नेपाल पक्ष पनि सन्तुष्ट हुन नसकेको बताइन्छ । 

के भनिन् विद्याले ? 

विद्याले पार्टी एकतामा जोड दिएकी छिन् । उनले एमालेले अध्यक्ष पद छोडेर भए पनि पार्टी एकता गर्नुपर्नेमा जोड दिएकी हुन् । 

विद्याको यो भनाइले भने एमालेका कार्यकर्ताहरु रन्थनिएका छन् । विद्याले पार्टी दाउमा राख्न खोजेको भन्दै कार्यकर्ताहरु रुष्ट भएका हुन् । 

साझेदारीमा ७०–३० को भागबण्डा लागिसकेका अवस्थामा विद्याले दिएको यो सुझाव, दबाब र भनाइलाई एमालेको एक वृत्त राष्ट्रपति भण्डारीको लोभको उपजको रुपमा लिएको छ। उनीहरु यसलाई संस्थागत रुपमा विरोध गर्ने तयारीमा छन्।  

स्वयं एमाले अध्यक्ष ओलीको परामर्शमा एमाले महासचिव इश्वर पोखरले लगायतका नेताहरु माओवादीलाई ३० प्रतिशत हिस्सा दिएर एमाले पार्टीमा विलय गराउन लागिरहेको अवस्थामा राष्ट्रपतिको यो प्रस्तावले प्रचण्ड हौसिएका छन् भने एमालेका नेताहरु हैरान भएका छन्। उनीहरु राष्ट्रपतिले लोभ गरेर पार्टीलाई रक्षात्मक बनाएको टिप्पणी गर्न थालेका छन्।

माओवादीले भने यसमा कुनै प्रतिक्रिया जनाएको छैन । प्रचण्ड भने आफू अध्यक्ष बन्न पाउने भए जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बुझिन्छ । प्रचण्डले राष्ट्रपतिलाई उदृत गर्दै पार्टी निकट विद्यार्थीहरुको एक भेलामा आफूलाई अध्यक्षका रुपमा स्विकारी ओलीलाई प्रधानमन्त्री बन्न राष्ट्रपतिले सुझाव दिएको बताएका थिए। उनले कार्यकारी पद बाँडेर भएपनि पार्टी कएकिरण गर्न सुझाव दिएको उल्लेख गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ