arrow

आयो सभामुखको निर्वाचन कार्यतालिका 

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
pradesh7.jpg

धनगढी । प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । 

आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ । 

प्रकाशित कार्यतालिकाअनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छानबिन गरिने छ । 

यसैगरी माघ २८ गते २ बजेपछि दाबी विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिक प्रकाशन गरिएको ७ नं प्रदेश सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए । 

सभामुखका लागि नेकपा एमालेकी समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ । वाम गठबन्धनको बहुमत रहेको ७ नं प्रदेशसभाको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको भागमा र सभामुख एमालेको भागमा परेको जनाइएको छ । 

डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै गरिसकेको छ । 

त्रिपन्न सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदको प्रतिनिधित्व रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ