arrow

प्रदेश ४को पहिलो सभा १ घन्टा ५० मिनेटको, सभामुख फागुन ३ मा छानिने 

logo
सरिता पँगेनी तिमिल्सिना।
प्रकाशित २०७४ माघ २२ सोमबार
pradesh-4-samsad.jpg

पोखरा। प्रदेश ४ को पहिलो सभाको बैठक सोमबार सौहार्दपूर्ण माहोलमा भएको छ। तोकिएकै समयमा सुरु भएको बैठक १ घन्टा ५० मिनेटमा सकिएको थियो । बैठक बिहान ११ बजे सुरु भएर १२ः ५० मा सकिएको थियो । 

बैठकको जनाउ घन्टी बज्नु अघि नै सबै सांसद बैठकस्थलमा प्रवेश गरेका थिए । बाहिरबाट हेर्दा निकै आकर्षक बैठक भवन केही साँगुरो भएका कारण आगन्तुक पाहुना र पत्रकारलाई समेत केही असहज भएको थियो । 

सभामुखको भूमिकामा रहेका ज्येष्ठ सांसद जनकलाल श्रेष्ठले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाएलगत्तै प्रदेश सभा सञ्चालन अन्तरिक कार्यविधि पारित गरिएको थियो । त्यही कार्यविधिमा टेकेरै बैठक सञ्चालन गरिएको थियो । प्रदेशसभाको बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि सांसदहरु गायत्री गरुुङ, टेक बहादुर घर्ती, धनमाया पोखरेल, मन कुमारी गुरुङ र मित्र कुमारी गुरुङ रहेको अध्यक्ष मण्डल चयन गरेको छ । 

बैठकमा प्रदेश नम्बर ४ मा प्रतिनिधित्व गर्ने ५ दलका ११ जनाले बोलेका थिए । एमालेका ३, कांग्रेसका ३, माओवादी केन्द्रका ३, जनमोर्चा १ र नयाँशक्तिका १ सांसदले भनाइ राखे । 

सोमबार बस्ने प्रदेश ४ को पहिलो सभामा ठूलो पार्टीबाट क्रमश सानो पार्टीलाई बोल्न दिइएको थियो । पार्टीको आकार अनुसार संसदमा बोल्ने वक्ताको समय तोकिएको हो । ठूलो दल एमालेले सबैभन्दा बढी ३० मिनेट पायो । एमालेबाट सांसद पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सिर्जना शर्माले संसदमा आफ्नो भनाइ राखे । 

दोस्रो दल कांग्रेसका सांसदलाई बोल्ने समय १७ मिनेट पाए । कांग्रेसबाट कृष्णचन्द्र नेपाली, दोबाटे विक र ललितकला गुरुङ संसदमा भनाइ राखे । 

तेस्रो दल माओवादीले १४ मिनेट बोल्ने समय पायो । माओवादीबाट नेत्र अधिकारी, हरिबहादुर चुमान र गायत्री गुरुङले संसदमा मन्तव्य राखे । साना दल नयाँ शक्ति र जनमोर्चालाई ५-५ मिनेट पाए । नयाँ शक्तिका हरिशरण आचार्य र जनमोर्चाका कृष्ण थापाले संसदमा भनाइ राखेका थिए । 

सभामुख फागुन ३ मा छानिने 
प्रदेश ४ प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो । प्रदेशसभामा वाम गठबन्धनको बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ । 

प्रदेश नम्बर ४ को संसदमा ६० जना प्रदेश सभा सदस्य छन् । ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिकबाट चयन भएका सांसद हुन् । प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक राजीव गुरुङ उर्फ दीपक मनाङे स्वतन्त्र सांसद छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ