arrow

टेलिकमको १४ बार्षिकोत्सवमा नमस्ते क्रेडिट सेवाको सफ्ट लन्च

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
mohan-basnet-telecom.jpg

काठमाडौं। नेपाल टेलिकमले आफ्नो स्थापनाको १४औं बार्षिकोत्सव मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित बार्षिकोत्सव कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपाल टेलिकम देशकै पुरानो र ऐतिहासिक कम्पनी भएकाले देशका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्य जस्ता नेपाली जनताको सरोकारका क्षेत्रमा समेत सहयोग गर्दै अगाडि बढिरहेकोमा प्रसंसा गरे।     

मन्त्री बस्नेतले नेपाल टेलिकम सेवामूलक र नाफामूलक दुवै ढंगबाट अगाडि बढ्नु पर्ने बाध्यता भए पनि कम्पनीले ग्राहक गुनासो नआउने गरी गुणात्मक सेवामा ध्यान दिन निर्देशन दिए।

कम्पनीले फोरजी सेवा विस्तार  र फाइबरमार्फत सेवा प्रदान गर्ने कार्य अगाडि बढाइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्न सक्षम हुने विश्वास मन्त्री बस्नेतको थियो।  

सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले नेपालकै पहिलो दूरसञ्चार सेवाप्रदायक संस्थाको रुपमा परिचित नेपाल टेलिकमले अन्य देशमा भन्दा सस्तो दरमा सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी ब्यक्त गर्दै कम्पनीमा कार्यरत दक्ष जनशक्तिका कारण नै यो सम्भव भएकोमा प्रसंसा व्यक्त गरे। 

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव प्रेम कुमार श्रेष्ठले कम्पनीमा रुपान्तरण भए पश्चात नेपाल टेलिकम थप जिम्मेवार र पारदर्शी भएको बताउदै सरकारी कम्पनी भएकोले विभिन्न ऐन, कानुनका कारण निर्णय प्रक्रियामा ढिलाई हुने भएतापनि कम्पनीले प्रतिस्पर्धात्मक रुपमा सेवा प्रदान गरिरहेको बताए । अक्षरका आधारमा शुल्क लिने आकाशवाणी सेवाबाट यात्रा प्रारम्भ गरेको कम्पनी हाल स्मार्टफोनमार्फत तीव्र गतिको डाटा उपलब्ध गराउनु पर्ने समयमा आइपुगेको बताउदै उनले सो यात्रामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्राहकलाई प्रतिस्पर्धि मूल्यमा गुणस्तरीय सेवा प्राप्त होस् भन्ने प्राधिकरणको मूख्य उद्देश्य प्राप्तिमा टेलिकमले सहयोग पुर्‍याएको बताउदै केही समयमै नेपाल टेलिकम फोरजीमार्फत देशभर सेवा प्रदान गर्न सक्षम हुने विश्वास ब्यक्त गरे। 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको समग्र अवस्था वारेमा जानकारी गराउदै वार्षिकोत्सवको अवसरमा सेवाग्राहीहरुका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा गरिन। उनले कम्पनीको प्रगतिमा सहयोग पुग्ने सकारात्मक सुझावलाई ग्रहण गर्दै ग्राहक सेवालाई मूल मन्त्र मानेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरिन। 

कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले ‘नमस्ते क्रेडिट’ सेवाको सफ्ट लन्च गरे । कम्पनीको जीएसएम प्रिपेड ग्राहकहरुको ब्यालेन्स न्यून भएको अवस्थामा कल गर्दा ब्यालेन्स शून्य भई कल काटिने अवस्थामा क्रेडिटबाट अविच्छिन्न रुपमा सेवा प्रयोग गर्न सकिने छ । त्यसैगरी ब्यालेन्स शून्य अवस्थामा पनि क्रेडिटबाट सेवा प्राप्त गर्न सकिने छ । सो क्रेडिट रकम त्यसपछिको पहिलो रिचार्ज रकमबाट काटिने छ । सो क्रेडिट रकममा ग्राहकलाई अतिरिक्त शुल्क लाग्ने छैन । हाल सफ्ट लन्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने छ । 

मन्त्री बस्नेतले वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । त्यसैगरी कम्पनीको रिचार्ज सेवा तथा रिचार्ज कार्डको बिक्री लक्ष्य हासिल गर्ने थोक विक्रेता एवं कम्पनीका विभिन्न सेवाहरु प्रयोग गरी सर्वाधिक बिल भुक्तानी गर्ने संस्थागत तथा ब्यक्तिगत ग्राहकहरुलाई पनि कदर स्वरुप सम्मान गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ