arrow

नेविसंघ उत्रिएको प्रहरी दमनको प्रतिकारमा पत्रकारलाई लाठि चार्ज, छोडियो अश्रुग्याँस

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ माघ २३ मंगलबार
pokhara1.jpg

कास्की। पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेविसंघका बोधराज ढकालको मृत्यु भएपछि पोखरामा उत्पन्न तनाव झनै बढेको छ।प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको छ भने समाचार संकलनमा खटिएका पत्रकारलाई समेत कुटेको छ। आदर्श समाजका पत्रकार प्रकाश ढकालको खुट्टामा लाठीले हान्दा चोट लागेको छ।

पत्रकार ढकालले आफू पत्रकार भन्दा भन्दै पनि प्रहरीले अन्धाधुन्ध प्रहार गरेको बताएका छन्। प्रहरीको यो हर्कतको पत्रकारहरुले चर्को विरोध गरेका छन्। ढकाल पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य समेत हुन्। सोमबार साँझ क्याम्पस अगाडि नगर बसले ठक्कर दिँदा ढकालको मृत्यु भएको थियो। उक्त घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले मंगलबार बिहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन्।

नियन्त्रणमा लिएका नेविसंघका १६ जना कार्यकर्तालाई छोडेको छ।  आधा दर्जन भन्दा बढी विद्यार्थीलाई प्रहरीले लाठी हानेर घाइते बनाएको छ। मृतकका परिवारलाई राहतको माग गर्दै  विरोधमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ। लगातार आन्दोलन भएपछि त्यहाँको जनजीवनमा समेत प्रभाव परेको प्रहरीले जनाएको छ।

क्याम्पसबाट टायरमा आगो बालेर विद्यार्थीले विद्युतको तारमा फाल्दा आगो लाग्ने सम्भावना बढेपछि विद्युत प्राधिकरणले बत्ति काटिदिएको छ। विद्यार्थीले हानेको सिसाले एक सुरक्षाकर्मीको निधारमा गम्भिर चोट लागेर घाइते भएपछि उनलाई उपचारार्थ अस्पताल लगिएको छ। क्याम्पस आसपासका सम्पूर्ण पसल बन्द छन् भने परिस्थिति असहज भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ