arrow

माओवादीले संसदीय दलको नेता नतोक्दा सरकार गठनमा ढिलाई

रोकियो मुख्यमन्त्री नियुक्ति प्रक्रिया

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २३ मंगलबार
pradesh-5_sava_hall1.JPG

बुटवल । प्रदेश नम्बर पाँचको सरकार गठनमा ढिलाई हुने भएको छ। माघभित्रै प्रदेश सरकार बनाउने एमालेको तयारी भए पनि माओवादी केन्द्रले संसदीय दलको नेता नचुन्दा फागुन नै कुर्नुपर्ने देखिएको छ।

पहिलो संसद बैठककै दिन संसदीय दलका नेता शंकर पोखरेलको पक्षमा बहुमत रहेको देखाउँदै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाउने तयारी एमालेले गरेको थियो । माओवादीले संसदीय दलको नेता नचुन्दा मुख्यमन्त्री नियुक्ति सभामुख चयन गरेपछि मात्रै हुने देखिएको छ। सभामुख चयनका लागि आइतबारको पहिलो बैठकले फागुन २ गते संसद बैठक आह्वान गरेको छ।
 
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले माओवादी केन्द्रमा सहमति जुटाउन आन्तरिक समस्या रहेको बताए। ‘उहाँहरूले संसदीय दलको नेता चुन्नुभएको छैन, नेता चुन्नासाथ मुख्यमन्त्री चयनको काम अघि बढ्नेछ’, उनले भने।

सहमति जुटाउन समय लाग्ने भएकाले माओवादीकै आग्रहका कारण माघ २८ गते हुने भनिएको सभामुख चयनको मिति फागुन २ मा सरेको उनले बताए। माओवादीमा संसदीय दलको नेता र सभामुख चुन्न सकस छ। दलको नेता र सभामुखको उम्मेदवार तयार गर्न र बाँकी नेतालाई व्यवस्थापन गर्नुपर्ने भएकाले पनि निर्णयमा ढिलाई भएको छ।

माओवादीभित्र संसदीय दलको नेतामा कुलप्रसाद केसीको बारेमा सहमति जुट्ने सांसद पूर्णबहादुर घर्तीले बताए। ‘दलको नेतामा उहाँ (कुलबहादुर केसी) नै चयन हुनुहुन्छ’, उनले भने। तर सभामुखको विषयमा टुंगो नलागिसकेकाले दलको नेतामा निर्णय नभएको उनले बताए।

पाँच नम्बर प्रदेशमा एमालेबाट मुख्यमन्त्री र माओवादीबाट सभामुख हुने बाम गठबन्धनको सहमति छ। त्यही सहमति अनुसार शपथकै दिन एमालेले पोखरेललाई नेता चुनेको थियो। माओवादीबाट दलको नेता चुनिन लागेका केसी पनि मुख्यमन्त्रीको दाबी गर्दै आएका व्यक्ति हुन्।

माओवादी केन्द्रका सचिवालय सदस्य चन्द्रप्रकाश खनाल बलदेवले मंगलबार बस्ने बैठकले संसदीय दलको नेता र सभामुखको उम्मेदवार टुंगाउने बताए।  ‘मंगलबार दाङमा हामी यसबारे बैठक बस्दैछौं, उनले भने– त्यही बैठकले निर्णय गर्छ, फागुन १ अघि नै हामी सबै टुंगो लगाउँछौं।’

माओवादीमा सभामुखका लागि आकांक्षी धेरै भएकाले त्यसमा सहमति जुट्न सकेको छैन। सभामुखका लागि दधिराम न्यौपाने, पूर्णबहादुर घर्ती र सुदर्शन बरालको दाबी छ।

माओवादी श्रोतका अनुसार संसदीय दलको नेताका लागि तयार भएका कुलप्रसाद केसी सभामुख हुन इच्छा देखाएमा उनलाई नै सभामुख बनाउन माओवादी नेताहरूको अनौपचारिक सहमति बनेको छ। ‘कुलप्रसाद केसीले सभामुखमा ओके गर्नुभयो भने उहाँ नै हुनुहुन्छ, उहाँ संसदीय दलको नेता बन्ने भन्नुभयो भने अरू तीनजनाबाट एकजना ल्याइन्छ’– माओवादी केन्द्रका ती नेताले भने।

माओवादी नेताका अनुसार दधिराम न्यौपानेलाई जसरी पनि कुनै पद दिनुपर्ने बाध्यता छ। ‘उहाँ अलि सिनियर पनि हुनुभयो, त्यसैले सभामुख या मन्त्री एउटामा उहाँलाई लैजानुपर्ने हुन्छ, उनले भने– उहाँले मन्त्री पाउनुहुने भयो भने सभामुखमा पूर्णजी र सुदर्शनजीमध्ये एकजना जानुहुन्छ।’

 माओवादीले अहिले ११ सदस्यीय मन्त्रीमण्डल बनाएर ४ जना मन्त्री दिन एमालेसँग माग गरिरहेको छ। वाम गठबन्धनको केन्द्रीय सहमतिअनुसार कुल संख्याको १० प्रतिशतको मात्रै मन्त्रिमण्डल बनाउनुपर्छ। तर प्रदेश नम्बर पाँचमा एमाले र माओवादीबीच मन्त्रीको भागवण्डा पनि मिलिसकेको छैन। एमालेले ५ र माओवादीले ३ मन्त्री राख्ने प्रस्ताव एमालेको छ। तर माओवादीले आफूले ४ मन्त्री पाउनुपर्ने बताउँदै आएको छ।

कुन मन्त्रालय भन्ने विषयमा दुई पार्टीबीच सहमति भइसकेको छैन। माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन (गृह), आर्थिक मामिला तथा योजना (अर्थ) लगायतका मन्त्रालय आफूले पाउनु पर्ने बताउँदै आएको छ।

एमाले भित्र पनि शक्तिशाली मन्त्रालय आफ्नो भागमा राख्नुपर्ने पक्षका नेता धेरै छन्। सांसदहरूलाई व्यवस्थापन गर्नका लागि पनि मन्त्रालय बाँडफाँडमा दलहरूको दाबी छ।

एमाले सचेतक ढकालले मन्त्रालयको विषयमा दुई पार्टीबीच छलफल नै नभएको बताए। ‘अहिले मुख्यमन्त्रीसहित सानो आकारको मन्त्रीपरिषद बनाउने कुरा हो, मन्त्रालयको विषयमा छलफल नै भएको छैन’, उनले भने।

अस्थायी मुकाम बुटवलमा मुख्यमन्त्रीसहित मन्त्रालयको कार्यालय खुलिसकेका छन्। पाँच नम्बर प्रदेशमा रहेका ८७ सांसदमध्ये बाम गठबन्धनमा ६१ सांसद छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ