arrow

हुँदै राष्ट्रियसभा निर्वाचन, ३२ सिटमा ५२ जना प्रतिस्पर्धामा

logo
प्रकाशित २०७४ माघ २४ बुधबार

काठमाडौं । राष्ट्रियसभा सदस्य चयनका लागि बुधबार मतदान हुँदैछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । 

आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मंगलबार नै पत्रकार सम्मेलन गरी निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । 

प्रदेश १, ३, ४, ५, ६ र ७ गरी ६ वटा प्रदेशमा मतदान हुनेछ । प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र कायम गरिएको छ । 

राष्ट्रियसभा चुनावमा ३२ सिटमा नौ दलका ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अरु १६ पदमा निर्विरोध भएको छ । 

प्रदेश २ मा भने मतदान हुनेछैन । प्रदेश २ का आठ वटै पदमा निर्विरोध भइसकेको छ । 

निर्विरोध भएकालाई बुधबार नै प्रमाणपत्र प्रदान गरिनेछ ।

एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित हुने व्यवस्था छ । 

प्रत्येक प्रदेशबाट महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् ।

महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।

चुनावमा स्वस्तिक चिह्नको प्रयोग नगरीकनै मतदान हुनेछ । प्रदेशसभा सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रंगको मतपत्रमा मत संकेत गर्नुपर्नेछ ।

मत बदरको सम्भावना 

स्थानीय तहका मतदाताले सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेशसभा सदस्यले सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले मत बदर हुने सम्भावना बढी छ । 

निर्वाचन आयोगले बदर नहुने गरी संकेत गर्न उम्मेदवार तथा मतदातासँग आग्रह गरेको छ । दलहरुले समेत आफ्ना मतदातालाई प्रशिक्षण समेत दिएका छन् । 

परिणाम कहिले ? 

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरेको छ । 

आयोगले दुई दिनभित्रै सबै परिणाम सार्वजनिक गरी परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ । 

मतगणना प्रक्रिया केही अप्ठेरो भएकाले आयोगले प्रत्येक प्रदेशमा तथ्यांक विभागका तालिमप्राप्त पाँच जना गणक खटाइएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ