arrow

सीमा नाकाबाट भयो चेलीको उद्धार

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
kapilbastu_nagarpalika_map.png

जितपुर । सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको हो ।

यहाँको बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया एक किशोरी भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार निज चेली घरमा कुनै जानकारी नदिई भारतको बलरामपुर जाँदैगर्दा सीमाबाट उद्धार गरिएको हो । 

उद्धारपश्चात् आवश्यक सोधपुछ गर्दा बाबाले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्ने र घरमा आर्थिक अवस्थासमेत कमजोर रहेका कारण भारततिर जान लागेको निज चेलीले बताएको विश्वकर्माले बताए । 

भारत जाँदा आउन सक्ने जोखिमलाई हेरी निजका अभिभावक बोलाई आवश्यक प्रक्रिया पुर्याई निज चेलीलाई आत्मनिर्भर बनाउने उद्देश्यले केआई नेपालको सुरक्षित आवासगृह चितवनमा विभिन्न सीप सिकाउनका लागि रिफर गरिएको विश्वकर्माले जानकारी दिए । 

विश्वकर्माका अनुसार जोखिममा रहेका चेलीलाई सीप उपलब्ध गराई व्यवसायमा समेत सहयोग गर्ने हुँदा धेरै चेलीको जीवनमा सकारात्मक परिवर्तन आएको देख्दा गर्व महसुश हुने बताए । 

करिब एक महिनाको अवधिमा चारजना चेलीको विभिन्न जोखिमबाट उद्धार गरी केआई नेपालको सुरक्षित आवासगृहमा पठाइएको संयोजक विश्वकर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ