arrow

‘दिनभर कमाउने, रातभर रमाउने’ : दुई टेम्पु ड्राइभरको कथा

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ माघ २४ बुधबार
tempu_draivar.png

काठमाडौं । काठमाडौं उपत्यकामा अब साना सार्वजनिक सवारी विस्थापित गर्न लागिएको छ । साना सवारी हटाएर अब ठूला बस गुडाउने भनेर व्यवसायीहरुबीच पनि सहमति भइसकेको छ । जहाँ टेम्पु व्यवसायी पनि राजी भइसेका छन् ।

ठूला बस ल्याउने प्रक्रिया पनि अघि बढिसकेको छ । तर, साना सवारी हट्ने भन्ने वित्तिकै विद्युतीय टेम्पु चलाएर जीविकोपार्जन गरिरहेका कामकाजी ड्राइभरहरुको भने मुटु हल्लिएको छ ।

जसको पिरलो फुलमायालाई पनि भएको छ । उनी फुलमाया तामाङ । घर सिन्धुली । काठमाडौं आएको ९ वर्ष भयो । अहिले बस्ने कलंकी । केही समय चार पांग्रे पनि चलाईन् । पछि टेम्पु चलाउन थालिन् । उनले टेम्पु चलाउन थालेको ७ वर्ष भयो । कति पढ्नु भएको छ ? उनलको जवाफ थियो, ‘आठ पास ।’ उनले काठमाडौं आउनु भन्न पहिले सिन्धुलीमा घरायसी काममै अल्झिएको सुनाइन् ।

अनि टेम्पु नै चलाउँछु भनेर कसरी सोच्नु भयो ? जवाफमा उनले भनिन्, ‘अफिसको जागिर खान पढाई छैन । चालक बन्न मन थियो । पछि यही पेशा हुन गयो ।’ गाह्रो साह्रो कत्तिको भयो ? ‘मलाई त खासै अफ्ठेरो भएन । हामी भन्दा अगाडि यो पेशामा लागेका साथीहरु, जसले १८–१९ वर्ष विताईसके उहाँहरुले बढी नै कष्ट झेल्नु भयो कि ?’ उनको जवाफ थियो । उनले हाँस्दै सुरु सुरुमा टेम्पु चलाउँदाको  अनुभव सुनाइन्,  ‘महिलाले चलाउने टेम्पु भनेपछि हत्तै सबै चढ्दैन थिए । नाक खुम्च्याउँथे । भरै हुँदैन लडाउँछन् भन्थे ।’ अहिले सबै भर मान्न थाले ।

दिनमा कति कमाउनु हुन्छ ? ‘हजार, बाह्र सय । उही खटाई अनुसार’ उनले जवाफ दिइन् । साहुलाई ट्रिप अनुसार दिनुपर्छ, उनले भनिन् । उनका श्रीमान् दुबई छन् । घरमा दुई छोरा छन् । एउटाले १२ पढिसके । एउटा छोरा ८ मा पढ्दै । रुट कहाँ–कहाँ पर्छ ? ‘५ नम्बर,, सुन्धारादेखि गोल्फुटारसम्म ।’ अनि आखिरी कुरा, अब त टेम्पु हटाइँदै छ रे नि हो ? ‘हो थाहा छ’, उनले जवाफ दिइन् । अब अफ्ठेरो हुँदैन त  ? उनले भनिन्, ‘गाह्रो छ । टेम्पु सयमा सय नहटाइदिए हुन्थ्यो । हाम्रो बाँच्ने आधार नै यही भएको छ । धेरै महिला दिदिबहिनीहरु बेरोजगार हुन्छन् । हामी पनि विदेश जानु पर्ने त होइन अब ?’

फुलमाया जस्तै टेम्पु हाँक्ने कल्पना डंगोलको पनि कथा उस्तै । कति पढ्नु भएको छ ? कल्पनाले हाँस्दै भनिनन्, ‘पढेको छैन । गफ चैँ दह्रै दिन्छु ।’ घरमा श्रीमान्, एउटा छोरा । आमा बुबा आ–आफ्नो गरेर खानुहुन्छ । उनले भित्रि कुरा भनिन्, ‘मिल्न सकिएन । के गर्नु यस्तै छ ।’

रामेछापबाट काठमाडौं आएकी उनले टेम्पु चलाउन थालेको ७ वर्ष भयो । उनले भनिन्, ‘राजा मरेको साल काठमाडौं आएको ।’ उनको रुट, २० नम्बर –सुन्धारा, सीतापाइला, छाउनी । बस्ने स्वयंभू । कति कमाई हुन्छ ? ‘८–९ सय । कहिले भएन भने साहुलाई आफै पैसा तिनु पर्छ । विहान ४ बजे उठेर बेलुकी ८ बजे फर्किन्छु । कहिल्यै गाडी विग्रिन्छ, रातको ९–१० नै बज्छ ।’ विदा हुँदा फाइदा हुँदैन, उनले भनिन्, ‘रोडमै रमाइलो ।’ दुःख कत्तिको छ ? ‘एउटा छोरी मान्छे चालक भएर काम गर्दा निकै अफ्ठेरो हुँदो रहेछ ।’

यात्रुहरुको व्यवहार मिश्रित हुन्छ, तर उनले अपमान गर्नेलाई छोड्दिन–भनिन् । उसै परे म त फाइट नै खेल्छु, कल्पनाले हाँस्दै भनिन् । यो कामले खान बस्न राम्ररी नै पुगेको उनले सुनाइन् । यो पेशा गर्ने मान्छेलाई के खाउँ भन्ने हुँदैन, रमाएरै खाइन्छ, उनले भनेकी छन् । साहुले महिनामा ४ दिन विदा दिन्छ, तर विदाको दिन काम गरे दोब्बर पैसा पाइन्छ । बन्द भएको बेला तपाईहरुलाई असर पर्छ ? जवाफमा उनले भनिन्, ‘बन्द भएको बेलामा खान पाइँदैन । हामी त्यस्ता मान्छे हौँ, दिनभर कमाउने रातभर रमाउने ।’ टेम्पु नदौडाई कसरी कमाउने ।
अब टेम्पु बन्द भए के गर्नु हुन्छ ? ‘थाहा छ मलाई । धेरै दुःख लागेको छ । त्यसो भएपछि हामी जहाँबाट आएको थियौँ त्यही पुग्यौँ ।’

विदेशमा महिलालाई दुःख भयो भनेर टाउकोमा हात राख्ने नेताहरुले आफ्नो देशमा भएको रोजीरोटी खोसिदिने ? उनले प्रतिप्रश्न गरिन् । आफ्नै देशमा गरेर खाइरहेकाहरुलाई त खान दिनु नि ! अर्कोतिर हामीले चामल किन्दा भ्याट विल माग्न भन्ने सरकारले हामीले किन्ने चार लाखको व्याट्रिको भ्याटविलबारे किन कुरा गर्दैन ?

उनले यो पनि भनेकी छन्, १० वर्ष अघि नै हटाउन खोजिएको थियो, तर अहिलेसम्म चल्यो । तर, अब विकल्प नदिई हटाइनु हुँदैन । हाम्रो पेशागत ग्यारेन्टी हुन पर्छ, उनले भनेकी छन् । यो पेशामा आफ्नो परिवार रमाइरहेको पनि उनले सुनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ