arrow

म ठोकेर भन्छु प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी

प्रदेश ३ को मुख्यमन्त्री म बन्छु, ओलीको समर्थन मलाई : पाण्डे

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
oli-prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् । उनले भने,‘सकेसम्म सरकार गठन सँगसँगै नभए एक दुई दिनपछि भएपनि पार्टी एकता हुन्छ, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुहुन्छ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विडारीले दुवै पार्टीको एउटै सिद्धान्त र विचार भएकोले परिवर्तनका संवाहकद्धय नेता ओली र प्रचण्ड एक-एक पदमा बस्ने भएकोले आली प्रधानमन्त्री बन्दा प्रचण्ड अध्यक्ष बन्ने विश्वास दिलाए । एकता प्रक्रिया आँफैमा गाह्रो काम भएकोले समय लाग्नु स्वभाविक भएको उनको स्पष्टोक्ति थियो ।

यद्धपी उनले पार्टी एकताको विषयमा दुवै पार्टीका अध्यक्षद्धय ओली र प्रचण्डले धेरै पटक वान–टु–वान भेटवार्ता गरेको र दुवै पार्टीका दोस्रो तहका नेताहरुवीच पनि धेरै पटक सामूहिक वार्ताहरु भैरहेको जनाए । एमाले र माओवादी अब एउटै पार्टी भैसकेकोले घोषणा गर्न मात्रै बाँकी रहेको विडारीको भनाई थियो ।

अब बन्ने सरकारसामू अवसरसँगै चूनौतिहरु प्नि प्रशस्तै रहेको उनले बताए । अझैपनि एक सयजति कानून निर्माण गर्न बाँकी रहेको उनले सुनाए । उनले भने,‘प्राकृतिक स्रोत तथा वित्त आयोगसम्बन्धी कानूनहरु बनाउन बाँकी छ, संघीयता नेपालको लागि नयाँ हो, त्यसैले अवसरहरु धेरै छन्, यो सँगै चूनौतिहरु प्नि छन्, यी सबैलाई हल गर्नुपर्छ।’ विडारीले फागुणको १५ गतेभित्रै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने विश्वास दिलाए ।

त्यस्तै  कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ, वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ, उहाँलाई मेरो शुभकामना छ ।’मन्त्री थापाले हिजो सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको स्पष्ट पारे ।

उनले भने,‘निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले यही रिपोर्टर्स क्लबको मञ्चमा बोलेको थिएँ, कि नयाँ सरकार फागुणको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै यो कुरा प्रमाणित हुन्छ।’ मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा आउने पनि जनाए ।

उनले सरकारले आगामी मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिश गर्नेबारे छलफल गर्ने समेत विश्वास दिलाए । उनले भने,‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, ३ जनाको नाम सिफारिश गर्दा साझा व्यक्तित्व चयन गर्छौ, योग्यता पुगेकाहरुलाई नै हामी सिफारिश गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्वहरु च्यन गर्छौं।’
त्यस्तै उनले वर्तमान सरकारले महत्वपूर्ण निर्णयहरु गरेकोमा विरोध हुनु स्वभाविक भएको समेत स्पष्ट पारे । यद्धपी उनले सरकारले निर्णय गर्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले भने,‘सरकारले निर्णय गर्दा सरकार बाहिर भएका दलहरुले विरोध गर्नु स्वभाविक हो नि।’

नेकपा एमालेका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । उनले भने,‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री चयन गर्छौ, यदि सहमति भएन भने निर्वाचनमार्फत अघि बढ्छौं, संसदीय दलको नेता चयन गर्नेबारे भोलि छलफल हुन्छ, भोलिको छलफलमा सहमति भयो भने ठिकै छ, नभए निर्वाचन हुन्छ, मेरो उम्मेद्धवारी हुन्छ, मुख्यमन्त्री मै बन्छु, अध्यक्ष केपी ओलीको पनि मलाई समर्थन छ।’

नेता पाण्डेले आफू ४ पटकसम्म संसदमा लगातार निर्वाचित भएर काम गरेको व्यक्ति भएको उल्लेख गर्दै भने,‘म ४ पटकसम्म लगातार संसदमा काम गरेको अनुभव छ, प्रमुख सचेतक भएर काम गरेको छु, संसदीय कार्यव्यवस्था समितिको सदस्य भैसकेको छु, यसरी संसदमा समेत लामो भूमिका निर्वाह गरेको अनुभव भएकोले म मुख्यमन्त्री लागि योग्य छु, सोही अनुसार मैले तयारी गरेको छु।’

उनले आफू मुख्यमन्त्रीमा निर्वाचित भएपछि यो प्रदेशको विकासको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । केन्द्र सरकारले अघि सारेका महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरु यही प्रदेशमा पर्ने भएकोले यीनीहरुलाई सम्पन्न गर्न आफू लागिपर्ने पाण्डेको विश्वास थियो ।

पाण्डेले भने,‘काठमाडौं–तराई फाष्ट ट्रयाक यही प्रदेशमा पर्छ, चीन हुँदै काठमाडौंबाट पोखरा हुँदै लुम्बिनी जाने रेल सेवाको परियोजना यही प्रदेशमा पर्छ, त्यस्तै चीन, रसुवागढी, गल्छीहुँदै चितवनको ठोरी भएर भारत जोडिने त्रि–देशीय सडकमार्ग पनि यही प्रदेशमा पर्छ, त्यस्तै १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको आधा हिस्सा यही प्रदेशमा पर्छ, जुन निर्माण सम्पन्न भयो भने मुलुकको आर्थिक विकासमा ठूलो प्रभाव पर्छ।’

नेता पाण्डेले केन्द्र सरकारले तोकेका र आँटेका आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने आफ्नो पहिलो एजेण्डा रहेको सुनाए । त्यस्तै उनले प्रदेश सरकार नेपालको ईतिहाँसमा पहिलो भएकोले सुरुमा कानूनहरु निर्माण गर्नुपर्ने चूनौति रहेको पनि सुनाए । ‘अहिले त कम्तिमा ४० वटा कानूनहरु सूरुवातमै चाहिने भएको छ, यी सबै निर्माण गर्न कम्तिमा एक वर्ष समय लाग्छ’ उनले भने,‘त्यसैले सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्छ।’

उनले आफ्नो अर्को महत्वपूर्ण एजेण्डामा सुशासन कायम गर्नु रहेको सुनाए । उनले भने,‘जनतालाई सुशासन दिन सक्नुपर्छ, म स्थानीय विकासमन्त्री हुँदापनि यो थिति बसाल्नको लागि प्रयास गरेको थिएँ, तर त्यतिबेला म छोटो समयको लागिमात्रै उक्त जिम्मेवारीमा थिएँ, अब त कम्तिमा स्थायी सरकार बन्दैछ।’

विगतमा समस्याहरु दर्शाउँदै एकले अर्कोलाई देखाएर पन्छिने प्रचलन भएपनि अब ती परम्पराहरु ईतिहाँस बन्ने उनको दाबी थियो । उनले भने,‘समस्या दर्ज गर्ने ठाउँ हुन्छ, अब समस्या समाधान हुनेमा हामी विश्वास छौं ।’

नेपाल पर्यटकीय संभावना बोकेको देश भएकोले यसको विकासमा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले भने,‘हामीले अब पर्यटन विकासमा पनि ध्यान दिनुपर्छ, काठमाडौं उपत्यकाजस्तो ठाउँमा फोहोरमैला व्यवस्थित् हुन सकेको छैन, सरसफाईमा अब ध्यान दिनुपर्छ।’

फरक प्रसँगमा उनले एमाले र माओवादी केन्द्रवीच अब छिट्टै एकता हुने विश्वास दिलाए । उनले भने,‘केन्द्रिय सरकार अबको १२ दिनभित्रै बनिसक्छ, हाम्रो अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुन्छ, यसमा कुनै दुईमत छैन्।’ त्यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओली बसेर नै सबै कुरा टुँगो लगाउने स्पष्ट पारे ।

पाण्डेले भने,‘हिजो प्रचण्ड र ओली नै वाम गठबन्धन गर्नुभयो, निर्वाचनमा सर्वाधिक सफलता हात पर्यो, अब उहाँहरु मिलेर नै अब पार्टी एकता गर्नुहुन्छ, उहाँहरुले ध्यान दिनुहोला। कुन मोडालिटीमा एकता गर्नुहुन्छ, त्यो उहाँहरुको हातमा छ, तर एकता हुन्छ।’

जनताले भोट हाल्दाखेरि नै दुई पार्टीवीच एकता होस् भनेर हालेको उनको विश्वास थियो । उनले भने,‘वाम गठबन्धनको पक्षमा जनताले भोट हाल्नुको प्रमुख कारण एकता होस्, स्थिरता होस र आर्थिक समृद्धिको लागि हो, त्यसैले एकता हुन्छ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ