arrow

इन्सपेक्टरको नतिजाले लोकसेवामा तरंग : अध्यक्षको चेम्बरमा विहानै के-के भयो कुरा ?

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
loksewa_police.jpg

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्सपेक्टर) पदको नतिजाले निम्त्याएको तर‌ंग लोकसेवा आयोगसम्म पुगेको छ। लोकसेवा आयोगले पठाएको भनिएको नाममा तलमाथि गरेर नतिजा निकालेको आरोप लागेको नतिजालाई लिएर प्रहरी प्रधान कार्यालयसँगै लोकसेवा आयोग समेत तरंगित बनेको हो । बिहीबार लोकसेवा आयोगमा विहानै अध्यक्ष उमेसप्रसाद मैनाली सहितको टोलीले बसेर यस विषयमा के प्रतिक्रिया दिने भनेर सबै जवाफ तयार पारेका थिए । बैठकमा नै अध्यक्ष मैनालीले बाहिर दिने जवाफ तयार पारेर प्रवक्ता लक्ष्मीविलाश कोइरालार्इ निर्देशन दिएको आयोगका एक अधिकारीले जानकारी दिए । 

अध्यक्ष मैनाली सहित ४ जना सहसचिव सम्मिलित सो टोलीले त्यो नतिजा निष्पक्ष र कुनैपनि कानून विपरित नहुनेगरी सम्पन्न भएको बताउने निर्णय गरेको छ । यस्तै प्रतिक्रिया दिनको लागि अध्यक्ष मैनालीले प्रवक्ताको नाममा निर्देशन दिएका छन् । बुधबार नै नतिजा प्रक्रिया गैरकानूनी ढंगले सार्वजनिक गरिएको भन्दै आयोगका अध्यक्ष मैनालीलार्इ केही असन्तुष्टहरुले ध्यानाकर्षण पत्र दिएका थिए । 

सो निवेदनबारे अध्यक्ष मैनालीको चेम्बरमा बसेर सबै विषय अध्ययनगरी यो निर्वाचन निष्पक्ष र कानून सम्मत रहेको निष्कर्ष निकालेको आयोगका सहसचिव झक्क आचार्यले जानकारी दिए । उनले सबै ऐन नियमावलीहरु हेरेर लोकसेवा आयोगको तर्फबाट प्रधान कार्यालयमा प्रतिनिधि बनेर गएका प्रतिनिधिसमेतलाई राखेर छलफल गर्दा सो विषय निष्पक्ष भएको निचोड निस्किएको बताएका छन् । 

स्रोतका अनुसार यस विषयलाई प्रहरी प्रधानकार्यालयको जिम्मा लगाउने र लोकसेवा आयोगले पठाएको नाम प्रकाशन गर्ने विषयमा त्रुटी भएको भए प्रधानकार्यालय नै जिम्मेवार ठहराउने अनौपचारिक निर्णय समेत भएको छ । प्रहरी प्रधानकार्यालयले शारीरिक तन्दुरुस्ती र लिखित परीक्षाको नतिजा एकैपटक गरेको विषयलाई लिएर नाम ननिस्किएका झण्डै एक दर्जन परीक्षार्थीहरुले लोकसेवा आयोगमा पुगेर जनताको विश्वास जितेको लोकसेवा जस्तो संस्थामाथि समेत शंका गर्ने ठाउँ देखिएको भन्दै प्रधान कार्यालयको सो सूचनामाथि हस्तक्षेप गर्न माग गरेका थिए । 

कुनैपनि विभागीय प्रहरीको हस्ताक्षर समेत नभई सूचना जारी गरेर प्रकाशित गरिएको १ सय २ जना प्रहरी निरीक्षकका प्रतिस्पर्धीहरुको नाम प्रति आपत्ति जनाउँदै एक दर्जन परीक्षार्थीहरु कानूनी उपचारको लागि अदालत समेत जाने तयारीमा पुगेका छन् । यस अघिको प्रहरी निरीक्षक र अन्य पदको परीक्षामा पनि लिखित परीक्षा सकेर प्रयोगात्मक शारीरिक तन्दूरुस्तीको नम्बरलाई अन्तर्वार्तामा मात्रै राखिने गरेकोमा यस पटक लिखित परीक्षामा नै शारीरिक तन्दूरुस्तीको नम्बर थपिनु गैरकानूनीसँगै शंकास्पद समेत रहेको आरोप परीक्षार्थीहरुको छ । प्रहरी प्रधानकार्यालयले २२ माघमा प्रकाशित गरेको सूचनामा १ सय २ जना परीक्षार्थीको नाम सार्वजनिक गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ