arrow

ओलीको दम्भ संसदीय दलको नेता छान्न पनि, यस्तो छ भीडन्त

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
kp-oli.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण एमालेले सरकार बनाउने प्रदेश १, ३ र ४ को संसदीय दलको नेता चयनमा सहमती हुन नसकेको आरोप एमालेकै नेताहरुले लगाएका छन् । माधव नेपाल पक्षीय एक नेताले हाम्राकुरासँगको कुराकानीका क्रममा ओलीले आफ्नै उम्मेदवारहरुले चुनाव जित्ने घमण्डका साथ सहमतिको प्रयास नै नगरेकोले यो ३ वटा प्रदेशमा चुनावमार्फत् नै संसदीय दलको नेता चयन गरिन लागेको आरोप लगाएका हुन् । 

ओलीले सहमतिको प्रयास गरेको भए एमालेबाट मुख्यमन्त्रीको लागि सबै व्यक्तिहरु सहमतिमा नै टुंगिने सम्भावना पर्याप्त हुँदाहुँदै पनि ओलीले भने आफ्ना सांसद्हरु नै धेरै रहेको देखेर चुनावकै लागि जोड बल गरिरहेका छन् । यस अघि नै प्रदेश ५ मा भने ओली निकट मानिएका शंकर पोखरेल सर्वसम्मत प्रदेश संसदीय दलको नेता चयन भईसकेका छन् । अहिले चुनावमा आफ्नालाई जिताउनको लागि ओली आफैं सक्रिय रहेको ती नेताले जानकारी दिए । 

अहिले प्रदेश १ मा एमालेका दुई नेताहरु भीम आचार्य र शेरधन राई प्रतिस्पर्धामा छन् । आचार्य एमालेका सचिव हुन् भने राई पोलिटब्युरो सदस्य हुन् । उनीहरुमध्ये आचार्य माधव नेपाल पक्ष र राई ओली पक्षका नेता मानिन्छन् । अहिले आचार्यले बामदेव गौतम र झलनाथ खनालको पनि समर्थन पाएकोले यहाँ माधव नेपाल पक्षका आचार्यको जीत हुने सम्भावना देखिएको छ । 

त्यस्तै, प्रदेश ३ मा एमालेबाट अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे भिड्दैछन् । अष्टलक्ष्मी शाक्य अहिले एमालेकी उपाध्यक्ष हुन् भने पाण्डे पोलिटब्यूरो सदस्य हुन् । गुटगत हिसावले यस अघि माधव नेपाल पक्षमा रहेका पाण्डे यस पटक भने ओली पक्षको मानिएका छन् । त्यसैले उनको जीतको आधार केही बलियो भएपनि महिना उम्मेदवार र पार्टीमा प्रभावशाली नेताको हिसावले पनि पाण्डे भन्दा शाक्यको मतान्तर त्यति कम हुने भने देखिएको छैन । 

त्यस्तै, प्रदेश ४ मा एमालेकै दुई नेताहरु पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ पृथ्वी ओली खेमाका नेता मानिन्छन् भने किरण बामदेव गौतमका निकट मानिन्छन् । यहाँ पनि ओली एक्लै र बाँकीमा ३ नेताहरु माधव नेपाल, बामदेव गौतम र झलनाथ पक्षीय नेताहरुले यसमा सहयोग गर्ने देखिएको छ । यहाँ ओलीको तर्फबाट पोलिटब्यूरो सदस्य खगराज अधिकारीले पृथ्वीलाई समथैन गर्ने सम्भावना रहेकोले पुथ्वीतर्फ नै पासा पल्टिने सम्भावना देखिएको छ । 

प्रदेश ५ को संसदीय दलको नेतामा एमालेबाट शंकर पोखरेल निर्वाचित भईसकेका छन् । यस बाहेक प्रदेश २, प्रदेश ६ र प्रदेश ७ मा एमालेले सरकार बनाउने छैन । प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने पक्कापक्की भईसकेको छ भने अन्यत्र माओवादी र मधेशबादी दलका नेताहरु आन्तरिक गृहकार्यमा व्यस्त छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ