arrow

यी हुन् प्रदेश नं ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रोफाइलसहित

logo
शुरबहादुर सिंह-दिपेन्द्र शर्मा,
प्रकाशित २०७४ माघ २६ शुक्रबार

सुर्खेत। राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन्। महिला तथा खुला सदस्य तीन-तीन र अपांग–अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वाचित भएका छन्।

वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई) र दलिततर्फ कालीकोटका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। 

माओवादी केन्द्रबाट खुलातर्फ जाजरकोटका कालीबहादुर मल्ल, महिलातर्फ मुगुकी युटुल तामाङ र अपांग–अल्पसंख्यकतर्फ कालीकोटका जीवनबहादुर बुढा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। 

एकल संक्रमणीय प्रणालीअनुसार खुला तथा महिलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी उहाँहरु विजयी भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए। त्यसैगरी, बहुमतीय प्रणालीअनुसार अपांग-अल्पसंख्यक र दलित सदस्य निर्वाचित भएका थिए। 

उपप्रधानपञ्चदेखि राष्ट्रियसभा सांसदसम्म 

कालीकोटका नरपति लुहार राष्ट्रियसभाको सदस्यको निर्वाचनमा वाम गठबन्धनका तर्फवाट प्रदेश ६ बाट विजयीको खाता खोल्न सफल राष्ट्रियसभाको सदस्य भएका छन्। 

राष्ट्रियसभाको सदस्यमा विजयी नरपति लुहार उपप्रधानपञ्च, वडाध्यक्ष हुँदै राष्ट्रियसभाको सांसद बनेका छन्।

बहुदल आएपछि एमालेको राजनीतिमा लागेका लुहारलाई नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवार बनाएको हो। २०४४ सालमा कालीकोट जिल्लाको स्युना गाउँ पञ्चायतको उपप्रधानपञ्चमा उनी विजयी भएका थिए। 

२०५४ सालमा साविकको स्युना गाविसमा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए । २०५३ सालमा एमालेको कालीकोट जिल्ला कमिटी सदस्य भएका लुहार हाल एमाले निकट जातीय मोर्चाको जिल्ला अध्यक्ष र कालीकोट जिल्ला कमिटी सदस्य हुन् । 

राष्ट्रिसभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ६ नं प्रदेशबाट विजयको खाता खोल्न सफल लुहारले तीन हजार ६६६ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मित्रलाल सार्कीलाई पराजित गरेका थिए ।  

जनसेनाको कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्य 

प्रदेश ६ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित नरहरिनाथ गाउँपालिका–२ कालीकोटका जीवनबहादुर बुढा तत्कालीन नेकपा माओवादी जनयुद्धका सेना कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्यमा चुनिएका छन्। सानैमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका बुढा २०५२ सालमै पार्टीको सदस्यता प्राप्त गरेका थिए। 

२०५३ कात्तिकमा छापामार दलको सदस्य हुँदै बुढा माओवादी जनासेनामा भर्ना भएका थिए। बुढा २०६० सालमा माओवादी जनसेनाका बिग्रेड कमाण्डर हुँदै २०६१ को अन्तमा सातौँ डिभिजन सहकमाण्डर बनेका थिए। शान्ति प्रक्रियासँगै भएको माओवादी सेनाको व्यवस्थापन हुँदा उनले क्यान्टनमेन्टमा सेनाको नेतृत्व गरे। 

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा सचिवालयमा रहेर काम गरिसकेका छन्। 

उनी अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन्। सेना हुँदाका सबै साथीहरुले समायोजन रोज्दा आफूले राजनीति रोजेको उनले बताए। “म राजनीति गर्न युद्धमा गएको हो, जागीर खान होइन, त्यसैले मैले सेना समायोजन प्रक्रियालाई अँगालिन,” उनले भने । 

शिक्षक जागिर छोडेर राष्ट्रिय सभा सदस्य 

भेरी नगरपालिका–४ जाजरकोट निवासी कालीबहादुर मल्ल नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुन् । 

२०३४ सालदेखि शिक्षक पेशामा लागेका उनी २०४३ मा जागिर छोडेर राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन शुरु गरेका थिए । 

२०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको सदस्यमा निर्वाचित भएका उनी २०५२ सालदेखि नेकपा माओवादी राजनीतिमा होमिएका थिए ।  

२०६४ सालको संविधानको सभाको निर्वाचनमा विजयी भएका उनले यस पटक राष्ट्रियसभा निर्वाचनको खुला सदस्यमा जित हात पारेका थिए ।  

त्यसैगरी, जाजरकोट भेरी नगरपालिका–४ निवासी भैरवसुन्दर श्रेष्ठ मावि स्थायी शिक्षकको जागिर छोडेर २०४७ सालमा राजनीतिमा लागेका हुन् । 

श्रेष्ठ तत्कालीन नेकपा मालेको संस्थापक जिल्ला संयोजक भए । निरन्तर पार्टी संगठनको राजनीति गर्दै आएका श्रेष्ठ नेकपा एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।  

श्रेष्ठ २०४९ मा जिल्ला विकास समिति जाजरकोटको उपसभापति र २०५४ सालमा सभापतिमा निर्वाचित भएका थिए । पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दैगर्दा अनेरास्वयिुबाट राजनीति यात्रा शुरु गरेकाले उनी यस पटकको राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचित सदस्य मल्ल र श्रेष्ठ दुवै एउटै वडाका हुन् । २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको उपसभापतिमा श्रेष्ठ र सदस्यमा मल्ल निर्वाचित भएका थिए । मितेरी नाताका दुवैले २५ वर्षपछि पुनः एकै सभामा निर्वाचित भएका हुन् ।  

जिविस उपसभापति हुँदै राष्ट्रियसभा सदस्य 

एमालेको विद्यार्थी तथा युवा राजनीतिबाट पार्टी राजनीतिमा आएका ठगेन्द्र पुरी रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका निवासी हुन् । 

पुरी एमालेका तर्फबाट २०५४ सालमा जिविस रुकुमको उपसभापतिमा जितेका थिए । पार्टीको तत्कालीन रुकुम जिल्ला कमिटी अध्यक्ष हुँदै निरन्तर राजनीतिमा लागेका राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित उनी हाल एमाले ६ नं प्रदेश कमिटी सदस्य हुन् । 

कविता बोगटी अदानचुली गाउँपालिका–२ हुम्ला निवासी हुन् । उनी नवलपरासीमा उच्च शिक्षा पढ्दै गर्दा अनेरास्ववियु हुँदै अनेम संघबाट पार्टी राजनीतिमा लागेकी थिइन् । 

हाल उनी एमाले निकट कर्णाली–काठमाडौँ सम्पर्क मञ्चकी सदस्य हुन् । वाम गठबन्धनका तर्फबाट राष्ट्रियसभाको महिला सदस्यमा निर्वाचित भएकी छिन् ।  

लामा समुदायबाट पहिलो महिला सदस्य 

युटुल तामाङ लामा मुगु जिल्लाको कार्मारोङ गाउँपालिका निवासी हुन् । उनी मुगु जिल्लाको लामा समुदायबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित पहिलो महिला सदस्य हुन् । 

माओवादी केन्द्र निकट अनेम संघ क्रान्तिकारी हुँदै पार्टी राजनीति सुरु गरेकी उनी संघको मुगु जिल्ला अध्यक्ष भएकी छिन् ।  

राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा माओवादी निकट उनले लामा मुक्ति मोर्चाको सचिवका रुपमा काम गरेकी थिइन् । 

२०६४ सालको संविधानसभाको समानुपातिक सदस्यमा निर्वाचित तामाङ हाल नेकपा माआवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुन् । 

पञ्चायतविरुद्ध लडेकी शर्मा पनि सदस्य 

सुर्खेतका ग्रामीण भेकमा तत्कालीन पञ्चायती शासनविरुद्ध भूमिगत संघर्ष गर्दै आएकी नन्दा शर्मा (चपाई) पञ्चपुरी गाउँपालिका–३ सुर्खेत सालकोट निवासी हुन् । उनी वाम गठबन्धनका तर्फबाट राष्ट्रिय सभाको महिला सदस्यमा निर्वाचित भएकी हुन् ।  

२०३५–०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेकी शर्मा अनेम संघको जिल्ला अध्यक्ष हुँदै हाल नेकपा एमालेको ६ नं प्रदेश कमिटी सदस्य तथा अनेम संघको केन्द्रीय सदस्य हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ