arrow

रुपन्देहीको सेजमा १४ उद्योग दर्ता

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २६ शुक्रबार
seez_pice.JPG

बुटवल ।  विद्युत् अभाव भएको भन्दै संचालनमा ढिलाइ भइरहेको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनका लागि १४ वटा उद्योगले मात्र निवेदन दर्ता गराएका छन्। माघ १० गते सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनभित्र उद्योग दर्ता गर्ने समयसीमा दिएको थियो।

उक्त समय सीमाभित्र १४ वटा उद्योग दर्ता भएका हुन्। जबकि सेजमा उद्योग स्थापनाको लागि १९ वटा उद्योगले समझदारी गरेका थिए। तर लामो समयसम्म सेजमा विद्युत् नहुँदा पछिल्लो समय निराश बनेका उद्योगीहरूले उद्योग दर्ता गराएनन्।

विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाका अनुसार उद्योग सञ्चालनमा समझदारी गरेका १९ ओटा उद्योगमध्ये १४ उद्योगले दर्ता गरेका छन्। रूपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ विगाहा क्षेत्रफलमा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा १४ सयदेखि ३७ सय वर्गमिटरसम्मका ६९ वटा प्लटहरू रहेका छन्। सेजमा उद्योग स्थापनाका लागि आवश्यक विद्युत्का पूर्वाधार नै नभएको अवस्थामा उद्योग सञ्चालनका लागि कम आवेदन परेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले बताए। अग्रवालले यसअघि नै सेजमा तीनवटा उद्योग सञ्चालनका लागि दरखास्त हालेका थिए।

‘बिना पूर्वाधार सूचना निकालियो, हामीले सेज भन्दै यति लामो समय कुर्‍यौँ, अहिले उद्योगका लागि आवेदन हालेर विद्युत् २ महिनामा आउँछ भन्ने के ग्यारेन्टी छ? हामीहरूको लगानी सुरक्षित कसले गर्छ? त्यसैले विद्युत नआएसम्म अनुमति पत्रका लागि आवेदन नदिने हाम्रो निर्णय हो’, अग्रवालले भने।
सञ्चालनका लागि आह्वान गरे पनि उद्योगीहरू तयार नहुँदा अन्यौलता बढेको छ। उद्घाटन भएको तीन वर्ष बितिसक्दा पनि सञ्चालन कार्यविधि र विद्युत् समस्या नहटेको भन्दै उद्योगीहरू उद्योग स्थापना गर्न हिच्किचाइरहेका छन्।

गत वर्ष भदौमा १९ वटा उद्योगले सञ्चालनका लागि सम्झौता गरेका थिए। विद्युत् सञ्चालनका लागि सब स्टेशन तयार नहुँदासम्म सेजमा उद्योग स्थापना गर्न उद्योगीहरू तयार नभएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अग्रवालले बताए। सेज सञ्चालनका लागि २५ मेगावाट विद्युत् आवश्यक पर्दछ।
बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै ल्याउन लागिएको प्रशारण लाइनमा स्थानीयको अवरोध भएपछि प्राधिकरणले तिनाउ खोलाको किनारबाट लाइन ल्याउने तयारी गरेको छ। विद्युत् प्राधिकरणले अहिले धकधईमा सब स्टेशन निर्माण सुरू गरेको छ। विद्युत् प्राधिकरणले सेजभित्र पनि सब स्टेशन बनाउनु पर्ने बताएको छ।

सेजमा तत्काल दुई मेघावाट र चैतभित्र दश मेघावाट विद्युत् सेजमा दिन सकिने नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख मुनीन्द्र ठाकुरले जानकारी दिए। २०५८ सालदेखि विशेष आर्थिक क्षेत्र सेज बनाउन थालिएको थियो। ५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६८ वटा प्लटहरू रहेका छन्। निर्माणको लामो समयसम्म प्रयोगमा नआउँदा सेज सञ्चालनमा नआउँदै जीर्ण बन्दै गएको छ।

विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य, हर्बल प्रोडक्टस, छालाको वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताइँदै आएको छ। ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ