arrow

सुदुर पश्चिमाञ्चल विश्विद्यालय समायोजन प्रक्रिया नसच्याए आन्दोलनमा उत्रिने चेतावनी

‘भीसी र रजिष्ट्रार नै विश्विद्यालयको विस्तारलाई रोक्ने खेलमा लागे’

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
aandolan1.jpg

काठमाडौं । सुदुर पश्चिमाञ्चल विश्विद्यालय आङ्गिक क्याम्पस समायोजन संघर्ष समितिले विश्विद्यालयद्धारा हालै अघि बढाईएको १५ वटा आङ्गिक क्याम्पसलाई समायोजन गर्ने प्रक्रिया नै गलत भएको भन्दै उक्त प्रक्रिया तत्काल सच्याउनुपर्ने माँग गरेको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले उक्त प्रक्रिया नसच्याए आगामी दिनमा जस्तोसुकै संघर्षमा उत्रिन बाध्य चेतावनी दिएको हो ।
 
समितिका संयोजक मान बहादुर चन्दले तत्काल विश्वविद्यालयले आफूहरुले उठाएका जायज माँगहरु सम्बोधन गर्नको लागि ढिलाई गर्न नहुने धारणा राखे । उनले भने,‘हामीले त यो प्रक्रियाको सुरुदेखि नै विरोध गर्दै आएका छौं, यो विभेदपूर्ण छ, विश्विद्यालयको ऐनको पनि विपरित छ, पूर्वअभ्यास विपरित भएकोले हामी कुनै पनि हालतमा यो प्रक्रिया संशोधन नभएसम्म अगाडि बढ्न दिँदैनौं, बरु यसको लागि जस्तोसुकै कदम उठाउन पनि बाध्य हुनेछौं, हाम्रा साथीहरु आन्दोलनका लागि तमतयार भएर बस्नुभएको छ।’

चन्दले विश्वविद्यालयका जिम्मेवारी पदाधिकारी उपकुलपति भुषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले समायोजन प्रक्रियालाई नै अवरुद्ध गरि १५ वटा क्याम्पसलाई आंगिक प्रक्रियाबाट बन्देज गराई विश्विद्यालयको विकास र विस्तारलाई नै रोक्ने फोहोरी नियतका साथ आफूहरुलाई अदालत जान धम्क्याएको आरोप लगाए । उनले भने,‘यतिमात्रै होईन, उहाँहरुले यो दरबन्दीलाई खारेज गरिदिने धम्की दिनुभएको छ, तर हामी संयममित भएर आफ्ना विरोधका कार्यक्रमहरु अघि बढाईरहेका छौं, हामी अदालत जाने पक्षमा छैनौं।’

मुलुकमा राज्य भएकोले विश्विद्यालय र सरकारले आफ्ना कुराहरु नसुने अन्तिममा मात्रै बाध्य भएर अदालत जाने तर अहिले आफूहरु अदालत जानको लागि हतारिने पक्षमा नभएको उनको स्पष्टोक्ति थियो ।

समितिले विभिन्न ३ बुँदे माँग समेत अघि बढाएको छ । जसमा सु.प. विश्विद्यालय ऐनमा भएको व्यवस्था अनुसार विश्वविद्यालय र क्याम्पसहरुवीच समायोजन सम्बन्धी अन्तिम (एमओयू) गर्दा सम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा रहेका छन् सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सु.प. विश्वविद्यालयमा समायोजन भैसकेको सिद्धनाथ बहुमुखी क्याम्पसको नजिर अनुसार हुनुपर्ने र सेवा सुविधा तथा शर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजना भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने रहेको छ ।

समितिका संयोजक चन्दको नाममा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ,‘सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले सुदुरपश्चिमका १५ वटा सामुदायिक क्याम्पसका लागि मिति २०७४ साल असोज २ गते नेपाल सरकार मन्त्रिपरिषदले स्विकृत ४४४ वटा शिक्षक कर्मचारी दरबन्दी समायोजनको प्रक्रियाका लागि ०७४ पुस २९ गतेको विश्वविद्यालय सभाबाट संशोधित शिक्षक कर्मचारी नियामावली सु.प. विश्वविद्यालय ऐन विपरित, समायोजनको पूर्वअभ्यास विपरित, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय श्रम ऐन र श्रम अधिकार विपरित अधिकांश प्राध्यापक तथा कर्मचारीहरुलाई अन्याय भएको कुरा मिति ०७४ माघ ७ गते विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्तनगर कञ्चनपुर र सम्पर्क कार्यालय सिनामंगलमा ज्ञापनपत्र बुझाएका थियौं ।’ समितिले उक्त प्रक्रियाको विरोधमा तालबन्दी गरेर समेत विरोध प्रकट गरेको जनाएको छ ।

आफूहरुले यसरी विरोध जनाउँदै गरिरहेको अवस्था र विश्वविद्यालयको गेटमा तालबन्दी लगाईएकै अवस्थामा उक्त ताला तोडिएको चन्दले गुनासो पोखे । आफूहरुलाई विश्वविद्यालयको गेटमै थुनछेक गर्ने प्रयास गरिएको र प्रहरी बोलाई अनावाश्यक झमेला तथा प्राध्यापकहरुको अपनमान गर्ने प्रयास भएको  पनिउनको आरोप थियो ।

उनले पदाधिकारीहरुले आफूहरुका कुनै कुरा सुन्न नचाहेको बरु उल्टै गैर–जिम्मेवार रुपमा प्रस्तुत भएकोप्रति पनि कडा रुपमा विरोध जनाउँदै आपत्ति प्रकट गरे ।

समितिले ०७४ पुस २९ गतेको विश्वविद्याल सभाले गरेको समायोजन सम्बन्धी शिक्षक, कर्मचारी नियमावलीको संशोधित बुदाहरु पूनः माँग बमोजिम संशोधन नभएसम्म विरोधका कार्यक्रम यथावत रहेको पनि जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ