arrow

झस्काए प्रचण्डले : ‘म अहिले जहाँनेर छु, त्यँहीबाट फड्को हान्न बेरै मान्दिनँ’

गिरिजालाई पटक–पटक सम्झिए

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
Prachanda_new.jpg

भरतपुर। एमालेसँग पार्टी एकताको कुरा चलिरहेकै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले गृहजिल्ला पुगेर गम्भीर प्रकृतिको वक्तव्य दिएका छन् ।

‘मलाई व्यंग्य गर्न आवश्यक छैन’ चितवनमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ । किनभने प्रचण्ड भनेकै त्यही भइसक्यो, अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने मेरो स्वाभाव हो ।'

एमाले अध्यक्ष केपी ओली र आफु पार्टी एकताबाट कति पनि विचलित नहुने बताउँदै आएका दाहालले एकाएक फड्को मार्ने कुरा गरेका हुन् । उनले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको पनि बताए ।

भरतपुरको तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा दाहालले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको सुनाए ।

राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै उनले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए ।

‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु’ उनले भनेका छन्, ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’

देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै अध्यक्ष दाहालले ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो’ भन्दै प्रश्न गरे ।

गिरिजाप्रसाद कोइरालासँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको सुनाउँदै उनले भने,  ‘युद्धकालसँग जोडेर हामीलाई व्यंग्य गर्नेहरु पनि छन्, तर इतिहास हेर्दा सम्राट अशोक नै सबैभन्दा पहिले बुद्धको शान्तिको सन्देश विश्वभरी फैलाउने विभूति भएको बिर्सिन मिल्दैन ।’

उनले संविधान निर्माणको बेला देखिएको जटिलता सिर्जना भएको बेला प्रतिपक्षको भूमिका छोडेर मियोको रुपमा काम गरेको, संविधान निर्माण र कार्यान्वयनका बेला बिभिन्न पार्टी र समूहबीच तिक्तता बढेको बेला मध्यस्थताको भूमिका निर्वाह गरेको स्मरण गरे । उनले अगाडि भने, ‘इतिहासमा मेरो भूमिका राजनीतिक शक्तिदेखि बिभिन्न सामाजिक, सांस्कृतिक भौगौलिक जातजाति, समूह वर्गका बीचका विवादलाई साम्य पार्ने मियोको रुपमा रहँदै आएको छ । अहिले पनि म सबैको भूमिकाको मूल्यांकन गर्दै समृद्धिको यात्राको संकल्प बोकेर अघि बढेको छु ।’

मेरो भूमिका देखेर नै होला, गिरिजाप्रसाद कोइरालाले मलाई अब देश तपाईको काँधमा छ भनेर अस्पतालको शय्याबाट भन्नुभएको थियो, दाहालले भने, ‘मेरो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आयो । अहिले पनि यही भूमिकामा छु । भोलीका दिनमा समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न पनि म तयार छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ