arrow

विज्ञ भन्छन्–‘संघीयताले आर्थिक भार थप्दैन’

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
arthbidh.png

काठमाडौँ । संघीयता कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा देशमा आर्थिक संकट आउने हो कि भनी आशंका बढिरहेको बेला अर्थविदले संघ, प्रदेश तथा स्थानीय निकायको बढोत्तरीकै कारण आर्थिकरुपमा कुनै समस्या नआउने बर्ताएका छन् ।

रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा विज्ञले एकात्मक राज्यको अन्त्यपछि संघीयताको कार्यान्वयनमा जाँदा सिंहदरबारको ६० प्रतिशत जिम्मेवारी स्थानीय तहमा गएका नेपाल सरकारको आधा खर्च स्थानीय तहमा जाने भएकाले केही चुनौती अवश्य भए पनि खासै त्यस्तो समस्या नहुने बताए ।

दुई सातापछि विधिवतरुपमा संघीय सरकार बन्ने अवस्थामा देश पुगिसकेको छ । संघीय सरकारमा गइसकेको अवस्थामा धेरै खर्च लाग्छ भन्ने बहस चलिरहेको बेला यो खर्च कसरी जुटाउने भन्ने जिज्ञाशा पनि रहेको छ ।

विज्ञका अनुसार नेपालको हालको वार्षिक खर्च एक हजार २७८ अरब रहेको छ । जसमा ७३० अरब आन्तरिक स्रोत तथा बाँकी वैदेशिक ऋण तथा दाताबाट जुटाउनुपर्नेछ ।

प्रदेश तहमा ५५० तथा स्थानीय तहमा ३५ हजार निर्वाचित प्रतिनिधि आइसकेको अवस्थामा केही आर्थिक भार बढ्ने पक्का छ । त्यहाँ ५३ हजार कर्मचारी स्थानीय तहका लागि र १५ हजार प्रदेश तहका लागि आवश्यक छ । स्थानीय तहमा जान नचाहने २३ हजार कर्मचारीलाई भिआरसीमार्फत स्वेच्छिक अवकाश दिइने तयारी गरेको छ ।

वित्तीय स्वशासनविद् खिमलाल देवकोटाले संघीयताले जुम्लाका मानिसलाई काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गरेको, सिंहदरबारको ६० प्रतिशत काम जुम्लामा नै सम्पन्न हुने भएकाले आर्थिकरुपमा केही समस्या आउँदैन, यो व्यवस्थापनको मात्र चुनौती हो, भने ।

उनले देशको कर प्रशासनलाई चुस्त र दुरुस्त गर्न सक्यौँ भने हालको ७३० अर्बलाई दोब्बर गर्न सकिने तर्क दिनुभयो । एकात्मक शासनको बेला स्थानीय इकाइको व्यवस्था कानूनमा मात्र सीमित भएकाले प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले अब स्थानीय तहलाई संविधानको अंगनै बनिसकेकाले बजेट, कर्मचारी तथा कार्यालय तल जानुको विकल्प छैन, भने ।

अब संघीयताको कार्यान्वयनका लागि देशको वार्षिक बजेट रु १७ खर्बको हुन्छ र रु आठ खर्ब स्थानीय तहमा जाने उनको धारणा छ । अर्थविद् डा. गोविन्द नेपालले संघीयता कार्यान्वयनका लागि स्रोत र साधनको चुनौती रहेपनि यो चुनौतीको सामना गरी अघि बढ्नुको बिकल्प नभएको बताए ।  उनले नेपालको वार्षिक बजेट १२ खरब रहेको र ७२ अरब वैदेशिक ऋण रहेको जानकारी दिए ।

२०१० देखि हालसम्म विदेशी सहायता वार्षिक एक खरब औसत प्राप्त भएको जानकारी दिँदै नेपालको अहिले ६ खरब  ऋण रहेको उल्लेख गरे । नेपालको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत विदेशी ऋण रहेकाले संघीयताको कार्यान्वयनको चरणमा अझै विदेशी सहायताको अंश बढ्नेमा शंका जनाए ।

कूटनीतिज्ञ तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालमा निर्वाचित स्थानीय तहका प्रतिनिधि भर्खर गाउँ जाँदै छन् तर गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था धेरै पहिले नै गाउँगाउँ गइसकेको धारणा राखे ।

स्थानीय तहका प्रतिनिधि राजनीतिक इकाइमा मात्र सीमित नरही आर्थिक गतिविधिको इकाइ भएकाले संघीयताको कार्यान्वयन गर्दा आर्थिक समस्या नआउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ