arrow

ओलीलाई सर्वोच्च नेता, प्रचण्डलाई पार्टी अध्यक्ष, पार्टी एकतामा बामदेवको नयाँ प्रस्ताव

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
uml-maobadi-new.jpg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि एमाले उपाध्यक्ष बामदेव गौतम अन्तिम गृहकार्यमा लागेका छन् । चुनावमा एक भएर जाने तथा पार्टी एकताको सुत्रधार मध्येका एक भनिएका गौतम पार्टी एकताका लागि नयाँ प्रस्ताव लिएर अगाडि आएका छन् । पद बाँडफाँडमा कुरा नमिलेपछि अल्झिएको एकताका विषयमा एमाले उपाध्यक्ष बामदेव गौतमले नयाँ प्रस्ताव अगाडि सार्दै पार्टी एकता गर्ने प्रयास गरेका हुन् । 

बामदेवको प्रस्ताव अनुसार एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसहित पार्टी एकतापछि सर्वोच्च नेताको पद पाउनेछन् ।  त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी अध्यक्षको पद दिने प्रस्ताव बामदेवले राखेको उच्च स्रोतले बताएको छ । 

पछिल्लो समय पार्टी एकताका विषयमा अनेक चर्चा परिचर्चा भइरहँदा बाम एकताका मुख्य योजनाकार बामदेवले एकताको नयाँ सूत्र ल्याएका हुन् ।  बामदेवको यो प्रस्तावले एमालेमा भने फेरि तरंग ल्याउने बुझिएको छ । 

पद बाँडफाँडमा अलमल देखिएपछि प्रचण्डले शनिबारमात्रै गृहजिल्ला चितवनमा ‘नयाँ फड्को हान्न सक्ने’ जनाउ दिएको आसपासमा बामदेवले नयाँ प्रस्ताव अगाडि सारेको बुझिएको छ । 

के होला एकता ? 
यो एकताको विषयले मुलुकको राजनीतिलाई नै निकै गर्माएको छ । एकताका विषयमा एमाले र माओवादीबीच गम्भीर वार्ता नहुँदा समस्या अझ बढेको हो । बामदेवको यो नयाँ प्रस्तावले वार्ताको ढोका फेरि खोलेको छ ।

के हुने अरु नेताको वरियता ? 
समस्या पदकै रहेको छ । ओलीलाई पहिलो र प्रचण्डलाई दोस्रो स्थानमा राख्दा पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखको हैसियतमा रहिसकेका माधवकुमार नेपाल र झलनाथ खनाल तेस्रो वरियतामा रहने देखिन्छ । 

तर यही स्थितिमा बामदेव र माओवादीका नारायणकाजी श्रेष्ठ अनि कृष्णबहादुर महरा र रामबहादुर थापा बादलको अवस्था के हुने भन्ने अन्योल छ । त्यसैगरी पार्टी एकता नभएका खण्डमा एमालेको नेतृत्व लिन तयार देखिएका वर्तमान महासचिव ईश्वर पोखरेलको अवस्था के हुने भन्ने अर्को प्रश्नसमेत खडा भएको छ । 

एमालेमा आशंका
एमालेमा अहिले नयाँ आशंका जन्मिएको छ । एमालेको एउटा बृतमा प्रचण्ड र बामदेव मिलेर पार्टीलाई कब्जा गर्ने त होइनन् भन्ने आशंका समेत पैदा भएको छ । 

एमालेका अहिलेका दोस्रो वरियताका नेताहरुमा यो संसय पैदा भएको छ । उनीहरुले बामदेव र प्रचण्डको सेटिङ पहिलेदेखिनै रहेको र बामदेवको नयाँ प्रस्तावले पार्टीलाई नै कब्जा गर्न सक्ने शंकासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ