arrow

प्रदेश २ मा कति र’छन् अटेरी कर्मचारी ?, जम्मा २१ मात्रै हाजिर !

logo
प्रकाशित २०७४ माघ २८ आइतबार

धनुषा । प्रदेश २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत ७ वटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १ सय ७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी मात्र उपस्थित भएका छन् ।

सरकारले १५ दिनअघि नै निर्णय गरेर प्रदेशमा जान कर्मचारीलाई निर्देशन दिए पनि अहिलेसम्म प्रमुख सचिवलगायत २१ जना कर्मचारी मात्र हाजिर भएका प्रदेश नम्बर २ का प्रमुख सचिव राजेश्वरमान सिंहले जानकारी दिए। उनले सरकारले कर्मचारी खटाएको महिना दिन बित्न लागेपनि कर्मचारीहरू हालसम्म अनुपस्थित रहेकाले प्रदेशसभालगायत मन्त्रालयहरुको कामकाज बाँडफाँड गरेर समयमै सक्न समस्या भएको बताए।

प्रदेश सचिवालय सञ्चालनका लागि २७ जना कर्मचारीको दरबन्दी रहे पनि कर्मचारीको अनुपस्थितीमा प्रदेशसभा सञ्चालनार्थ तालीम दिन खटिएका सहसचिव लगायतका ७ जनाले नै सचिवालयको कामकाज गर्न बाध्य छन्।

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१ जनाको दरबन्दीमा ८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३ जनाको दरबन्दीमा ४, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ जनाको दरबन्दीमा २, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा २४ जनाको दरबन्दीमा २ कर्मचारी मात्र उपस्थित हुन सकेका छन् ।

यसैगरी समाजिक विकास मन्त्रालयमा ३० जनाको दरबन्दीमा हमलसम्म कुनै कर्मचारी पनि उपस्थित भएका छैनन् । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा २९ जनाको दरबन्दीमा ४ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दीमा १ जना मात्र उपस्थित भएको जनाइएको छ।

कर्मचारी अभावकै कारण २१ गते भएको प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक व्यवस्थापनमा केही अप्ठ्यारो भएको थियो। अब फागुन २ गते सभामुख र उपसभामुखको निर्वाचन तय भएको छ। सो लगत्तै प्रदेश सरकार गठन प्रक्रिया शुरु हुनेछ तर प्रदेश सचिवालय र मन्त्रालयमा कर्मचारी नभएकै कारण तयारीमा समस्या भइरहेको बताइएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ