arrow

पर्यटकीय गन्तव्य खप्तडमा केवलकार चलाउन ‘दश रुपिँया’ अभियान

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ २८ आइतबार

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको पर्यटकीय विकास गर्न केवलकार सञ्चालन गर्न भन्दै दश रुपिँया खुत्रुके अभियान सुरु गरिएको छ ।

आईतबार प्रदेश ७ को प्रादेशिक महोत्सव उद्घाटनको अवसर पारेर खप्तडमा केवलकार लैजाने भन्दै प्रत्व्यिक्ति दश रुपिँया जम्मा गर्ने खुत्रुके अभियान सञ्चालन गरिएकोे हो ।

दिपायल सिलगढी नगरपालिका ४ का वडाध्यक्ष विरेन्द्र शाहले यो अभियानको थालनी गरेका हुन । “खप्तड क्षेत्रमा केवलकार निर्माण गर्ने भनी सरकारी तथा निजी क्षेत्रबाट पटक–पटक छलफल भयो तर कसैले पनि निर्माण कार्यको थालनी गरेन” वडाध्यक्ष शाहले भने ‘अब हामी आफै खप्तड क्षेत्रमा केवलकार निर्माण गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो अभियान थालेका छौँ ।’

शाहले केवलकार निर्माण भए खप्तडको पर्यटकीय प्रवद्र्धन हुने विश्वास लिए । डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शाहले यो अभियान डोटी बाट सुरु गरेर प्रदेश ७ का सबै जिल्लाहरुमा सञ्चालन गरिने बताए ।

उनले भने ‘अन्य जिल्लामा पनि समन्वय गर्ने काम भईरहेको छ, हामी तुरुन्तै यो अभियानलाई व्यापक रुपमा लैजाने छौं पर्यटन मात्र नभएर सबै क्षेत्रको विकासमा अघाडी बढ्ने छौ ।’ महोत्सवको उद्घाटन मञ्च अगाडी राखिएको खुत्रुकेमा दश रुपैयाँ खसाउँदै शाहले सबैलाई केवलकार निर्माण महाअभियानमा सहयोग गर्न आग्रह समेत गरे ।

अभियान सकारात्मक भन्दै पूर्व सांसद् कल्पना सोवले पनि खुत्रुकेमा दश रुपैयाँ खसाईन । त्यसपछि खुत्रुकेमा दश रुपैयाँ देखि माथी राख्नेको लहर नै चल्यो । ‘कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको मूल आधार’ भन्ने मुल नाराका साथ आईतबारदेखि सुरु भएको प्रादेशिक महोत्सवको दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासी र शिखर नगरपालिकाका मेयर सिताराम जोशीले संयुक्त रुपमा उद्घाटन गरे ।  फागुन ९ गतेसम्म चल्ने महोत्सवमा ७० लाख बराबरको खर्च लाग्ने र महोत्सवबाट दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजक संस्था डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र  खड्काले बताए ।

उनले महोत्सवमा ७ नम्बर प्रदेश भित्रका विभिन्न जिल्लाहरुबाट विभिन्न कृषि उपजका स्टलहरु रहने समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ