संघीयतामा सम्वृद्धि फलाउने जादु हामीसँग छ : प्रा.डा. ढकाल (अन्तर्वार्ता)

प्रकाशित मिति : २०७४ माघ २८ आइतबार , २,१४८ पटक हेरिएको

नेपालमा कृषि तथा वन विज्ञानको पढाई, यसको प्रभावकारिता र संघीय संरचनामा गइसकेपछि विषयगत विश्वविद्यालयको संरचना । यहि सन्दर्भमा हामीले चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर आई. पी. ढकालसँग कुरा गरेका छौँ ।

०  याे विश्वविद्यालयको पढाई चितवनमा मात्रै कि अन्य ठाउँमा पनि हुन्छ ?
–कृषि तथा वन विज्ञान विश्वविद्यालयको अलावा, त्रिभुवन विश्वविद्यालयबाट पढाई भएर आइरहेको जुन् कृषि र वन विज्ञानको पढाई छ त्यो भइनै रहेको छ । पूर्वाञ्चल विश्वविद्यालयले पनि पढाइरहेको छ । पूर्वाञ्चलले काठमाडौंमा हिकासमार्फत पढाइरहेको हो । चितवनको भरतपुरमा पनि पोलिटेक्निक ईन्स्टिच्यूटको रुपमा पढाई चालु छ । त्रिभुवन विश्वविद्यालयले पछि पढाइरहेको छ ।

० होइन, कृषि तथा वन विज्ञान विश्वविद्यालयकै आंगिक क्याम्पस छ कि छैन ? भन्न खोज्या ?
– हामीले दुई वर्ष अघि पोखराको पुरनचौरमा एउटा आंगिक कलेज खोल्यौँ । यो वर्ष सिन्धुलीको कपिलाकोट र कैलालीको टिकापुर तथा धनकुटाको पाख्रिबासमा कृषि र वन विज्ञानको पढाई सुरु गर्दैछौँ । कृषिमा धेरै नै आकर्षण बढिरहेको छ । रामपुरमा मात्रै एक सय ६५ जनाको सिटमा ४ हजारको दरखास्त पर्दथ्यो र त्यसमा जम्मा हामीले एक सय ६५ जना लिन्थ्यौँ । यसमा आकर्षण बढ्दै गएकाले यसलाई रामपुरमा मात्रै सिमित नगरेर एक्पान्सन गरेर जानु पर्ने हुन्छ । देशको संरचना अनुसार ७ वटै प्रदेशमा कृषि तथा वन विज्ञानको विषयगत कलेजहरु स्थापित हुनुपर्दछ, भनि हामी अघि बढिरहेका छौँ ।

० तपाईले कृषि र वन विज्ञानको सोसियल अडिट भन्दै आउनु भएको छ, त्यो भनेको के हो ?
–यो विश्वविद्यालय नेपाल सरकारको पूर्ण लगानीमा स्थापित विश्वविद्यालय हो । २०६७ साल असार ३ गते स्थापना भयो । यो विश्वविद्यालय स्थापना गर्दा अन्य विश्वविद्यालय भन्दा फरक ढंगले स्थापना भयो । यसमा शिक्षण, अनुसन्धान र प्रसारका कार्यक्रमहरु हुन्छन् । त्यसैले हामी यसलाई ल्याण्ड, ग्य्रान्ट मोडलको विश्वविद्यालय भन्ने गरेका छौँ । ल्याण्ड ग्य्रान्ट मोडल भन्नाले तीन वटै कार्यक्रम इन्क्लूड भएको हुन्छ । यो विश्वविद्यालयको पठन पाठन र यहाँबाट गरिएका अनुसन्धानहरुलाई किसानमाझ पुर्‍याउनको लागि कृषि विज्ञान केन्द्रको रुपमा अघि बढाईराखेका छौँ ।

० हाम्रो कति वटा शंकाय हो ?
–अहिले हामीसँग तीन वटा शंकाय छ । कृषि शंकाय रामपुरमै छ । पशुविज्ञान, पशुचिकित्सा र मत्स्यविज्ञान शंकाय पनि रामपुरमै छ । वन शंकाय मकवानपुरको हेटौडामा छ । त्यसको अलावा हामीले आंगिक क्याम्पस चारवटा खोलीसकेका छौँ । यही वर्षबाट हामीले ३ सय ६५ जना विद्यार्थी भर्ना सुरु गरिसकेका छौँ । रामपुरमा बीएससी फिसरीको पढाई पनि हुन्छ । यो चार वर्षीय कार्यक्रम हो । हामीले कृषि, भेटनरी, फिसरी र वनमा ग्राजुएट मात्रै नभई मास्टर्स डिग्रि र पीएचडीसम्म पनि कक्षा संचालन गरिरहेका छौँ । अहिलेसम्म हाम्रो विद्यार्थीको संख्या २ हजार छ । मास्टर्सकै चार–पाँच सय विद्यार्थी छन् भने, ५० जना बढी पीएचडी विद्यार्थी छन् ।

० यो विश्वविद्यालयबाट पहिलो पीएडी निस्किसकेको छ हो ?
–हो, पहिलो पीएचडी निस्किसकेको छ । र, कृषिको पनि चार वर्ष पढाई सकेर विद्यार्थीहरु निस्किसकेका छन् । वनको पनि निस्किसकेका छन् भने, भेटनरीको चैँ, इन्टर्नसिपमा गइरहेको अवस्था छ ।

० अहिलेको सन्दर्भमा, यो विषयगत विश्वविद्यालयको भूमिका ?
–यो कृषि र वन विज्ञान विश्वविद्यालय एउटा विषयगत विश्वविद्यालय भएकाले र नेपाल पनि कृषि प्रधान मुलुक, जहाँ अहिले पनि ६८ प्रतिशत जनता कृषिमा आधारित छन् । हामीले कृषिलाई कसरी आधुनिकीकरण र व्यवसायिकरणमा लान सकिन्छ भनेर पढाईहरुलाई त्यतै केन्द्रीत गरेका छौँ । हाम्रा करिकुलम र पाठ्यांशपनि त्यही आधारमा पनि तयार गरेका छौँ । प्राकृतिक हिसाबले पनि हाम्रो देश उच्च पहाडी, पहाडी र मध्यतराई, जुन इकोलोजिकल बेल्ट छ, त्यसले फरक ठाउँमा फरक उपज हुन्छ । त्यसैले पकेट रुपमा हामीले हाम्रा कार्यक्रमलाई सञ्चालन गर्नु पर्ने हुन्छ । भोलिका दिनमा हामीले कृषि क्याम्पसका रुपमा कार्यक्रम अघि बढाउनु पर्ने हुन्छ । कृषिमा यान्त्रीकरण गर्न जरुरी छ । त्यसमा व्यवस्थित रुपले जानु पर्छ । उत्पादकत्व वृद्धिका लागि हामीले हाम्रो पठन पाठन त्यसरी नै अघि बढाउनु पर्ने हुन्छ । कृषिको पढाईलाई हामीले यही वर्षबाट उद्योगहरुसँग पनि जोड्नु पर्छ भनिरहेका छौँ । एग्री विजनेश म्यानेजमेन्ट भन्ने मास्टर्स कार्यक्रम हामीले सुरु गरेका छौँ । त्यो भन्दा अघि हामीले वायो टेक्नोलोजी खोलेका थियौँ । सीड टेक्नोलोजीको पढाई पनि हामीले मास्टर्समा गरिरहेका छौँ । हामीले बीउ उत्पादनमा पनि फड्को मार्ने भनेका छौँ । हामीले आफ्नै विश्वविद्यालयको लोगोमा बीउ सप्लाई गर्ने भनेका छौँ ।

० हामीले कृषि तथा वन विज्ञान भन्यौँ, तर, पढाईमा कृषिलाई बढी महत्व कि वनलाई ?
–यो दुवै सँगसँगै आउने भएको हुनाले कृषिको छुट्टै नगरेर कृषि र वनको एउटैमा राखेर अघि बढिरहेका छौँ । धेरै जस्तो सँगसँगै जान्छ । वायो डाइभर्सिटीका कुराहरु, अहिलेको जलवायु परिवर्तन लगायतले कृषि र वनलाई हामीले जोडेर हेरिरहेका छौँ । मुलुकले पनि कृषि र वनको नीति सँगसँगै जोडेको छ । भारतमा पनि धेरै जसो ठाउँमा कृषि र वनको पढाई सँगसँगै हुन्छ ।

० हामी संघीय सरचनामा गइसकेका छौँ । हामीले तीनै तहको सरकारबाट के भनेका छौँ भने मुलुकको आर्थिक सम्वृद्धि । विषयगत विश्वविद्यालयमार्फत समृद्धिका लागि के गर्न सक्छौँ ?

–हामीले १० वर्षे रणनीतिक योजना पनि बनाएका छौँ । पाँच वर्षे योजना पनि छ । हाम्रो चाहाना के छ भने, प्रत्येक प्रदेशमा एउटा कलेज होस् । प्राकृतिक स्रोतमा हामी धनी भएकै कारण, हामीले कलेजकै नाम प्राकृतिक स्रोत व्यवस्थापन कलेज भनेर राखेका छौँ । पढाई कृषिकै भए पनि, हामीले व्यवस्थापनको हिसाबले अघि बढ्ने कार्यक्रम छ । सबै प्रदेशमा हामी हाम्रा आंगिक क्याम्पस खोल्दै जान्छौँ । हाम्रा रिसर्च सेन्टर र कृषि विज्ञानकेन्द्र पनि हुन्छन् । हाम्रो केन्द्रबाट अनुसन्धान गरेका प्रविधिहरुलाई किसानसमक्ष पुर्‍याउँछौँ । हाम्रो मुख्य लक्ष्य भनेको कसरी किसानको उत्पादनको दायरा बढ्न सक्छ भन्ने नै हो । कृषि अर्थतन्त्रमा बढावा दिएर देश कसरी सम्वृद्ध हुन्छ भन्ने नै हो । हामीसँग भएका एक्सपटले गरेका अनुसन्धानलाई सम्बन्धित क्षेत्रमा पुर्‍याउने, हाम्रो सामु आएको जलवायु परिवर्तनको चुनौती, प्रेटिसाइजहरु बढी प्रयोग भएको र एन्टिवायोटिक्स बढी प्रयोग भएको कारण बढी पोलुसन हुने समस्याबाट पनि छुट्कारा पाउने उपाय निकाल्छौँ । पब्लिक हेल्थलाई पनि ध्यानमा राखेर हामी हाम्रा आगामी कार्यक्रम ल्याउँछौँ । चुनौती सामना गर्ने जनशक्ति पनि हामी उत्पादन गर्छौँ । अध्ययन अनुसन्धान त्यसमै केन्द्रीत गर्छौँ । संघीयतामा सम्वृद्धि फलाउने जादु हामीसँग छ ।

नयाँ