arrow

प्रचण्डको अभिव्यक्ति, घुर्की की दबाब ?

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
prachanda-g-new.jpeg

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला दिनहरुमा बारम्बार एउटै कुरा दोहोर्याउन थालेका छन् । बाम एकीकरणको बारेमा पछिल्लो समय चर्चा समेत चल्न छाडेपछि एकताबारे त्यत्तिकै आशंका थपिँदै आएको बेला उनले बारम्बार एकता विरोधी पक्षलाई थप उर्जा दिने गरी अभिव्यक्ति दिन थालेका हुन् । उनले चितवनमा पुगेर शनिबार र आईतबार एउटै कुरा दोहोर्याएका छन् । 

शनिबार आफू देशको आवश्यकता अनुसार जहिले पनि फड्को मार्न सक्ने अभिव्यक्ति दिँदा एमाले नेता योगेश  भट्टराईले यसप्रति व्यङ्ग्य गर्र्दै फड्को मार्दा खाडलमा पर्नसक्ने चेतावनी दिएका थिए । शनिबार उनले भनेका थिए ‘मलाई व्यंग्य गर्न आवश्यक छैन । म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ’ । उनको संकेत एमालेसँगको एकता तर्फ ईंकित थियो । 

उनले आईतबार फेरि सोही कुरा दोहोर्याएका छन् । आइतबार प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन आग्रह पनि गरेका छन् । पार्टी एकीकरणबारे दाहालले भने,  ‘म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस् । पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु।’

यस अघिसम्म पार्टीएकताको साँघु तर्दा पुल भाँचिसकेको जस्ता अभिव्यक्ति दिने प्रचण्डले पछिल्ला दिनहरुमा यस्तो अभिव्यक्ति दिएपछि राजनीतिक बृत्तमा नयाँ बहस सुरु भएको छ । अहिले ६ वटै प्रदेशमा एमाले र माओवादीबीच सहमतिमा मुख्यमन्त्रीको भागवण्डा भएको छ । पार्टी एकीकरण पछि दिईने भागवण्डाको पनि कुराकानी अन्तिम चरणमा पुगिसकेको विषय बाहिर आएको छ । यस्तो अवस्थामा प्रचण्डले के कोलागि यस्तो अभिव्यक्ति दिईरहेका छन् ? यो भने माओवादीकै दोस्रो तहका नेताहरुलाई पनि आश्चर्यमा पार्न विषय बनेको छ । 

तर, माओवादी केन्द्र स्रोतका अनुसार एमालेसँगको एकतामा आफ्नो पार्टी र आफू स्वयंलाई सम्मानजनक पद नदिने एमाले अध्यक्ष ओलीको तयारीका कारण पनि उनैलाई घुक्र्याउनको लागि प्रचण्डले यस्तो अभिव्यक्ति दिने गरेको छन् । अहिलेसम्म सहमति बन्न नसकेपछि नै प्रचण्डले यस्तो अभिव्यक्ति दिन थालेको आशंका पनि गर्न थालिएको छ । उनको यो अभिव्यक्ति एमालेप्रतिको घुर्कीहो कि दबाब हो ? यो विषय भने एमाले बृत्तले नै बुझ्नु जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ