देउवा नेतृत्वका कारण कांग्रेसमा सामन्तवाद हावी भयो –कृष्ण सिटौला

देउवा र पौडेलबाट अब कांग्रेसको नेतृत्व चल्दैन –गगन थापा 

प्रकाशित मिति : २०७४ माघ २९ सोमबार , ४७,२२६ पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसमा सामन्तवाद हावी भएको आरोप लगाएका छन् । 

काँग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सदस्यहरुको नामावली तय गर्दै गर्दा आफ्नो पक्षको भेलामा बोल्दै सिटौलाले नेतृत्वका कारण काँग्रेस सामन्तवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन् । 

राजधानीको भाटभटेनीमा भएको कार्यक्रममा उनले शेरबहादुर देउवा नेतृत्व पूर्णत असफल भएको बताए । 

चुनावी समीक्षा संगसंगै अबको रणनीति बुन्नसमेत बसेको छलफलमा नेता सिटौलाले कार्यकर्ता तहलाई उत्साही बनाउन नेतृत्वले कुनै पनि जिम्मेवारी भूमिका खेल्न नसकेको बताए । 

सिटौलाले नेतृत्व विधि र विधानलाई पालना गर्नुभन्दा पनि उल्लंघन गर्नमा रमाएको दाबी गरे । 

चुनावी रणनीतिमा नेतृत्व असफल भएको भन्दै नेता सिटौलाले नेतृत्व तहमा देखिएको वेथितीको पराकाष्टाले सिंगो काँग्रेसलाई असर परेको बताए । 

नेता सिटौलाले कांग्रेसलाई र देर्श हाक्न सक्ने बनाउन र गति दिन सक्ने बनाउन आवश्यक रहेको भन्दै रणनीतिमा फेल भएको नेतृत्वले पार्टी हाँक्न सक्ने हैसियत गुमाएको स्पष्ट पारे ।

त्यसैगरी नेता गगनकुमार थापाले पार्टी ठूलो परिवर्तनको फड्को मारेर अघि बढेर आएको भन्दै अब अर्को फड्को कांग्रेसकै नेतृत्वमा आवश्यक रहेको बताए । 

संविधानको नेतृत्वकर्ता कांग्रेसनै भएको भन्दै थापाले अबको नेतृत्व वर्तमान पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सम्भव नभएको स्पष्ट पारे । 

काँग्रेसलाई सुदृढ बनाउन अब नीति र रणनीतिसँगै नेता कार्यकर्ता तहमा सोच र व्यवहारमा पनि परिवर्तन हुन जरूरी रहेको समेत बैठकको निष्कर्ष छ । 

बैठकमा सिटौला र थापासंगै , रक्षा मन्त्री भीमसेन दास प्रधान, उमाकान्त चौधरी, धना खतिवडा, प्रदीप पौडेलसहितका नेता तथा कार्यकर्ता सहभागी रहेका थिए । 

नयाँ