arrow

सार्वजनिक जग्गामा व्यक्तिगत घर बनाउन महानगरका कर्मचारीले गरे नक्सा पास

अदालतले ठहरेको थियो सार्वजनिक

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ २९ सोमबार
birjung.png

वीरगन्ज। सार्वजनिक जग्गामा व्यक्तिलाई घर बनाउन वीरगन्ज महानगरपालिकाका कर्मचारीले नक्सापास गरेको खुलासा भएको छ । वीरगन्ज महानगरपालिकाको वडा नं. १६ नगवा बासिन्दाहरुले सोमबार महानगरपालिकाको कार्यालयमा पुगी सडकको जग्गामा घर बनाउन नक्सापास गर्ने कार्यको विरोध गरेपछि तथ्य प्रकाशमा आएको हो ।

नगवाको इनरबाइपास र बाइपास जोडने सडकको सार्वजनिक जग्गालाई अदालत समेतले जग्गालाई सार्वजनिक कायम गरेपनि स्थानिय शिवराउत अहिरलाई घर बनाउन नक्सापास भएको जानकारी स्थानियलाई भएपछि उनीहरु कसरी नक्सापास भएको बुझ्न महानगरपालिकाको  कार्यालयमा पुगेका थिए ।

स्थानीयले महानगरपालिकाका कार्यकारि अधिकृत गोपाल घिमिरेलाई भेटी सार्वजनिक जग्गाको नक्सापास वारे जिज्ञासा राख्दा उनले नक्सापासमा संलग्न रहेका सबै कर्मचारीलाई झिकाई सर्वसाधारणकै अगाडी प्रश्न गरेका थिए । उपस्थित कर्मचारीहरुले शिवराउत अहिरले झुक्याएर नक्सापास गराएको बताएका थिए ।

कार्यकारी अधिकृतकै अगाडी नक्सा फाँटका प्रमुख उमाकान्त झा र योजना शाखाका प्रमुख राजेश चौरसियाले नगरपालिकाका अमिन नरबहादुर बुढाथोकीको गल्तीका कारण अहिरले झुक्याएर नक्सापास गराउन सफल भएको बताए । योजना र नक्सा फाँटका प्रमुखले दिएको जानकारीलाई लिखित रुपमा  माग गर्दै कार्यकारी अधिकृतले पास भएको नक्सालाई बदर गर्न प्रकृया अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिदै प्रकृयालाई सहज बनाउन स्थानियलाई जग्गाको व्यहोरा र अदालतको आदेश वारे जानकारी खुलाई निवेदन दिन आग्रह गरेका छन् ।

कार्यालय पुगेका सर्वसाधारलाई सम्बोधन गदै कार्यकारी अधिकृत घिमिरेले नक्सापास घटनामा सम्लग्न रहेका कर्मचारी माथि छानविन गरी कार्यवाही अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

महानगरपालिकाको योजना शाखा र नक्सा फाँटका कर्मचारीहरुले रकमकै भरमा २०७३ साल पुस १२ गते पर्सा जिल्ला अदालतले सार्वजनिक कायम गरेको जग्गामा घर बनाउनका लागि व्यक्तिको नाममा नक्सापास गरेको स्थानियले बताएका छन् ।

पर्सा जिल्ला अदालतका  तत्कालिन न्यायधिश रामकृष्ण श्रेष्ठको एकल इजलासले किता  नम्बर १८४२ को जग्गा २०४८ सालदेखि नै सार्वजनिक भोगचलन भएको भन्दै सार्वजनिक कायम गरेको र यसवारे महानगरपालिकाको योजना शाखा र नक्सा फाँटका सबै कर्मचारीलाई जानकारी भएपनि पैसाको चलखेलमा अदालतको आदेश समेतलाई लत्याउदै कर्मचारीले सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने षडयन्त्र गरेको नगवाबासिको भनाइ रहेका छ।

योजना शाखाका प्रमुख राजेश चौरसिया, नक्सा फाँटका प्रमुख उमाकान्त झा, नक्साफाँटका कर्मचारी रमेशहरी शर्मा र अमिन नरबहादुर बुढाथोकीले सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दिन खोजेको र यसमा वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया समतेको मिलेमतो रहेको सर्वसाधारणले आरोप लगाएका छन् ।

नक्सापासका लागि वडा अध्यक्ष चौरसिया समेतले सिफारिस गरेको बताउदै स्थानियले दर्जनौपटक सोही जग्गाकालागि पंचायतिमा बसेका चौरसियालाई जग्गा सार्वजनिक भएको जानकारी हुँदा  हुँदै कसरी सिफारिसमा हस्ताक्षर गरे, भनी  नगवावासिले प्रतिप्रश्न गरेका छन् ।

सो विषय वडा अध्यक्ष चौरसियाले आफुलाई जानकारी नै नदिइ झुक्याएर नक्सापासको फारममा सिफारिस गराएको प्रतिक्रिया दिएका छन् ।

शिवराउत अहिरको नाममा रहेको किता नं. १८४२ संगैको सार्वजनिक सकडको जग्गामा एडिवि परियोजनाको नाला निर्माण हुँदा अहिरले अदालतमा जग्गामाथि दावि गर्दै मुद्दा दिएका थिए । अहिरको मुद्दामाथि सुनुवाई गर्दै अदालतले जग्गा सार्वजनिक भएको आदेश दिएको थियो ।

सार्वजनिक जग्गामा अहिरले गर्दै आएको निर्माण कार्यलाई रोक्न महानगरपालिकाले वडा प्रहरी कार्यालय विर्ता, जिल्ला प्रहरी कार्यालय पर्सालाई सोमबार नै पत्राचार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ