arrow

भिमसेनदासले भने, 'सांसद हुँदा कहिल्यै उपचार खर्च नलिएको यो पटक वाध्य भए '

नेपाल तथा भारतमा उपचार नहुने भएपछि चिकित्सककै सल्लाहमा जापान

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
bhimsen-das-pradhan1.jpg

काठमाडौं। सरकारले रक्षा मन्त्री भीमसेनदास प्रधानको उपचारमा लाग्ने खर्च सिधै राजदुतावास मार्फत अस्पतालमा नै जाने गरी पठाउने जनाएको छ। 

गत शुक्रबारको मन्त्रीपरिषद् बैठकले मन्त्री प्रधानको मुटुको उपचारमा लाग्ने खर्च सिधै राजदुतावास मार्फत अस्पतालमा नै जाने गरि पठाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको हो। 

मुटुको समस्याबाट पिडित रहेका प्रधान स्वास्थ्य उपचारका लागि डाक्टरको सल्लाह अनुसार जापान जाने तयारीमा छन्। जापानको सोनान तामाकुरा जनरल अस्पतालमा आफ्नो उपचार हुने प्रधानले जानकारी दिए। 

के हो मन्त्री भीमसेनदासको स्वास्थ्य समस्या ? 
सात बर्ष अघी सन २०११ नोभेम्बरमा राति अचानक हृदयघात भइ अचेत अवस्थामा नर्भिक अस्पतालमा भर्ना भएका उनलाई त्यस बखत अचेत भएको दुई दिन पछि डाक्टरहरुले होसमा ल्याएका थिए । त्यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका प्रधानलाई डाक्टरहरुले ‘पशुपतिनाथले जोगाएको’ भने।

मुटुको एन्जिओ प्लाष्टी गरी मुटुको देब्रे भागमा तीन वटा स्टेण्ड राखेर उनलाई होसमा ल्याइएको थियो। त्यसपछि नर्भिककै डाक्टरहरुको सल्लाहमा बाँकी उपचारका लागि उनी भारतको मेदान्त, स्कर्ट र गंगाराम अस्पताल हुँदै बैंककको भेज जेथानी अस्पतालसम्म पुगेका थिए। त्यस बखत नर्भिक अस्पतालमा तीन वटा स्टेण्ड राख्दा १३ लाख खर्च भएको प्रधान अहिले पनि सम्झन्छ्न्। 

अचेत अवस्थामा अस्पताल पुर्या‍इएका प्रधानलाई त्यस बखत तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले अस्पतालमा पुगी उपचारमा लाग्ने सबै खर्च सरकारले नै बेहोर्ने बताएका थिए तर प्रधानले सरकारको सहयोग लिन मानेनन र सांसदको हैसियतमा रहेका उनले आफ्नै खर्चमा नै उपचार गराए।

उपचारका क्रममा भारत पुग्दा मुटुको अधिकांश भाग नै ब्लक भइसकेको भन्दै सोको उपचार जापानमा मात्र सम्भव हुने र त्यसका लागि जापान जान डाक्टरहरुले सुझाए। तर उनले त्यसयता पनि नेपालकै गंगालाल अस्पतालमा उपचार गराउँदै आएका थिए।

गत प्रतिनिधि सभा निर्वाचनका क्रममा एक्कासी छाती दुख्ने समस्या देखिए पछि मन्त्री प्रधान नियमित चेकजाच गराउदै आएका डा अरुण मास्केकोमा पुगे। मास्केको सुझाव अनुसार नै हाल उनी जापान जाने तयारीमा छन्। उनको मुटुसँग जोडिएको रक्तनलीमध्ये दुईवटा पुरै टालिएको छ, एउटाले मात्र सामान्य काम गरेको छ। मास्केले नै मन्त्री प्रधानको उपचारका लागि जापानका बिज्ञ डाक्टरको समय लिइसकेका छन्।

किन भयो निर्णय ?
मन्त्री प्रधानको मुटुमा स्टेण्ड राखेको लामो समय बितिसक्दा समेत बेलाबखत समस्या देखिंदै आएको छ। मन्त्री प्रधान भन्छन, ‘मेरो मुटुमा चाइनिज स्टेण्ड राखेको रहेछ, यसको आयु कति हो भन्ने डाक्टरहरुलाई नै थाहा छैन, अहिले स्वास्थ्यमा समस्या बढ्न थाले पछि डा मास्केले सल्लाहमा जापान जाने तयारीमा छु,’ उनले भने।

प्रधान थप्छन, ‘तत्काल उपचारमा ध्यान दिनु भएन भने जे पनि हुन सक्छ भनेर डाक्टरको सल्लाह प्रधानमन्त्रीलाई सुनाएपछि मन्त्रीको हैसियतमा रहेको तपाइको खर्च सरकारले बेहोर्छ भनेर प्रधानमन्त्रीज्यूले भनेपछि निर्णय भएको हो।’ 

तर जापानको अस्पतालले भने उनको उपचारका लागि नेपाली ३७ लाख लाग्ने जनाएको छ । जापानको सोनान तामाकुरा जनरल अस्पतालबाट आफ्नो उपचारमा लाग्ने खर्च विवरण इमेल मार्फत आएको उनले जानकारी दिए । 

उपचार हुनै सक्दैन नेपालमा ? 
मन्त्री प्रधानको नियमित स्वास्थ्य जाँच गर्दै आएका डा मास्के भन्छन,'प्रधानको मुटुमा ब्लक भएको भाग नेपालमा खोल्न सम्भव छैन।' प्रधानको चेकजाँचका क्रममा मेदान्तले लेखेको पत्र अनुसार पनि उनको मुटुको दाहिने र देब्रे आर्टरीहरु ब्लक भएको र सो खोल्ने प्रविधि भारतमा समेत नरहेकोले जापानका लागि सिफारिस गरिएको हो। अति नै जटिल मानिने मुटुको ब्लकेज भाग खोल्न सहज सम्भव समेत हुँदैन। उनको मुटुसँग जोडिएको रक्तनलीमध्ये दुईवटा पुरै टालिएको छ। 

लाग्ने खर्च बेहोर्ने भन्ने निर्णय होः प्रधान
मन्त्री प्रधानले उपचारमा लाग्ने रकम सरकारले दिने भन्ने निर्णय गरेको तर ५० लाख चाहियो भनेर नमागेको बताए । यति नै रकम दिनुस भनेर मैले मागेको होइन, सरकारले लाग्ने खर्च बेहोर्ने भन्ने निर्णय भएको हो,’ प्रधानले भने,‘त्यो पनि मैले आफै लाने होइन, क्याबिनेटले निर्णय पनि यसैगरी गरेको छ,  उपचार खर्च राजदुतावास मार्फत जाने हो।’

सांसद हुँदा कहिल्यै उपचार खर्च लिइन 
मन्त्री प्रधानले आफु सांसद हुँदा देखि नै सरकारी सुविधा मार्फत पाउने उपचार खर्च कहिल्यै नलिएको बताउँछन । ‘मैले मासिक १५ हजारको औषधि खाने गरेको छु, आजसम्म सरकारको तर्फबाट पाउने सुविधाको रकम समेत कहिल्यै लिएको छैन, रेकर्ड हेर्दा थाहा हुन्छ,’ उनले भने।   

उनले थपे, ‘धेरै पैसा लाग्दैन भन्ने ठानेको थिएँ, कहिल्यै लिन पनि चाहिन, आज स्वास्थ्यमा गम्भिर समस्या आउने र जे पनि हुन सक्छ भन्ने डाक्टरको चेतावनी पछि प्रधानमन्त्रीको पनि सहजिकरणले सरकारबाट निर्णय भयो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ