काठमाडौंबाट भक्तपुर पुगेपछि यसरी मालामाल भईन सरस्वती (कुराकानी)

भनिन्– राजनीति सामान्य रुपमा चल्दै होला

प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार , १४,६६१ पटक हेरिएको

लालबन्दी सर्लाहीकी सरस्वती कार्कीको भक्तपुर खरीपाटी आएपछि परीपाटी नै बदलिएको छ। उनी अहिले नमुना पशु–पंक्षिपालक । प्रेरणाको स्रोत । उमेरले पनि सानै । तर, जिम्मेवारी धेरै । विवाह पनि गरेकी छैनन् । उनै सरस्वती कार्कीसँग यमुना भण्डारीले गरेको कुराकानी ।

० पहिले घर ?
–सर्लाही लालबन्दी ।

० अहिले ?
–भक्तपुरको खरीपाटी ।

० कुखुरा पाल्न थालेको कति भो ?
–त्यही चार–पाँच वर्ष भो ।

० अनि गाई पनि पाल्नु भो हैन ?
–अँ हो । पहिले धेरै थियो । अहिले दुईटा मात्रै छ । अहिले कुखुरामा बढी ध्यान दिइरहेको छु ।

० कसरी पुग्नु भो भक्तपुर ? बसाई कहाँबाट सुरु भो ?
–पहिले काठमाडौँ बसे । पढे । पछि भक्तपुर आएर पढ्दै पस्मिनाको काम गरे । अरुलाई पनि काम दिँए । अनि अरुले गरेको देखेर कुखुरा पालनतिर लागे । यसरी नै भक्तपुरको बसाई सुरु भो ।

० परिवारमा कति जना हो ?
–६ जना । आमा, बुबा, ३ भाई र म ।

० विहे गर्नु भो ?
– नाइँ । छैन ।

० किन, समय भएन र ?
– व्यवसायमै व्यस्त हुन्छु । उमेर पनि पुगेको छैन (हाँसो) ।

० कति पढ्नु भएको छ ?
–ब्याचलर ।

० परिवारका अरु सदस्यले के गर्नु हुन्छ ?
–बुबा पहिले आर्मी हुनुहुन्थ्यो । आमाले मलाई सघाउनु हुन्छ । भाइहरु पढ्छन्  ।

० आँट कहाँबाट आयो ?
–परिवारको पूरा सहयोग छ । मैले १०० वटा कुखुराबाट सुरु गरे । अहिले आठ हजार छन् ।

० महिनामा कति कमाई हुन्छ ?
–हजार कुखुरालाई राम्ररी हेरचार गर्ने हो भने । एक देखि डेढ लाख हुन्छ ।

० कति समयसम्म पाल्नु पर्छ ?
–सिजन अनुसार चल्ला हाल्छौँ । ४५ दिनमा तयार हुन्छ । ५० दिनमा बेचिसक्छौँ ।

० के खुवाउनु हुन्छ ?
–कम्पनीले नै दाना र चल्ला दिन्छ । पैसा भने अगाडि नै बुझाउनु पर्छ ।

० दिक्क लागेको कुनै क्षण छ ?
– छैन । म आफुले गरेको काममा पूर्णरुपमा सन्तुष्ट छुँ । कमाई पनि राम्रै छ । गरेको मेहनत अनुसार मलाई सुख नै छ ।

० कुनै समय घाटा लाग्यो ?
–पहिले पहिले सुरुमा थियो । बीचमा ठिकै भयो । अहिले त राम्रै छ ।

० यो व्यवसायबाट खास देखिने उपलब्धी के भो, भन्न मिल्छ ?
–आफु पढे । भाइलाई पढाइयो । पाँच आना जग्गा किनियो । घर बनाईयो । गरगहना पनि जोडियो ।

० कुखुरा बेच्च कहाँ–कहाँ जानुपर्छ ?
–किन्ने मान्छे फर्ममै आउँछन्  । अनि हामीपनि जान्छौँ । जहाँबाट माग आयो त्यतै लैजान्छौँ ।

० खर्च कति हुन्छ ?
–चल्ला कति राखेको छ, त्यही अनुसार खर्च हुन्छ ।

० कति समय खट्नु हुन्छ ?
–समय समयमा खटिरहनु पर्छ । चल्ला सानो हुँदा खोरमै बस्नु पर्छ । एकमाथि अर्को खप्टिएपछि च्यापिएर मर्ने डर हुन्छ । त्यसैले बेला बेलामा चलाउनु पर्छ ।

० सीप कहाँबाट जान्नु भो ?
–यो कृषि विशेषज्ञसँग तालिम नै लिनु पर्छ । गर्न सबैले सक्छन् । तर, खटन पटन जान्नु पर्छ । सधैँ एक नासले काम गर्नु पर्छ । सबै जानेर बुझेर मात्रै गर्नु पर्छ ।

० अनि देशमा के भइरहेको छ, चासो राख्नु हुन्छ ?
–कहिले काँही अनलाइन समाचार हेर्छु । टेलिभिजन हेर्छु ।

० राजनीतिबारे जानकारी राख्नु हुन्न ?
–त्यस्तो खासै थाहा छैन । सामान्य रुपला चल्दै होला जस्तो लाग्छ ।

नयाँ