arrow

ओली–प्रचण्डका कुरा लुकाइँदै, बाहिर आएका कुरा कति पक्का ?

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
oli-prachanda1.jpg

काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता अन्तिम विन्दुमा पुगेको बताइएको छ । यद्यपि, पछिल्ला प्रगतिहरु पक्का पक्कीका रुपमा बाहिर आएका छैनन् ।

मंगलबार साँझ एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एक्ला एक्लै कुराकानी भएको छ । यद्यपि, बैठक गोप्य राखियो । बैठक ललितपुर मानभवनमा रहेकाे एक निर्माण व्यवसायीकाे घरमा भएकाे बताइएकाे छ । मंगलबार बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक वुधबारलाई सारिएको छ ।

सोमबार भएको एक्ला एक्लै भेटबारेको केही कुरा चुहियो । महाधिवेशन नभएसम्म दुबै नेताले पार्टीको सामूहिक नेतृत्व गर्ने सहमति भएको भनियो । एकीकरणपछि दुबै सह–अध्यक्षको भूमिकामा रहने सहमति भएको समेत भनिएको छ ।

तर, मंगलबार कार्यकर्तालाई नयाँ सन्देश दिने भनिएकामा त्यसो भएन । बैठकबारे दुई अध्यक्षकै सहयोगिलाई थाहा भएन । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षको एक्ला एक्लै वार्ता भयो, मात्रै भने । उनले भने, ‘बैठकमा के कुरा भयो भन्ने कुरा थाहा भएन ।’ तर, उनले पार्टी एकता संयोजन समितिको बैटक भने वुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बताए ।  

चुनाव लगत्तै पार्टी एकता गर्ने उदघोष गरेका  एमाले र माओवादी केन्द्रले चुनाव सकिएको झन्डै तीन महिनापछि पार्टी एकता गर्ने सहमति गरेको हल्लासम्म आएको छ । पक्का पक्कीको खबर अझै आएको छैन ।

अब त्यो खबर सुन्न वुधबार बोलाइएको पार्टी एकता संयोजन समितिको बैठकको निर्णयसम्म पर्खिनुपर्ने एमालेका एक नेताले बताए ।

पार्टी एकताको कुरा मिलेको छ, उनले भने, ‘पार्टीको नामाकरणबारे पनि कुरा भइसकेको छ । छलफल अन्तिम विन्दुमा छ । सम्भवतः नयाँ सन्देश सुन्ने घडि आइसकेको छ ।’

प्रतिनिधिसभा चुनावमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनको प्रदेश र राष्ट्रियसभामा समेत बहुमत छ । बहुमत प्राप्त दलको नेता भए पनि यी दुई पार्टीबीच एकता भईनसकेकोले ठूलो दलको नेता प्रधानमन्त्री हुने प्रावधान छ । त्यसै अनुसार पहिलो प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली हुने सहमति दुई दलका नेताले गरेका छन् । तर, अहिले एकता नभएकाले गठबन्धनको नभई ओली बहुमत प्राप्त दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने देखिएको छ ।

केपी ओली प्रधानमन्त्री हुँदा एकीकृत पार्टीको नेतृत्व प्रचण्डले गर्ने । साढे २ वर्ष सरकारको नेतृत्व ओलीले गरेपछि प्रधानमन्त्री अर्को साढे २ वर्षका लागि प्रचण्ड हुने र एकीकृत पार्टीको नेतृत्व केपी ओलीले गर्ने वा दुवै जना सह–अध्यक्ष हुने, यी सहमतिका आधार हुन् ।

सहमतिकै आधारहरु खोज्दा, –एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने । अन्य पदीय भागबण्डामा एमाले ७० र माओवादीले ३० प्रतिशत पाउने । स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुन अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने, यो पनि दुई शीर्ष नेताबीच कुरा भएको भनिएको छ ।

यस्तै, सैद्धान्तिक आधार खोज्दा,,–जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले नै टुंगो लगाउने अन्य विषयलाई महाधिवेशनबाट टुंगाउने कुरा छ ।  त्यति मात्र नभई, पार्टी एकीकरणलाई भव्य बनाउने, एकीकरण कार्यक्रममा एमाले र माओवादीका ५ लाख कार्यकर्ता उतार्नेसम्मका कुरा भएका बताइन्छ ।

तर, माओवादी केन्द्रका एक नेताले दुई नेताबीच एक्ला एक्लै भेटमा भएको भनिएका कुरा कति पक्का हुन् भन्ने विश्वसनीय आधार नदेखिएको बताए । उनले भने, कुरा लुकाइँदै छ । ओलोपालो प्रधानमन्त्री हुने कुरा पनि गर्ने, उनले भनेका छन्, ‘अनि अहिले वाम गठबन्धनको हैसियतमा प्रधानन्त्री नहुने ? बहुमत प्राप्त दलको हैसियतमा प्रधानमन्त्री हुन खोज्ने ?’ कुरा अझै प्रस्ट भएको छैन–उनले भनेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ