arrow

विराटनगर भन्सारको २५ करोड अपचलन गरेर कहाँ गए यि बोहोरा दाजुभाई?

सरकारी रकम बैङकका कर्मचारीले मिटर व्याजमा लाउने गरेको खुलासा

logo
आर्थिक व्यूरो,
प्रकाशित २०७४ फागुन २ बुधबार
lalit-suresh.jpg

मोरङ। नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको रानी भन्सार कार्यालय विराटनगरले सरकारी कोषमा दाखिला गर्ने गरि उठाएको करिव २५ करोड रुपैयाँ राजस्व दुई भन्सार एजेण्टले बैङकका कर्मचारीको मिलेमतोमा अपचलन गरि फरार भएका छन्। 

रानी भन्सार कार्यालय विराटनगरले राजस्वमा दाखिला गर्न पठाएको रकम भन्सार एजेन्ट संघका उपाध्यक्ष शुरेस वोहोरा र उनको दाई ललित बोहोराले भन्सार कार्यालय परिसरमा रहेको वाणिज्य वैंङक ड्राइपोर्ट शाखाका कर्मचारीको मिलेमतोमा अपचलन गरेका हुन्। अपचलन गर्ने बोहोरा दाजुभाइ अहिले भन्सार तथा बैङकको सम्पर्कमा नरहि फरार रहेका छन्। 

रानी भन्सारबाट हुने सबै कारोवारको भन्सार महशुल राष्ट्रिय बाणिज्य बैङकको त्यहि शाखामा बुझाइन्छ। भन्सारबाट हुने प्रत्येक कारोवारको नगद वा गुड फर पेमेन्ट गरि राजस्व बुझाउने चलन छ। 

तर बोहोरा दाजुभाइले वाणिज्य वैङकका कर्मचारीसँगको मिलेमतोमा राजस्वमा दाखिला गर्नुपर्ने रकम नगद वा गुड फर पेमेन्टमा नबुझाई एकाउण्ट पेयी चेकमा बुझाउने गरेका थिए। वाणिज्य वैङकको कर्मचारीको मिलेमतोमा एकाउण्ट पेयीमा बुझाएका भन्सार महसुल एकपछि अर्को गर्दै वाउन्स हुन थालेपछि सरकारी रकममा संगठित रुपमा लुट भएको खुलासा भएको हो। 

रानी भन्सारमा एककान दुईकान मैदान भएको यो बिषयलाई भित्रभित्रै मिलाउने चलखेल पनि भएको छ। भन्सारले एजेन्ट बोहोरा दाजुभाइको कारोवार रोक्का समेत गरेको थियो। तर भन्सार एजेण्ट संघको अध्यक्षका नाममा चलखेल गर्दै आएका विरेन्द्र परासरको आग्रहमा केहि दिन काम गर्न पाएका उनीहरुको अहिले भने कारोवारहरु रोक्का भएको छ। 

बोहोरा दाजुभाई अहिले मोवाइल बन्द गरेर सम्पर्क विहिन भएका छन्। करिव २० देखि २५ करोड रुपैया सरकारी रकम अपचलन गरेका उनीहरु अहिले भन्सार बैङक र एजेण्ट संघ कसैको पनि सम्पर्कमा छैनन्। 

बोहोरा दाजुभाइले वाणिज्य बैङकका कर्मचारीहरुसँग मिलेर सरकारी रकम दुरुपयोग गर्ने धन्दा चलाएको घटनाक्रमले देखाएको छ। उनीहरुले बैङकमा दाखिल हुने पैसा समयमा नबुझाएर कर्मचारीसँग मिलेर त्यसलाई मिटर व्याजमा लगाउनेदेखि जग्गा तथा शेयरमा समेत लगानी गर्ने गरेको भेटिएको छ। पछिल्ला दिनमा जग्गा र शेयर कारोवारमा मन्दी बएपछि उनीहरुको धन्दामा असर गरेको बुझाइ यतिखेर भन्सारका सबैमा छ। धन्दामा परेको असरका कारण उनीहरु फरार भएको अनुमान अब सबैले गरेका छन्। 

दुई एजेण्टले बैङक कर्मचारीसँग मिलेर करोडौं रकम दुरुपयोग गरेको कुरा गाइगुई शुरु भएदेखिनै वाणिज्य बैङकका कर्मचारीले बैङकको पैसा मिटर व्याजमा लगाउने गरेको पनि तथ्य सार्वजनिक भएको छ। भन्सारमा एजेण्टहरुलाई एक दिन १० लाख चलाउन दिए वापत कर्मचारीले दिनको ३ हजार लिने गरेको समेत भेटिएपछि कसरी सरकारी रकम मिलेमतोमा दुरुपयोग हुने रहेछ भन्ने पनि प्रष्ट भएको छ। 

रानी भन्सार विराटनगरका प्रमुख मिमांशु अधिकारी भने यो प्रकरणमा खुल्न चाहेनन्। उनले हाम्राकुराले गरेको पटक पटक सम्पर्क प्रयास पछि आफूहरुलाई सरकारी रकममा अनियमितता गरेको बारेमा बैङकले कुनै जानकारी नदिएको बताए। भन्सारको नजरमा दुई नीजि हैसियतका संस्थाहरुले गरेको कारोवारमा भन्सार संलग्न नहुने उनले प्रस्ट्याए। भन्सारले राजस्व दाखिला भएको हेर्ने हो कुन मोडालिटीमा दाखिला गर्ने भन्ने चाहि बैङक र एजेन्टको कुरा हो उनले बताए। कुनै एजेण्ट काम गर्न नआएको अवस्थामा उसको तर्फबाट कारोवार नहुने समेत बताए।

बैङकका रानी ड्राइपोर्ट शाखाका प्रमुख विष्णु निरौला सम्पर्कमा आउन चाहेनन। घोटाला प्रकरणमा कार्यालय प्रमुखको नाताले उनको भुमिकालाई पनि शंकास्पद रुपले हेरिएको छ। 

वाणिज्य बैङक केन्द्रीय कार्यालयका डिजीएम तथा प्रवक्ता शुसिल श्रेष्ठले आफूलाई रानी भन्सार प्रकरणबारे केहि पनि जानकारी नभएको बताए। घरायसी काममा व्यस्त भएर त्यता ध्यान दिन नपाएको प्रवक्ता श्रेष्ठको भनाइ थियो।  उनले अर्का सूचना अधिकारी उद्धव खनाललाई बुझ्न भन्दै बैङकको नउठ्ने नम्वर दिएर तर्के। 

सरकारी रकम अपचलन गरि सम्पर्क विहिन भएपछि बोहोरा दाजुभाइलाई खोज्न प्रहरीका सम्वन्धित निकायहरु लागेको स्रोतले बताएको छ। बोहोरा दाजुभाई सम्पर्कविहिन हुँदा उनीहरु क्लियरिङ एजेण्ट बनेर ल्याइएका विभिन्न कम्पनीहरुका सामान रानी भन्सारमा अड्किएका छन्। 

यसैबीच बुधवार प्रहरीले राष्ट्रिय वाणिज्य बैङक रानी भन्सार विराटनगर ड्राइपोर्ट शाखाका कर्मचारी चोलेन्द्र बिष्टलाई नियन्त्रणमा लिएको छ। बैङकको नगद कारोवारमा उनको भुमिकालाई लिएर प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ